बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अख्तियारमा उजुरीको चाङ, चार महिनामा ७ हजार उजुरी

सोमबार, ०२ मङ्सिर २०७६, १३ : १२
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार तथा अनियमितताका उजुरीको चाङ बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात चार महिनामा आयोगमा करिब ७ हजार उजुरी दर्ता भएको छ । 
आयोगका विभिन्न कार्यालयमध्ये केही कार्यालयको तथ्यांक अद्यावधिक गर्ने कार्य भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले रातोपाटीलाई बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा आयोगले कुल १३८ मुद्दा दायर गरेको छ । विभिन्न समयमा दायर भएका उजुरीउपर छानविन गरी आयोगले पछिल्लो चार महिनामा १३८ मुद्दा दायर गरेको उनले बताए ।

लिखित, इमेल, फेसबुक, फ्याक्स, पत्रपत्रिका, चिठ्ठी, एसएमएस, टेलिफोन, भाइबर लगायतका माध्यमबाट उजुरी दर्ता हुने प्रावधान रहेको आयोगले जनाएको छ ।

आयोगमा सबैभन्दा बढी लिखित उजुरी परेको छ । आयोगका विभिन्न कार्यालयबाट आएका उजुरी सम्बन्धी तथ्यांक मिलान गर्न बाँकी रहे पनि आयोगमा हालसम्म मिलान भइसकेको तथ्यांकका आधारमा साउनमा ४४६, भदौमा ४१२, असोजमा २७३ र कात्तिकमा २९० लिखित उजुरी दायर भएको आयोगको भनाइ छ ।

आयोगका अनुसार सबैभन्दा बढी उजुरी आयोगको प्रधान कार्यालय नक्सालमा दर्ता भएको छ । प्रधान कार्यालयमा दर्ता भएका उजुरीमध्ये साउनमा एक हजार एक सय एक, भदौमा ९ सय ७०, असोजमा ६२८, कात्तिकमा ५६८ दर्ता भएका हुन् ।

प्रधान कार्यालयपछि आयोगको इटहरीस्थित कार्यालयमा बढी उजुरी परेको छ । इटहरी कार्यालयमा साउनमा ६४, भदौमा एक सय पाँच, असोजमा ६२ र कात्तिकमा ६५ उजुरी दायर भएको छ ।

त्यस्तै आयोगको हेटौंडा कार्यालयमा साउनमा ३३, भदौमा २० र कात्तिकमा ७७ उजुरी दायर भएको छ । पोखरा कार्यालयमा असोजमा १८ र कात्तिकमा ३९ उजुरी दायर भएको छ । हेटौंडा कार्यालयमा गत असोजमा र पोखरा कार्यालयमा गत साउन र भदौमा उजुरी दर्ता भएको छैन ।

आयोगले विगत चार महिनामा ७० वटा स्टिङ्ग अप्रेसन गरेको छ । स्टिङ्ग अप्रेसनका क्रममा ११८ जना रंगेहात पक्राउ परेको आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप