केन्द्रीय संस्करण
मेरो जीवन

नवराज घोरासैनीको जीवन : गाडी चढ्नेको भन्दा मेरो इज्जत बढी छ

person explore access_timeकात्तिक ३०, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

‘घुम्तीनेर लेट भयो’, ‘गमलामा जाई’, ‘चाँगुनारायणथान’ जस्ता थुप्रै लोकगीत चर्चित गीतका गायक हुन्– नवराज घोरासैनी । उनलाई काँठे भाकाका लोक गायक समेत भनिने गरिन्छ । उनको ‘गमलामा जाई’, ‘बेँसी झर है’, ‘घर त छाउनीमा’, ‘मोबाइलमा फोन गर’ पनि बढी चर्चित गीत हुन् ।

लोकगीतमार्फत नेपाली श्रोता तथा दर्शकको मनमुटुमा बस्न सफल उनी झिल्के लोक गायकका रूपमा समेत चिनिने गर्छन् । विसं २०५२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन सुरु गरेका घोरासैनीले  अहिलेसम्म ५३५ वटा गीत गाइसकेका छन् । काँठे लोकगीत मात्र आफूले पूर्वेली र पश्चिमेली, फिल्म तथा लोकपप शैलीका गीत पनि गाएको घोरासैनी बताउँछन् । सिन्धुपाल्चोकमा जन्मिएका उनी गीतको शब्द तथा लय सङ्कलन पनि आफै गर्छन् । यिनै नेपाली लोक गीतका चर्चित गायक नवराज घोरासैनीसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

मेरो मनपर्ने खाना गुन्द्रुक र ढिँडो हो । साधारण नेपाली खाना दालभात तरकारी पनि मीठो लाग्छ । तरकारीमा सागसब्जी मनपर्छ । विदेशी खाना, विदेशी स्टाइलले बनाएका मासुका परिकार मन पर्दैन ।

कहिलेकाहीँ साथीभाइ, परिवारसँग रेस्टुरेन्टसमेत जाने गरेको छु । रेस्टुरेन्टका खानेकुरा खासै मन पर्दैन । त्यसैले थकाली रेस्टुरेन्टमा मात्र खाना खान्छु । मलाई पकाउन पनि रुचि छ । बच्चादेखि खाँदै आएको नेपाली खानाको परिकार सबै पकाउन सक्छु । मैले पकाएको सबैले मीठो मान्छन् ।

मेरो पोसाक

राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाकाको टोपी नै मेरो मनपर्ने पोसाक हो । सर्टपाइन्ट पनि ठीकै लाग्छ । पोसाकमा मनपर्ने रङ्ग हरियो । कार्यक्रम, विशेष अवसर, सभासमारोह लगायतमा जानुपर्दा म दौरा, सुरुवाल, कोट नै प्रयोग गर्छु । अन्य समय साधारण सर्टपाइन्टले चल्छ । पहिरन थोरै किन्ने मध्येमा म पनि एक हुँ । त्यसैले वार्षिक १५/२० हजारको पोसाक भए पुग्छ ।

मेरो फिट्नेस

पहिले फिट्नेस गर्थें । अहिले नियमित एक्सरसाइज गर्ने बानी छैन । कहिलेकाहीँ बिहान मर्निङवाक गर्दै पशुपतिसम्म पुग्छु ।

त्यो पनि साताको एक दुई पटक मात्र । मेरो फिट्नेस स्टेज कार्यक्रमले भएको छ । अर्काे कुरो खेतीको सिजनमा म गाउँ गएर कृषि गर्छु । यसले पनि मेरो फिट्नेसको काम गरिदिएको छ ।

मेरो अध्ययन

पहिले पहिले धेरै अध्ययन गर्थें । अहिले कम गर्छु । नियमित अध्ययन गर्ने भनेको पत्रपत्रिका र अनलाइन समाचार मात्र हो । अनलाइनमा समाचार पढ्छु । कहिलेकाहीँ सङ्गीत सम्बन्धी पुस्तक पढ्ने गरेको छु ।

अध्ययनका लागि मेरो यही समय भन्ने छैन । फुर्सद भयो भने जुनै समय पनि किताब समाउँछु । उपन्यास, साङ्गीतिक क्षेत्रको विषयमा लेखिएका किताब पढ्न मनपर्छ ।

मेरो फुर्सद

फुर्सद जीवनमा कहिल्यै हुँदैन । आफैले निकाल्ने हो । फुर्सद भयो भने गीत लेख्ने, घुम्ने, आफन्त भेट्ने, श्रीमतीलाई घरको काममा सघाउने गर्छु ।

मेरो घुमफिर

काम नै घुम्ने छ । भ्याउँदिनँ भन्दा पनि बोलाउँछन् । जानै पर्यो । कार्यक्रमको अलवा धार्मिक स्थल, शक्तिपीठ, हिमाली भेगका ठाउँ घुम्न मनपर्छ ।

देशमा अहिले ७७ जिल्ला छ । तीमध्ये ६० जिल्ला घुमेको छु । विदेशका भने धेरै देश टेक्न पाएको छैन । त्यस्तै ३, ४ देश पुगेँ ।

मेरो खेलकुद

गीतसङ्गीत पनि एक किसिमको खेल नै हो जस्तो लाग्छ । जहिले पनि स्पर्धा छ । खेलकुदको कुरा गर्ने हो भने सानोमा एकदमै रुचि थियो । स्कुल पढ्दा भलिबल, फुटबल खेल्थेँ । स्कुलमै साथीसाथी बीच प्रतिस्पर्धा पनि गरिन्थ्यो ।

अहिले फुटबल हेर्ने गरेको छु । नेपाली टोलीले भाग लिएको अन्तर्राष्ट्रिय फुटबल खेल कहिल्यै छुटाउँदिन । अरू खेल भने समय मिल्यो भने हेर्ने हो ।

मेरो मोबाइल

मसँग अहिले दुईवटा मोबाइल छ । एउटा एमवाई र अर्काे ड्राबिन ब्रान्डको । फोन गर्न, अनलाइन समाचार पढ्न, फेसबुक र युट्युब चलाउन मोबाइल प्रयोग हुन्छ । छिटो छिटो मोबाइल फेर्ने बानी छैन । हराएन र बिग्रिएन भने घटीमा पनि ३, ४ वर्ष एउटै मोबाइल चलाउँछु ।  

मेरो टीभी

टीभी धेरै हेर्छु । फुर्सद भए टीभी बिहान, बेलुका, दिउँसो जुनै समय पनि हेर्छु । टीभीमा बढी हेर्ने देशविदेशका समाचार, नेपाली कमेडी सिरियल हुन् । मेरो घरमा धेरै पुरानो केईसी ब्रान्डको १४ इन्चको टीभी छ ।

मेरो चलचित्र

पहिले पहिले धेरै चलचित्र हलमै पुगेर हेर्थें । अहिले हलमा गएर चलचित्र नहेरेको १० वर्ष भयो होला । पहिले हेरेका चलचित्र कुसुमे रुमाल, लाहुरे, तिलहरीलगायत धेरै थिए । कहिलेकाहीँ टीभीमा भने चलचित्र हेर्छु । तर पूरै हेर्ने समय मिल्दैन । मैले हलमै गएर हेरेको पछिल्लो फिल्म म राजा हिन्दुस्तानी हो । त्यसपछि हलमा चलचित्र हेरेको छैन । पहिलेका चलचित्र हिन्दी होस् वा नेपाली दुवै मनपर्छन् ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । ग्यास्टिक छ । कहिलेकाहीँ रुघाखोकी लाग्नु सामान्य हो । । हावापानी चेन्ज हुँदा रुघाखोकीले कहिले काही सताउँछ ।

मेरो मापसे

मापसे गर्छु । त्यो पनि सधैँ होइन । कहिलेकाहीँ दुई चार जना साथीभाइ जुट्दा । आफू एक्लै गएर सट्ट खाएर हिँड्ने बानी भने छैन । साथीभाइ भेटेर, दुःख, सुखको कुरा गर्दै खाने गरिन्छ । मलाई चिसोले सताउने भएकाले सधैँ रम नै खान्छु ।

घरमा सजाएर राखेको छैन । त्यो हाम्रो संस्कारले दिँदा पनि दिँदैन । अर्काे कुरो घरमा किताब, गीतसङ्गीत सजाएर राख्यो भने छोराछोरीदेखि घरका सबैले किताब पढ्ने, गीतसङ्गीत सुन्ने गर्छन् । रक्सी पनि त्यस्तै हो जस्तो लाग्छ । सजाएर राख्यो भने खाने कुरो रहेछ भनेर घरका सबैले खान्छन् ।

मेरो पेसा

गीतसङ्गीत मेरो पेसा नै हो । सुन्ने गाउने सबै गर्छु । १५, १६ वर्षको उमेर अर्थात् विसं २०५२ मा मैले रेडियो नेपालबाट भोकल टेस्ट पास गरेको थिएँ ।

त्योभन्दा अगाडि म गाउँघरमा हुने देउसी, भैलो, रत्यौली, जात्रा, मन्दिरका पूजा लगायतमा लोकगीत गाउँथे । स्वर परीक्षा पनि लोक गीतमै पास गरेको हो ।

०५२ देखि अहिलेसम्म लोकगायनको यात्रा जारी छ । लोकगीत, फिल्मको गीत र एउटा लोकपप गीत गडरेर । अहिलेसम्म रिलिज भएका ५३५ पुग्यो । सबै हिट छन् । तर आफूले गायको मात्र होइन । आफैले सङ्कलन गरेको हिट गीत ‘गमलामा जाई’, ‘घुम्तीनेर लेट भयो’, ‘चाँगुनारायणथान’, ‘बेसी झर है’, ‘घर त छाउनीमा’ लगायत छन् । जुन दर्शकले मनपराइ दिनुभएको छ ।

अहिले नयाँ गीत गरिरहेको छु । नाम राखेको छैन । सुन्न सबै प्रकारका गीत सुन्छु । मलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीले एउटा कलाकार भनेर चिन्नु भएको छ ।

धन प्रशस्त कमाएर गाडी चढ्नेको भन्दा मेरो इज्जत बढी छ भन्ने लाग्छ । सबैको माया पाएको छु । नवराज घोरासैनी गायक हो भनेर चिन्छन् । सबैको मनमुटुमा बस्न पाएको छु । धन भन्दा मेरा लागि गौरवको विषय यही हो ।

मेरो सपना

हाम्रो टिपिकल गीतसङ्गीत जोगाइ राख्नुपर्नेछ । हामीले त्यसो गर्न सक्यौँ भने मात्र हामीभन्दा पछिल्लो पुस्ताले यसको महत्त्व बुझ्न सक्छ ।

हामीले मादल, हार्मोनियम, सारङ्गी, बाँसुरी सबै छोड्नु भएन । नेपाली गीतसङ्गीतमा विदेशी वाध्यवादनले भन्दा पनि नेपालीले प्रथामिकता पाउनु पर्यो ।

नेपालका सङ्गीत पर्यटनको माध्यमले अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्न सफल छ । तर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा पुर््याउने सपना पनि मेरो हो ।

नेपाली गीत रेसम फिरिरी धेरै देशमा त पुगेको छ तर अरू पनि पुग्नुपर्छ भन्ने मेरो सोच हो । हाम्रो देश सानो भए पनि कला संकस्कृतिले धेरै धनी छ । 

मेरो प्रेम

मैले मागेर विवाह गरेको हो । विवाहपछि मात्र प्रेम बस्यो । जोसँग  विवाह भयो । उसैलाई प्रेम गरे । मेरो सानैमा विवाह भएको हो । अहिले लाग्छ चाँडो विवाह भएर पनि  ठीक भयो । छोराछोरी हुर्किसकेका छन् ।

उनीहरु अध्ययनको सिलसिलामा विदेशमा छन् । गीतसङ्गीतमा हिँड्दा स्वर मन पराएर मलाई प्रेमका अफर गर्ने, पछि लाग्ने धेरै थिए । तर मैले त्यतातिर कहिल्यै ध्यान दिइनँ ।

मेरो विचारमा हिमाल टाढाबाट हेर्दा राम्रो हो । त्यहाँ गएर छुन थाल्यो भने विभिन्न समस्या आउँछ ।

मेरो भुल

भुल नगर्ने मानिस सायदै होलान् । भुल त कहिलेकाहीँ भइहाल्छ नि । यो सामान्य कुरो हो । काम गर्ने सिलसिलामा जीवनमा जानी नजानी भुल धेरै भए होलान् ।

कहिलेकाही नजानुपर्ने ठाउँमा जाँदा बेकारमा आएँछु भन्ने हुन्छ । त्यो पनि भुल नै हो । धेरै कुरामा पछुतो भएको छ ।

आफूले बनाउन लागेको गीत विश्वास गरेर साथीभाइलाई धेरै पटक सुनाए । आफूले निकाल्नु भन्दा अगाडि उनीहरुले उक्त गीत निकालिदिए । आफूले पछि निकाल्दा उनीहरुको गीत चोरेको जस्तो हुँदोरहेछ । धेरै कुरामा साथीभाइलाई विश्वास गर्नु पनि एक प्रकारको भुल रहेछ ।

मेरो राशि

राशि मेरो कन्या हो । ग्रहदशामा विश्वास लाग्छ । कहिलेकाही हेराउनेसमेत गरेको छु । मन्दिर पनि जान्छु । भगवानप्रति आस्था र विश्वास छ । पूजापाठ सबै गर्छु ।

मेरो मृत्यु

मृत्यु एउटा सत्य हो । जन्मिएपछि मर्नुपर्छ । रोगले थलिएर  फलानो बिमारी छ रे भनेर अरू भेट्न आउने वातावरणमा  नहुँदै हिँडडुल गर्दैमा मर्न पाइयोस्, मेरो चाहना, कामना एउटै छ । म मृत्युपछि पनि बाँच्न सक्नेछु । किनभने धेरै नभए पनि नेपाली लोकगीत सङ्गीतमा मैले केही त्यस्तो काम गरेको छु जस्तो लाग्छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...