शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानातिना मतभेदले कोही टाढिनु हुँदैन : मोदी

सोमबार, ०२ मङ्सिर २०७६, १३ : ०६
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तारुढ गठबन्धनलाई ‘ठूलो परिवार’को संज्ञा दिँदै सातातिना मतभेदले कोही टाढिन नहुने बताएका छन् ।

 महाराष्ट्रमा भारतीय जनता पार्टी र शिव सेनाबीच सहकार्य टुटेलगत्तै मोदीले आइतबार बसेको गठबन्धन बैठकलाई सम्बोधन यस्तो टिप्पणी गरेका हुन् । 

भारतमा संसदको शीतकालीन सत्र सुरु हुनुअघि आइतबार सत्तारुढ गठबन्धन ‘नेसनल डेमोक्रेटिक अलाइन्स’ (एनडिए)को बैठक बसेको हो । बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहका अतिरिक्त अन्य वरिष्ठ मन्त्री र नेता सहभागी थिए ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘एनडिएका सहयोगीहरुको विचारधारा अलग–अलग हुन सक्छ, तर हामी एउटा ठूलो परिवारजस्तै हौं, सानातिना मतभेदले टाढिनु हुँदैन ।’

लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले सानातिना मतभेद हटाउनका लागि एनडिएमा एउटा व्यवस्था निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले बैठकमा शिवसेनाको अनुपस्थिति महसुस भएको बताए । ‘शिवसेना एनडिएको पुरानो सहयोगीमध्ये एक थियो,’ उनले भने, ‘पहिला तेलगुदेसम पार्टी, त्यसपछि राष्ट्रिय लोक समता पार्टीले एनडिए छोडेका थिए, यो चिन्ताको विषय हो ।’

एनडिएका सहयोगीबीच राम्रो समन्वय भएको भए त्यो अवस्थालाई टार्न सकिन्थ्यो भन्ने उनको विश्वास थियो । आगामी सत्रमा सहयोगीहरु मिलेर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले यस्ता बैठक आयोजना भइरहनुपर्ने खाँचो औंल्याए । यसका लागि एनडिएको संयोजन समिति गठन गर्नुपर्ने उनको भनाइ थियो ।

मोदीले बैठक सफल भएको प्रतिक्रिया दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बैठक राम्रो भयो, हाम्रो गठबन्धनले १३० करोड भारतीयको आशालाई प्रतिनिधित्व गर्दछ । हामी किसान, युवा, नारी शक्ति र गरिबको जीन्दगीमा परिवर्तन ल्याउन कुनै कसर बाँकी राख्ने छैनौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप