शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री हटाउने हल्लाले मन्त्रालय ‘सुनसान’ !

सोमबार, ०२ मङ्सिर २०७६, १६ : २३
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ । मन्त्री फेरिने हल्लाले सिंहदरबारभित्रका मन्त्रालयहरु सुनसान भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिनमै मन्त्री हेरफेर गर्ने तयारी थालेपछि मन्त्रालयहरुमा चहलपहल कम भएको हो । 

खासगरी ‘डेन्जर जोन’ मा मन्त्रीहरुको मन्त्रालय सबभन्दा बढी सुनसान देखिएका छन् । चक्रपाणि खनाल ‘बलदेव’ मन्त्री रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, मातृका यादव मन्त्री रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, रघुवीर महासेठ मन्त्री रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लालबाबु पण्डित मन्त्री रहेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, थममाया थापा मन्त्री रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र रामबहादुर थापा बादल मन्त्री रहेका गृहमन्त्रालय सबभन्दा बढी सुनसान देखिएका हुन् ।

रातोपाटी प्रतिनिधि सोमबार साढे १ बजे ती मन्त्रालयमा पुग्दा विगतमा जति चहल पहल हुने गर्थ्यो, त्यो देखिँदैनथ्यो । मन्त्री हटाउने हल्लाले को मन्त्री हट्ने को नहट्ने भन्ने अन्योल रहेका कारण मन्त्रीहरु काम गर्नुभन्दा आ–आफ्नो बचाउको दौडधूपमा रहेका छन् । अधिकांश मन्त्रालयमा मन्त्री नै थिएनन् । मन्त्री भएका मन्त्रालयमा पनि सुनसान थिए । 

अरु दिन मन्त्रीका सचिवालय भरिभराउ हुन्थ्यो तर सोमबार सचिवालयका कर्मचारीबाहेक खासै व्यक्तिहरुको चहलपहल देखिएन ।  रघुवीर महासेठ मन्त्रालयमा भएपनि त्यहाँ कुनै चहल पहल थिएन । बरु एकै भवनको माथिल्लो तलाको बिना मगर मन्त्री रहेको खानेपानी मन्त्रालयमा चहलपहल थियो । रातोपाटी प्रतिनिधि त्यहाँ पुग्दा मन्त्री महासेठ भित्र थिए भने बाहिर तीनजना सुरक्षाकर्मी र सचिवालयका दुईजना कर्मचारी मात्र थिए ।

मन्त्रीलाई भेट्न खोज्दा मन्त्रीज्यू भित्र व्यस्त हुनुहुन्छ भन्दै ती कर्मचारीले जवाफ दिएका थिए । मन्त्रालय किन सुनासान भन्ने जिज्ञासामा ती कर्मचारीले भने, ‘मन्त्री हटाउने हल्लाले होला ।’ 

यता मन्त्री खनाल मन्त्रालय नै आएका थिएनन् । उनको सचिवालय सुनसान थियो । आफ्नै कार्यकक्षमा भेटिएका मन्त्री खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले मन्त्री हटाउने हल्लाले मन्त्रालयको काम प्रभावित भएको स्वीकारे । 

सञ्चारमाध्यममा नामै किटान गरेर मन्त्रीहरुको नाम आउन थालेपछि काम गर्न जाँगर नचलेको उनले सुनाए । मन्त्रीज्यू किन आउनु भएन भन्ने जिज्ञासा राख्दा उनले भने, ‘किन आउनु भएन मैले सोधेको छैन तर त्यही हल्लाका कारणले गर्दा सायद नआउनु भएको होला ।’ 

उद्योग मन्त्रालय पनि सुनासान थियो । मन्त्री यादव मन्त्रालयमा थिएन् भने सचिवालय पनि सुनसान नै थियो । सचिवालयमा तीनचारजना कर्मचारी गफिएर बसेका थिए । 

प्रायः भिडभाड रहने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पनि सुनसान थियो । समायोजनको विषयलाई लिएर सबभन्दा बढी भिडभाड हुने मन्त्रालयमा पनि आज खासै चहल नदेखिएको हो । मन्त्री पण्डित आफ्नो कार्यकक्षमा थिए तर चहल पहल भने थिएन । मन्त्रीको नीजि सचिवालयमा काम गर्ने तीनचारजना कर्मचारीहरु थिए । 

मन्त्री यादवका स्वकीय सचिव देवशरण यादवले मन्त्री हेरफेर गर्ने हल्लाले मन्त्रालयको काम प्रभावित भएको बताए । ‘मिडियाबाट मन्त्री हटाउने हल्ला भएको छ तर आधिकारिक कुरा कहिँबाट आएको छैन, त्यसले गर्दा मन्त्रीहरु अन्योलन हुनुहुन्छ’ उनले भने । 

त्यस्तै महिला बालबालिका, गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि सुनसान देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप