केन्द्रीय संस्करण

‘रुपचन्द्रका टिप्पणी र आजका हाम्रा राजनेताहरु !’

person explore access_timeकात्तिक ३०, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

१) जनविरोधी शासक प्रशासकहरुलाई जनताले सरकारको यथातथ्य ‘थाहा’ पाएको मन पर्दैन । यसैले त्यस्ता शासक प्रशासकहरु विभिन्न उपायबाट ‘थाहा’माथि प्रतिबन्ध लागाइबस्छन् । यो यथार्थ बुझेका रुपचन्द्र बिष्टले राजतन्त्रात्मक पञ्चायतकालमा पनि ‘थाहा आन्दोलन’ चलाउनुभएको थियो ।

०४२साल साउनतिरको कुरा हो । म साथी केशवजीसँग रुपचन्द्रको कालीमाटीस्थित निवासमा पुगेको थिएँ । साँझको समय थियो । रुपचन्द्र कोठामा बसेर एउटा किताब पढ्दै हुनुहुन्थ्यो । इसारा पाएर हामी बस्यौँ । त्यसै बेला राष्ट्रियस्तरका एक पञ्च नेता नमस्कार भन्दै कोठामा पसे । हाम्रो लहरमा बसे ।

रुपचन्द्र पढ्न छोडेर उभिनुभयो र हामीतिर हेरेर सोध्नुभयो, ‘तिमीहरु कालो चिया खान्छौ ?’ रुपचन्द्रका बालसखा, साथी केशवजीले हाँस्दै भन्नुभयो, ‘चिया नखाउँ । हामी तपाईसँग भेट्न र देशदुनियाँबारे थाहा पाउन पसेका ।’

पञ्च नेतातिर हेर्दै आफ्नो चलनचल्तीको हाँसोका साथ ठाडो भाषामा रुपचन्द्रले भन्नुभयो, ‘ए घोर्ले स्याल, तैंले आजसम्म देश दुनियाँको गोठ गोठमा पसेर कति कुखुरा मारेर खाइस् हिसाव राख्या छस् ? छैनस् भने एकपटक हिसाब गरेर हेर । अनि तैंले राति सुत्ने बेलामा दिनभरि आपूmले गरेका कुकृत्यहरु सम्झेर कहिल्यै पश्चताप पनि गरेको छस् ।  कुनै दिन बिहान उठेर आज त म देश दुनियाँको हितविरुद्ध कुनै काम गर्दिन भनेर ससङ्कल्प गरेको छस् ? गरेको छैनस् । हेर भतुवा, घुस कमिसन र भ्रष्टाचारको स्वाद मात्र तँलाई थाहा छ । पापकर्मका विरुद्ध पश्चत्ताप र असल कर्मका लागि सङ्कल्प गर्नुको स्वाद तँलाई थाहा छैन । थाहा पाउनु छ भने गरेर हेर !’

‘तैँले कहिल्यै आत्मबोधको ऐना त हेरेको छैनस् ।   बजारिया ऐनामा तैले आपूmलाई कस्तो देख्छस् । थाहा पाएको छैन । जनताका आँखाले त तँलाई घोर्ले स्याल देखेका छन् । तँ जस्ता स्याल बाँचेर सास फेर्दा वायुमण्डल प्रदूषित भएको छ । सोझासादा जनाताको प्राणवायु हरण भएको छ । तैँले त्यसको क्षतिपूर्ति कहिले कसरी तिर्छस् ? तिर्दैनस् । कहिल्यै तिर्दैनस् । तैँले नेपाली वायुमण्डल ओगटेर सास फेरिरहनुको कुनै औचित्य छैन । बुझिस् ?’

हामी रुपचन्द्रको साहस देखेर ट्वाल्ल प¥यौं । यति कठोर भनाइ पाउँदा पनि पञ्च नेता हाँसिरहे । केही बोलेनन् । त्यति बेला मुलुकमा बमकाण्डको हल्ला थियो । कति निर्दोष लेखक, सम्पादक, शिक्षक विद्यार्थीहरु पक्राउ परिरहेका थिए । बर्बर यातना पाइरहेका थिए । कति भूमिगत थिए । म पनि भूमिगत स्थितिमा थिएँ । त्यो काल विकराल पञ्चायत काल थियो ।

अहिले म त्यतिबेलाका पञ्चनेताप्रतिका रुपचन्द्रका टिप्पणी सम्झन्छु र अहिलेका ‘लोकतान्त्रिक’ नेताहरुको आचरण विचरणहरुमा घोत्लिन्छु । समयले त ठूलै फड्को मा¥यो र पनि राजनीतिक संस्कृतिले जन–अपेक्षित रुपमा सकारात्मक फड्को मारेको देख्न पाइएन । समयमा उभिएर ठाडो टिप्पणी गर्ने आदरणीय रुपचन्द्र बिष्ट अहिले  हाम्रोबीच हुनुहुन्न । वहाँको यो टिप्प्णी आजका हाम्रा राजनेताहरुको मनमथिङ्गलसम्म पुगोस् भन्ने तरङ्ग भने मनमा उठिरहन्छ ।   

२) भनिन्छ, नेता भएर देश र जनताको हितमा काम नगरी विदेशीको हितमा काम गर्ने, कर्मचारी भएर, मुलुकको गोप्यता, महत्वपूर्ण  निस्सा कागत प्रमाण जे पनि चोरेर विदेशीलाई बेच्ने द्रव्यपिचासहरु पहिले पनि थिए, अहिले पनि छन् । पहिले जनजागरण आंशिक थियो र अपराधीहरु छेलिएका थिए । अब जनता जागेका छन् ।

मुलुकको एक इन्च जमीन मिचिनु पनि सार्वभौमिकता मिचिनु हो । नेपालमा पूर्वदेखि पश्चिमसम्म यत्रतत्र सर्वत्र साँध मिचिएको छ । हजारौं हेक्टर नेपाली जमीनमा भारतले कब्जा जमाएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको एउटा सेरोफेरो नै अतिक्रमण गरेर भारतले सेना थुपारेको छ । नेपाली जमीनलाई निर्लज्जतासाथ आफ्नो नक्सामा राखेर प्रदर्शन गरेको छ । यो प्रभुत्वववाद, विस्तारवाद र मिचाहापनको पराकाष्टा हो भन्ने यथार्थ जगजाहेर भइरहेको छ । मेचीदेखि महामकालीसम्मका जनता जागेका छन् । जाग्दैछन् । जनताको ध्यान तितरवितर पार्न कतिपय बेइमान कर्मचारीहरु बहाना खोज्दैछन् भने कतिपय नेताहरु अतिक्रमणको विरोध गर्न नसकेर भक्भकाएका छन् । तर पनि अवस्था निराशाजनक भने छैन ।

हाम्रो पश्चिम नेपालको एउटा सेरोफेरो हड्पिने दुराशयको ताउरमाउर देखाएर छिमेकी मुलुक भारतले विशेष सम्बन्धको मोहजाल आफै च्यातिदिएको छ । नेपाली जनतालाई जगाइदिएको छ । जनता गगनभेदी आवाज बोकेर सडकमा निस्केका छन् । यसैले नेपालका विभिन्न दलका नेताहरु एकै ठाउँमा जुट्न र झिनै आवाजमा भए पनि ‘यो अतिक्रमण हो’ भन्न बाध्य भएका छन् । ‘यतिवेला चुकियो भने देशभक्त नेपाली जनताले एक÷एक नेतालाई घोक्रेठ्याक लाएर जनअदालतमा उभ्याउने छन् र दण्ड दिनेछन्’ भन्ने तत्वज्ञान नेताहरुले पाएका छन् । यो नेपाल र नेपालीका लागि खुसीको कुरा हो ।

जसरी बुढापाकाहरु भन्छन्, ‘खराब काम गर्न बानी लागेकालाई लाज घीन लाग्दैन ।’ हामी जनतालाई लाग्छ, आफैभित्र आमूल सुधारको चेतना पलाएर साबिती बयान तथा आत्मआलोचनासाथ जनताका अगाडि प्रस्तुत नहुँदासम्म आजका नेताहरुको भर विश्वास छैन । विगतका गल्तीहरु स्वीकारेर अब गल्ती नगर्ने प्रतिवद्धताका साथ जनसमक्ष प्रस्तुत हुने साहस कुन चाहिँ राजनेतामा होला ? जनता हेर्दैछन् । जनता समुद्र हो । मन्थनबाट अमृत निकाल्न सकिने आस्था विश्वास बोकेका बहादुर नेपाली जनता आवश्यकता परे यी सबै कसिङ्गरलाई बढारेर नयाँ र क्षमतावान नेताहरु उमार्न पनि सक्छन् । उमार्छन् ।

आफ्नो मुलुकको सीमारक्षाका लागि परिआउँदा सीमाक्षेत्रका बहादुर नेपाली जनता पारीका सशस्त्र जमातसँग एक्लै र निःशस्त्र पनि भिड्दै आएका छन्, भिडिरहेका छन् । आज त अझ मेचीदेखि महाकालीका उद्गमसम्मको माटो ब्यूँझेको छ । संसारभरिका नेपाली ब्यूँझिएका छन् । नेपाल र नेपालीका हितचिन्तकहरु समेत जुर्मुराएका छन् । समय लाग्ला । तर नेपालीहरु हरेस खाने मानसिकतामा छैनन् । आफ्नो गुमेको भूमि जसरी पनि फिर्ता लिन्छन् । नेपालीहरु आज अठोट बोकेर जागेका छन् ।

आजको यो यस्तो स्थितिमा मुलुकको सार्वभौमिकतामाथि थप अतिक्रमण हुँदा ‘यो अतिक्रमण हो,  अतिक्रमण रोक, अतिक्रमित भूमिबाट आफ्ना सेनामेना फिर्ता लैजाऊ’: भन्न जिब्रो चपाउने, लटरपटर रकमी कुरा गर्ने  र पन्छिन खोज्ने नेता कतै देखियो भने हामी जनतालाई अब हाँसो मात्र उठ्दैन । यिनीहरुको असीम लोभ लालसा र तुच्छ जीविताशामाथि टीठ पनि लाग्छ । हामी हरेक दलका आजका कथित नेताहरुसँग पुनः पुनः दोहा¥याएर भन्छौं जनताको सम्झनामा जिउनु छ भने देशको सार्वभौमिकताको पक्षमा दह्रोसँग खुटा टेक । जनता त आफै टेक्छन् ।

अतिक्रमणहरु

सर्पजस्तै नागबेली यात्रामा

पूर्वबाट पसिरहेछन्

दक्षिणबाट पसिरहेछन्

पश्चिमबाट पनि पसिरहेछन्

मूसाको बथान बनिआएको छ मेरो आँगन ।

भाग्दैछ लगातार

आँगन छोडेर आँगन भाग्दैछ ।

डिलका पर्खालहरु प्रवासी भइसके

गइसके नजरबाट टाढा–टाढा अन्यत्र

जात्रा छ जिन्दगी आफ्नो भागाभाग आफैले हेर्ने जात्रा

सर्पजात्रा अनि भित्रभित्रै मूसाजात्रा

आँगन कब्जा गर्दै अघि बढेका काला सर्पहरु

कहिले त बाढी जस्तो लाग्छ ।

कालापानीको बाढी

बाढी सर्पिल छ र सर्पमै परिणत भएको छ ।

पुच्छर कता छ थाहा छैन

टाउकाहरु मेरा आँगनभरि लप्लपाएका छन्

भाग्दैछ भयाक्रान्त मेरो आँगन

पुर्खाले लगाइदिएको पर्खाल छोडेर भाग्दैछ ।

पिँडी र मजेरी छोडेर भाग्दैछ

लाग्छ

अब मेरो आँगनले पनि सर्पले काँचुलीजस्तै

आवरण छोडिसकेको छ आफ्नो

जो भाग्छ त्यो नयाँ परिधानको कल्पना होइन

त्यो त हाम्रो आफ्नै जीवन हो

अस्मिता हो । त्यो स्ववयम् हामीहरु हौं ।

यथास्थितिमा म स्वयम् आपैmसँग प्रश्न गर्छु

स्वाभिमान–धुरीसँग प्रश्न गर्छु

अत्यन्तै कठिन घडीमा पनि स्वाभिमान छाड्न नमानेका हामीले

यसरी आँगन, पिँडी, मजेरी छोडेर भाग्न मिल्छ ?

भागिरहन मिल्छ ?

भन त सत्तासीन महोदय,

पुर्खादेखिको धरोहर आफ्नो मातृभूमि छिमेकीको अतिक्रमणमा हामी जनताको दिलदिमाग रन्थनिएको अवस्था छ आज ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...