बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध जन्मस्थलमा ‘लुम्बिनी न्युज फेस्टिबल २०७६’ सुरु

आइतबार, ०१ मङ्सिर २०७६, १४ : १९
आइतबार, ०१ मङ्सिर २०७६

बुटवल– बुद्ध जन्मस्थली लुम्बिनीमा पहिलो पटक लुम्बिनी न्युज फेस्टिबल २०७६ शुरू भएको छ । फेस्टिबलमा सहभागी हुन देशैभरबाट मूलधारका सम्पादक तथा प्रदेश ५ का १२ वटै जिल्लाबाट पत्रकारहरू हिजो नै आइपुगेका छन् । फेस्टिबलको पूर्व सन्ध्यामा सम्पादक तथा उद्योगी व्यवसायी अन्तरक्रियामा समेत गरिएको छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सञ्चारमाध्यमहरुले सधैं उद्योगी व्यवसायीलाई दोषी बनाएर समाचार बनाउने गरेको गुनासो गरे । सञ्चाकर्मीबाट स्वतन्त्र समाचार आउन नसकेको समेत बताएका थिए । प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले सञ्चारमाध्यमले तटस्थ भएर समाचार लेखिदिनुपर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउने गरेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकारहरुले सेवा गर्न थालेपछि समस्या देखिएको बताए । अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विभाजित पत्रकारले सहि सूचना दिन नसक्ने बताए । लुबिनी प्रेस क्लबको आयोजनामा ३ दिनसम्म चल्ने फेस्टिबलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, शिव गाउँले, बिष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली, सुवास ढकाल, शुभशँकर कँडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुति रहने छ ।

सो कार्यक्रममा रुपन्देहीका ८० जना, नवलपरासीका ३०, कपिलवस्तुबाट २० जना, पाल्पाबाट १५ जना, चितवनबाट १२ जना तथा पाँचथर, बाँके बर्दीया, जुम्ला, जनकपुर लगायतबा जिल्लाहरुबाट समेत प्रतिनिधित्व रहेको कार्यक्रम संयोजक बडुवालले बताए । फेस्टिवलमा विभिन्न ८ शीर्षकमा प्यानल डिस्कसन हुनेछ ।

सम्मेलनले देशको राजधानी काठमाडौंबाट प्रकाशित प्रसारित मिडिया र मोफसलका मिडियाबीच हुने भेदभाव र खाडललाई पुर्नका लागि कोशे ढुङ्गा सावित हुन सक्ने विश्वास लिइएको छ । फेस्टिवलको अपरान्ह ३ बजे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले बिहान लुम्बिनीसँग  आसपासका क्षेत्रहरु नवलपरासीको रामग्राम, कपिलवस्तुको तिरौलाकोट लगायत स्थनमा साईट भिजिट गराईने कार्यक्रम पनि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप