उपनिर्वाचनले तात्दैछ पिपरा गाउँपालिका
–संजीतकुमार मण्डल
जलेश्वर– महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी निधन भएका कारण त्यहाँ चुनाव हुन लागेको हो । अध्यक्ष पदमा ११ दलका सहित २० जनाले उम्मेदवारी दिएपछि अहिले सो गापामा चुनावी सरगर्मी बढेको छ ।
पिपरा गापाको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिष्पर्धामा होमिएका उम्मेदवारहरुमध्ये कसै कसैमा आफ्नै साख जोगाउने चिन्ता छ भने कसैकसैमा अन्ततः चमत्कार भएर विजेता बन्ने बन्छु भन्ने विश्वास देखिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित पूर्व अध्यक्ष चौधरीकी विधवा पत्नी रविता कुमारीलाई राजपा नेपालले फेरि त्यहाँ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका साथै अध्यक्ष मण्डलका सबै सदस्यका साझा उम्मेदवार रविता आफूले पतिको अधुरा सपना पूरा गर्ने उद्देश्य बोकेर चुनावमा होमिएको बताउँछिन् ।
दुई वर्षको सानो अवधिमा आफ्ना पतिले पिपराका जनताका लागि विकासका धेरै काम गर्नुभएको र अझै बढी काम गर्न चाहेर गर्न नपाएको बताउने उनले पतिका अधुरा योजनाहरु पूरा गर्ने वाचा गरिन् ।
अघिल्लो चुनावमा प्रतिद्वन्द्वीका रुपमा रहेका तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरीले पनि पुनः उम्मेदवारी दिएका छन् ।
अहिले एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टी एकीकृत भइसकेकाले दुबैको आफू साझा उम्मेदवार रहेको दावा गर्ने उनी आफ्नो जीत सुनिश्चित ठान्छन् । उनी जनताको चाहना बमोजिम पिपरा गाउँपालिकालाई समृद्ध बनाउने दृढता व्यक्त गर्छन् ।
चुनावी प्रतिष्पर्धामा मधेश र मधेशका लागि केवल समाजवादी पार्टी नै अब्बल रहेको दावीका साथ पिपरा गाउँपालिकाको उप निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारी दिएका समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले पनि यसपालिको चुनाव आफूले जित्ने दावी गरेका छन् ।
मधेश र मधेशीको हक, अधिकार स्थापित गर्ने र गाउँपालिकाको र्चौतर्फी विकास गर्ने क्षमता समाजवादी पार्टीसँग मात्र रहेको उनले दाबी गरे । यहाँ नेपाली काँग्रेसबाट विजय यादवले उम्मेदवारी परेको छ । उनले आफूलाई पिपराका जनताले जिताउने दाबी गरेका छन् ।
यसपालि जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने वचनवद्धता उनले प्रकट गरिरहेका छन् । पहिलो पटक निर्वाचनमा होमिने मौका प्राप्त गरेको डा सिके राउतको पार्टीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट पिपरा गाउँपालिकाको अध्यक्ष पदमा अञ्जनी देवी मण्डलको उम्मेदवारी परेको छ ।
देशमा विद्यमान राजनीतिक दलहरुको जस्तो आफ्नो पार्टीको कुनै स्वार्थ नरहेको र केवल इमान्दारीका साथ जनताको सेवा गर्ने पवित्र उद्देश्य मात्र बोकेकाले पिपरा गाउँपालिकामा यसपालि नयाँ चमत्कार हुने उनी ठान्छिन् ।
यहाँ ११ जना पार्टीका र नौ जना स्वतन्त्र उम्मेदवार २० जना चुनावी मैदानमा छन् । सबैले आफू नै जित्ने दावी गरिरहे पनि नतीजा थाहा पाउन मङ्सिर १४ गते उप निर्वाचन कुर्नुपर्नेछ । पिपरा गाउँपालिकामा सातवटा वडा रहेका छन् भने यहाँ १८ हजार ५८८ मतदाता छन् । पिपरा गाउँपालिकाको उपनिर्वाचनमा १५ वटा मतदान स्थल र २४ वटा मतदान केन्द्र रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह