बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु कारागारमा तीन पूर्वमन्त्री

५ जनासँगै बस्छन् आलम
बुधबार, ०४ मङ्सिर २०७६, १२ : ०३
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । विभिन्न आरोपमा मुछिएका तीन जना पूर्वमन्त्रीले एकै कारागारमा बन्दी जीवन बिताइरहेका छन् । ललितपुरको नख्खु कारागारमा मोहम्मद आफतव आलम, सञ्जय साह ‘टक्ला’ र नवीन विश्वकर्माले बन्दी जीवन बिताइरहेका छन् ।

आलमलाई बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत रौतहटले कात्तिक २९ मा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको कारण देखाउँदै उनलाई नख्खु कारागार पठाइएको हो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर नख्खु कारागारमा ल्याइएको जेलर सुरेन्द्र पौडेलले बताए ।

नख्खु कारागारको सीआरसी ब्लकमा राखिएका आलमले सामान्य कैदीबन्दी सरह जेलजीवन बिताइरहेको जेलर पौडेलले बताए ।

जेलर पौडेलले एक पटक भेटे आलमलाई

आलमलाई काठमाडौँ ल्याइएको पहिलो दिन नै आफूले भेटेको जेलर पौडेलले बताए । आलमले यसअघि तीन पटक कारागारमा बसेर रिहा भइसकेको आफूसँगको भेटको क्रममा बताएको पौडेलले जानकारी दिए ।

आलमको भनाइ उद्धृत गर्दै जेलर पौडेलेले भने, ‘कारागार के हो, मलाई राम्रोसँग थाहा छ । तपाईंको नियन्त्रणमा छु । मलाई केही कुराको पनि डर छैन ।’

काठमाडौँ ल्याइएको दिनदेखि आलमले आफन्तसँग पनि भेटघाट गरेका छन् । जेलर पौडेलेका अनुसार कारागार ल्याइएको पहिलो दिन उनलाई भेट्न ५० जनाभन्दा बढी मानिस आएका थिए । पौडेलले भने, ‘अहिले छिटफुट मात्र आउने गरेका छन् ।’

मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

५ जनासँगै बस्छन् आलम

मधुमेहका रोगी आलमसँगै ५ जना अन्य कैदीबन्दी बस्ने गरेको कारागार स्रोतले जनाएको छ ।

आलमलाई सीआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा लागूऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ ।

नख्खु कारागार स्रोतका अनुसार लागूऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवासँगै आलम बस्दै आएका छन् ।

२०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई रौतहट प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।

आलमसँगै अन्य दुई मन्त्री पनि नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् । पूर्वमन्त्री सञ्जय साह टकला र पूर्वराज्यमन्त्री नवीन विश्वकर्मा । साह र विश्वकर्मालाई डीआरसी ब्लकमा राखिएको छ ।

सञ्जय साह ‘टक्ला’

जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डमा पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले २०७५ चैत १४ गते जन्मकैदको फैसला सुनायो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा संलग्न ७ जनालाई जन्मकैदको फैसला सुनाएका हुन् । जन्मकैद सजाय पाउनेहरूमा पूर्व मन्त्री साह ‘टक्ला’,  अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा छन् ।

मिथिला राज्यको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो ।

जसमा रङ्गकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित ५ जनाको ज्यान गएको थियो । यस्तै ३२ जना घाइते भएका थिए ।

पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए । बम काण्डपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो । 

नवीन विश्वकर्मा

विश्वकर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज हुन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त विस्फोटमा एकजनाको ज्यान गएको थियो ।

प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । जिल्ला अदालत ललितपुरले असोज १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।

अदालतको आदेशसँगै विश्वकर्मालाई नख्खु कारागार पठाइएको थियो ।

२६३ जना कैदीबन्दी मानसिक रोगी

कारागारमा जेलर पाण्डेका अनुसार नख्खु कारागारमा २६३ जना कैदीबन्दी मानसिक रोगी छन् । उनीहरूको कारागारभित्रै डाक्टर बोलाएर उपचार गरिँदै आएको जेलर पौडेलले बताए ।

कारागारभित्र मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल बन्दै गरेको समेत पौडेलले बताए । उनले भने, ‘एक महिनाभित्र सेवा दिन सुरु गर्छौं । देशैभरीका मानसिक कैदीबन्दी बिरामीको यहीँ उपचार हुनेछ ।’

नख्खु कारागारमा युनुस अन्सारी पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप