शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक बस्दै : होला जिम्मेवारी हस्तान्तरण ?

आइतबार, ०१ मङ्सिर २०७६, ११ : ५०
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ– पटक पटक स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ ।

अपरान्ह ४ बजेपछि बस्ने बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक हेमोडायलसिस गरेर फर्केपछि बस्न लागेको बैठकका एजेण्डाबारे सचिवालय सदस्यहरु भने अझै अनविज्ञ छन् ।

सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले एजेण्डा थाहा भैनसकेको बताए । ‘बैठक बस्ने जानकारी आयो तर एजेण्डाबारे जानकारी छैन,’ खनालले रातोपाटीसँग भने ।

शनिबार तेस्रो पटक डायलासिस गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली आराम गरिरहेका छन् । यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेकपाको उच्च नेताहरुसँग पार्टी र सरकारको जिम्मेवारी हेरफेर गर्ने विषयमा छलफल गरेपनि ठोस निर्णय हुन सकेको थिएन ।

पुनः मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका ओली कम्तीमा तीनदेखि पाँच महिना आराममा बस्नुपर्ने भएकाले त्यसअघि पार्टी तथा सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने सोचमा छन् । त्यसका लागि नेताहरुसँग प्रारम्भिक छलफल गरेपनि सचिवालय बैठकमार्फत सहमति गराएर मात्रै सार्वजनिक गर्ने ओलीको तयारी छ ।

ओलीले पार्टी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ ।

यसअघि गत भदौ ५ मा ओली सिङ्गापुर जानुअघि बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।

त्यस्तै स्थायी समिति बैठक बस्न नसक्दा उपाध्यक्षमा प्रस्तावित बामदेव गौतमको पद पनि अनुमोदन भएको छैन । आफ्नो सचिवालयका सदस्यहरु हेरफेर गरेको प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर रहेका मन्त्रिपरिषदका केही सदस्य पनि हेरफेर गर्ने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप