बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागलुङका बागी उम्मेदवार भन्छन्, ‘ढुङ्गा र माटो त पग्लिन्छ, मेरो मन किन नपग्लने ?

सोमबार, ०२ मङ्सिर २०७६, ०९ : ४७
सोमबार, ०२ मङ्सिर २०७६

पोखरा । पार्टीले ग्राउन्ड लेभलका नेताहरुको आवाज नसुनेको भन्दै नेकपा निकट शेरमान घर्तीमगरले मंसिर १४ मा हुने बागलुङ–२ ‘ख’ को उपनिर्वाचनमा बागी उम्मेदवारी दर्ता गराए । घर्तीको बागी उम्मेदवारीले बागलुङ तरङ्गित बन्यो ।

कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने र चुनाव जितेरै छाड्ने दाबी गर्दै आएका घर्तीले नाटकीयरुपमा उम्मेदवारी फिर्ता लिने अन्तिम दिन गत कात्तिक २४ गते एकाएक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी नरहेको र नेकपा र राजमोको तालमेलबाट उठाइएका साझा उम्मेदवार खिमविक्रम शाहीलाई चुनावमा सघाउने घोषणा गरे ।

उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन बागी उम्मेदवार घर्तीलाई हेलिकप्टर चार्टर गरेर निर्वाचन कार्यालय पुर्‍याइएको थियो । तर, उम्मेदवारी फिर्ता लिन तोकिएको निर्धारित समयभन्दा २० मिनेट ढिला गरि पुगेका घर्तीले आफ्नो उम्मेदवारी फिर्ता लिन त पाएनन् । यद्यपि, आफूले बागी उम्मेदवारी दर्ता गराउनुको कारण र नेकपा र राजमोका साझा उम्मेदवार खिमविक्रमलाई भोट दिन अपिल गर्दै प्रेस विज्ञप्ति निकाले ।

अहिले घर्ती शाहीसँगै भोट माग्दै घरदैलो कार्यक्रममा सरिक भएका छन् । राजमो बागलुङका अध्यक्ष अमर थापाका अनुसार बागी उम्मेदवार घर्ती खिमविक्रम शाहीसँगै चुनावी घरदैलोमा सक्रिय छन् । शाहीको लागि भोट माग्दै हिँडेका छन् ।

‘प्राविधिक कारणले गर्दा उम्मेदवारको लिस्टमा उहाँको नाम पनि आएको छ,’ उनले भने, ‘तर, शेरमानजी हाम्रो उम्मेदवारसँगै हातेमालो गरेर भोट माग्दै हिँडिरहनुभएको छ । मेरो चुनाव चिह्न पनि गिलास नै हो, हामी एकै हौँ भनेर भोट मागिरहनु भएको छ ।’

यता, बागी उम्मेदवार घर्ती भने राजमोमा सहकर्मी बनेर काम गरेका शाहीसँग आफ्नो माग पनि मिलेको कारण चुनावमा सघाउँन राजी भएको तर्क राख्छन् । ‘हाम्रो माग पनि एउटै थियो,’ उनले भने, ‘पार्टीले हाम्रो माग पनि सम्बोधन गर्‍यो । त्यसैले मेरो उम्मेदवारी झिकेर उहाँलाई सघाउँन राजी भएँ ।’

‘उम्मेदवारी फिर्ता लिन दबाब आयो कि ?,’ भन्ने प्रश्नमा उनले भने, ‘होइन, त्यस्तो दबाब केही पनि आएन । हाम्रो माग पनि मिल्यो र पार्टीले पनि त्यसलाई सम्बोधन गर्‍यो,’ उनले भने ।

उम्मेदवारी दर्ता गराउनु अघि शाही पनि चुनावमा उठ्नेबारे आफूलाई जानकारी नभएको उनले बताए । अघिल्लो चुनावमा पार्टीले गरेको सहमति अनुसार नै आफू अघि बढ्ने उनको भनाइ छ । ‘अघिल्लो चुनावमा पार्टीले जुन किसिमको सहमति गरेको थियो,’ उनले भने, ‘त्यही अनुसार हामी चल्नुपर्छ । किनभने यस किसिमको दुःखको घडी जसलाई पनि पर्न सक्छ ।’ नेपाली राजनीतिक इतिहासमा एउटा पार्टीको कोही नेताको मृत्यु हुँदा त्यसको बदलामा उसकै पार्टीलाई नै नेतृत्व दिँदै आएको उनले स्मरण गरे ।

‘ढुङ्गा र माटो त पग्लिएर जान्छ । मेरो मन किन नपग्लियोस् । त्यसैले छाडे,’ उनले भने ।

उनले भने, ‘यो भेगको एजेण्डा लिएर म जानुपर्छ भनेर जनताले उम्मेदवारी दर्ता गर भने गरे । एजेण्डा मिलिसकेपछि तपाईंले उम्मेदवारी झिक्नुस् भने झिकेँ ।’

जसले चुनाव जिते पनि जनता नै हार्ने देखिएपछि आफूले उम्मेदवारी फिर्ता लिन खोजेको उनले सुनाए । जनताले भनेर नै उम्मेदवारी मनोनयन दर्ता गराएको र जनताले भनेर नै उम्मेदवारी झिकेकोको उनले प्रष्ट्याए ।

बागी उम्मेदवार घर्तीको चुनाव चिह्नको दुरुपयोग गरेको अभियोगमा नेकपा बागलुङले गएको शुक्रबार दुई कार्यकर्तालाइ पार्टीबाट निस्कासित गरेको थियो । निलम्बित दुई मध्ये एक जना बागी उम्मेदवार घर्तीका उम्मेदवारी मनोनयन दर्ता गर्दा प्रस्तावक बसेका थिए ।

यस विषयमा रातोपाटीले प्रश्न राख्दा उनले भने, ‘उहाँहरुलाई मैले पैसा दिएर प्रस्तावक बस्न लगेको पनि होइन । बच्चा किन रुन्छ ? भोक लागेर । माग राख्नु प¥यो नि, माग पनि नराख्ने रोएको रोएकै मात्र ग¥यो भने बच्चाले के पाउँछ ? झापड । हो त्यस्तै भएको हो उहाँहरुलाई पनि ।’

०७४ को तत्कालीन माओवादी, एमाले र राजमोबीच बनेको गठबन्धनलाई यो चुनावमा पनि नेकापा, राजमोले निरन्तरता दिएका छन् ।

ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ४२ मतदानस्थल छन् । उक्त क्षेत्रमा ३८ हजार ७ सय १ मतदाता र मतदान केन्द्र रहेका छन् ।

राजमोका तत्कालीन उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएर काँग्रेसका जीत शेरचनलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा काँग्रेसको मत संख्या ८ हजार ६ सय २४ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप