बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देशैभरका कफी कृषक गुल्मीमा , मन्त्री ज्ञवालीद्वारा स्वागत

आइतबार, ०१ मङ्सिर २०७६, २१ : ०४
आइतबार, ०१ मङ्सिर २०७६

बुटवल । कफी खेतीको जननी जिल्ला गुल्मीमा  देशैभरका कफी कृषकहरुको  जमघट भएको छ । आइतवार देशैभरबाट भेला भएका कफी कृषकहरुले  भव्य रुपमा  गुल्मीको सदरमुकाम तम्घासमा १५ औं   राष्ट्रिय कफी  दिवस मनाएका  छन् ।

दिवसको उद्घाटन गर्दै  गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले देशैभरका कफी कृषकहरुलाई स्वागत गर्दै  कफीको  जननी जिल्ला गुल्मीमा  राष्ट्रिय कफी दिवस आयोजना गर्ने कृषि मन्त्रालयलाई धन्यवाद दिएका थिए । 

मन्त्री ज्ञवालीले अब हरेक कृषकले घरमा कफी खेती गर्नु आग्रह गर्दै सरकारले कफी सहित आधुनिक र ब्यवसायीक कृषिमा सक्दो सहयोग गर्ने बताएका थिए । 

आजभन्दा झण्डै ८० बर्ष अघि गुल्मीको आँपचौरबाट कफी खेतीको  सुरुवात भएको  स्मण गर्दै मन्त्री ज्ञवालीले उति बेला कफीको बजार नहुँदा आँपचौरका कृषकहरुले  फाँडेर खेर फाल्नु परेको थियो , अहिले  अन्तराष्ट्रिय बजारमा पुराउन नसकिने अवस्था रहेको बताए ।

नेपाल भ्रमणमा आएकाबेला चीनका  राष्ट्रपतिले गुल्मीको मन पराएको स्मरण गर्दै मन्त्री ज्ञवालीले चिनियाँ बजारमा नेपालको कफी पुराउन सकिने भएकोले ब्यापक रुपमा कफी खेतीको विकासमा कृषक र सरकार लाग्नु पर्नेमा जोड दिए । 

 कार्यक्रमकी विशेष अतिथी कृषि राज्यमन्त्री  रामकुमारी चौधरीले  दिवस मनाउनका लागि आफू पहिलो पटक गुल्मी आउने अवसर मिलेको बताइन्  । सिन्धुपाल्चोकका कफी विकास सहकारी संस्थाकी अध्यक्ष मञ्जु थापाले पनि आफू पहिलो पटक गुल्मी आएको बताइन् । 

राष्ट्रिय कफी दिवसले आन्तरिक पर्यटकको विकास समेत गरेको छ । विभिन्न जिल्लाबाट गुल्मी आएका कफी  तया चिया खेती कृषकहरुले गुल्मीका प्रशिद्ध धार्मिक क्षेत्र रिडी र रेसुको पनि दर्शन गरेका छन ।

आँपचौर कफी विकास केन्द्रका प्रमुख तथा कफी सुपरजोन कार्यक्रमका  प्रमुख बद्रिप्रसाद पौडेललेका अनुसार आँपचौरका साधु सन्त हिरा गिरिले विक्रम सम्वत १९९५ सालमा  वर्माबाट कफीको वेर्ना ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । २०३२ सालदेखि अरुले पनि कफी खेतीको गर्न सुरु गरेका थिए ।

 २०४२ सालमा तत्कालीन राजा विरेन्द्र आँपचौरको कफी खेतीको अवलोकन गर्न आएपछि   सरकारीतौरबाट कफी विकास केन्द्रको समेत  स्थापना भएको थियो । 

दोश्रो पटक पनि आँपचौर आएका राजा विरेन्द्रले ठुलै सिचाई योजना  पारिदिए पछि  कृषकहरुले  कफी फाँड्दै धान खेती  गर्न थालेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

‘उद्गम थलो  आँपचौर मै कफीका बोट देख्न मुस्कीले भई सकेको थियो,’  उनले भने, ‘यसर्थ मुसिकोट नगरपालिकाले नयाँ शिराबाट आँपचौरको कफी खेतीको विकास सुरु गरेको छ । कफी खेतीमा कृषकहरुलाई प्रोत्साहित गर्नका लागि तीन वर्षे प्याकेज कार्यक्रम सुरु गरिएको छ । पहिलो वर्ष ५ हजार दोश्रो वर्ष गोड मेल गरेपछि ३ हजार र तेश्रो वर्ष पनि गोड मेल गरेपछि  २ हजार सहित १० हजार अनुदान दिने गरेका र्छौं ।’

त्यस अवधीमा एक हजार कफीका विरुवा लगाउने  कृषकले एक लाख अनुदान पाउने छन् । यस्तो कार्यक्रम  मुसिकोट नगरपालिकाले अगाडि सारेपछि हालसम्म ५० हजार कफीको विरुवा रोपिएको र यो क्रम बढाउँदै लगिने मेयर सापकोटाले बताए । 

कफी सुपरजोन गुल्मीका प्रमुख बद्रिप्रसाद पौड्लका अनुसार  प्रति हेक्टर २ सय १२  किलो कफी उत्पादन हुने गरेको छ । गत वर्ष ४.१ प्रतिशत क्षेत्रफलमा कफी उत्पादन भएको थियो । जसबाट ३.३ प्रतिशत कफी उत्पादन भएको थियो । गुल्मीको कुल जनसंख्याको ३.४ प्रतिशत कृषकहरुले  कफी खेती गर्ने गरेका छन् । 

राष्टिय चिया तथा कफी विकास वोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनाल लगायतको टोलीले शनिवार जिल्लामा कफी विकासका सम्वन्धमा अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप