शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुख दुःखमा साथ दिन्छु : उम्मेदवार पौडेल

शुक्रबार, २९ कात्तिक २०७६, २१ : १९
शुक्रबार, २९ कात्तिक २०७६

पोखरा । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताका सुख दुःखमा साथ दिने भन्दै अहोरात्र आफू जनताका काममा लागिपर्ने बताएका छन् ।

पोखरा महानगरपालिका–२० भलाममा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा उनले जनताले उठाएका हरेक समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

उम्मेदवार पौडेलले बिहीबारदेखि पोखरा २० को साविक भलाम गाउँविकास समिति वडा नं १ बाट शुरु गर्नुभएको दुईदिने घरदैलो अभियान डाँडाखोर हुँदै आज मौजा, आँटीघर लगायतका क्षेत्रमा पुगेर सकिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

उम्मेदवार पौडेलले आज मौजा आँटीघरमा पुगी १०६ वर्षीय आईतश्री दमिनीबाट आशिर्वाद लिएका छन् । अहिलेसम्म विभिन्न समय गरी ११ पटक मतदान गरिसकेको बताउँदै आईतश्रीले मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि नफर्केको गुनासो गरे । 

वडाको घरदैलो अभियान समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले वर्तमान सरकारलाई सही बाटोमा हिँडाउन पनि काङ्ग्रेसले जित्नुपर्ने बताइन् । 

उनले संविधानको मर्म र भावनाअनुसार सरकार चल्न नसकेको उल्लेख गरे । प्रदेशसभा सदस्य एवं प्रचार समितिका संयोजक विन्दुकुमार थापाले घरदैलोमा वर्तमान सरकारबाट जनता निराश भएको दावी गर्दै काङ्ग्रेसलाई जिताउन आग्रह गरिन्  । 

शनिबार पोखरा–११ वडा तथा आइतबार र सोमबार पोखरा ३३ भरतपोखरीमा घरदैलो गरिने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप