बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको भारतलाई चेतावनी : छिमेकीले आफ्नो सेना फिर्ता लैजाओस्, एक इन्च भूमि मिच्न दिँदैनौ‌ं

आइतबार, ०१ मङ्सिर २०७६, १५ : ३०
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडाैँमा सम्बोधन गर्दै उनले सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाए । 

अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सीमा मिचिएको कुरालाई अहिले नै हो भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको बताए । उनले वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको पनि स्पष्ट पारे । 

 उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरे । ‘यो नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ’ प्रधानमन्त्री ओलीको भनाई छ । 

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीले दोहोर्याए । उनले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने भन्दै कतिपयले नक्सा सच्याउने कुरा उठाएपनि भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको बताए । सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने पनि बताए ।  ‘सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ’ प्रधानमन्त्रीको भनाइ थियो । 

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले  चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे । पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए । 

‘दुनियाँमा एउटा आइडोलोजिक क्लास छ । आईडोलोजिक पूर्वाग्रह छ  । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ ।  एउटा विरोध आईडोलोजिक । कम्युनिष्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ । जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । वैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाईन । मैले केही पाएको छैन । मैले भने जस्तो पाइनँ । मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ । यो दुईवटै विरोध उचित छैन,’ प्रधानमन्त्रीको सुझाव छ ।

उनले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपूर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि  वैचारिक र व्यवहारिक संघर्ष कायम रहेको पनि बताए । सिद्धान्तको जग नै नाफा कमाइमा रहेको पूँजीवाद अशक्त अवस्थामा रहेको र वास्तविक सिद्धान्तमा अडिन नसकेको प्रधानमन्त्रीको टिप्पणी छ । 

उनले भने, ‘पूँजीवाद अहिले लौरो टेकेर लड्खडाएको स्थितिमा छ यद्यपी फाईफुईँ धेरै छ । हिजोको ओरिजनल पूँजीवादको अवस्थामा रहन सकेको छैन । अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, लक्ष्यहरु सापटी लिएर, त्यहाँबाट तानेर पूँजीवादले आफ्नौ मौलिक प्रवृत्तिलाई छोडेर समाजवादका कुराहरुलाई अंगालेको छ । फेरि पनि पूँजीवाद क्राइसिसमा छ ।’

केही कमिकमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उनले सिर्जनात्मक सोचका साथ काम गर्न निर्देशन दिए । 

काम नगरिकनै पैसा कमाउने संस्कारको विकास हुदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले त्यस किसिमको प्रवृत्तिबाट जोखिन पनि युवाहरुलाई सचेत गराए । 

‘आजको सिर्जनात्मक सोच र सकारात्मक सोच र श्रृजनात्मक काम गर्नु पर्दछ । कामलाई माया र सम्मान गर्ने संस्कृति बढाउनुपरेको छ । हाम्रोमा के चलन चल्न खोजेको छ भने, चल्न खोजेको छ भने  कतिपयभित्र अलिकति घुसेको पनि छ । सहज आम्दानीको प्रवृत्ति । मेहनतको आम्दानी होइन सहज आम्दानी । लगानी र प्रतिफल होइन । विना लगानीको विना प्रतिफलको आम्दानी । सहज आम्दानी । यस्ता कुराहरुबाट हामी जोगिनु पर्छ’ प्रधानमन्त्रीको भनाइ छ । केही वर्षअघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दे उहाँले वर्तमान अवस्थमा भने मुलुकमा पुर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताए । 

उनले भने, ‘राष्ट्रियताको पक्षमा उभिदिने सरकार भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो । राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने यस्तो सरकार भईदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो, आकांक्षा थियो । आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ । दलहरुले, पार्टीहरुले, व्यक्तिहरुले, संस्थाहरुले, संगठित हुन पाए विचार अभिव्यक्त गर्न पाए कस्तो हुन्थ्यो भन्ने समय पनि थियो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप