बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेशमा छैन सिके राउतको आकर्षणः उपचुनाव परीक्षाको घडी

शुक्रबार, २९ कात्तिक २०७६, २० : ४७
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीका लागि उपचुनाव शक्तिमापनका समय पनि हो । विखण्डनको नारा दिएर जन्माएको जनमत पार्टी पहिलो पटक चुनावमा भाग लिँदैछ । मधेशलाई अलग देश बनाउने नारा दिएर सिंहदरवारलाई समेत तरङ्गित पारेका सिके राउत मूलधारमा आएपछि जनमत पार्टीको परीक्षाको समय शुरु भएको छ । 


मंसिर १४ गते हुने उपचुनावमा सिके राउतका जनमत पार्टीले बारा, सिरहा, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु र महोत्तरी जिल्लाको स्थानीय तहमा हुने उपचुनावमा भाग लिएको छ । स्वतन्त्र मधेश गठबन्धन संगठनमार्फत राजनीतिमा छिरेपछि उनले ठूलै तरङ्ग ल्याएका थिए । तर त्यो तरङ्ग अहिलेको उपचुनावमा काम नलाग्ने तराई मधेशका विश्लेषकहरु बताउँछन् । 


राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभ (जनकपुर) भन्छन्, ‘उहाँसँग अब कुनै आकर्षण रहेन । अब जनता उहाँप्रति आकर्षित हुने कुनै कारण नै छैन । सिके राउतसँग अहिले न कुनै नारा छ, न कुनै एजेण्डा छ ।’

अन्य दललाई गाली गरेर मात्र चुनाव जित्न नसक्ने लाभको विश्लेषक छ । उनले भने, ‘उपचुनवामा उहाँले सम्मानजनक मत ल्याउन सफल भए भरोसामन्द पार्टी बन्नसक्छ । होइन भने यही उपचुनावपछि सिके राउतसँग भएका कार्यकर्ता तथा नेताहरु पनि भड्किन्छ ।’


विश्लेषक लाभले अगाडि थपे, ‘पहिला त अलग मधेश बनाउँछौं, मधेश देश बनाउँछौं, आफ्नै सेना, आफ्नै शासन, आफ्नै प्रशासन अरु के केको नारा दिएर जनता कार्यकर्ता आकर्षित गर्नुभएको थियो अहिले त्यो पनि छैन, जनतासँग उहाँले के भनेर भोट माग्नु हुन्छ । राउतका लागि उपचुनाव परीक्षाको घडी हो ।’


विखण्डनको नारा दिएर मधेश मात्र होइन, काठमाडौंलाई समेत तरङ्गित पारेका सिके राउतले उपचुनावमा राम्रो गर्न सके काठमाडौं पुनः तरङ्गित हुने उनको बुझाइ छ ।

नेपाली काँग्रेस प्रतिपक्षीको भूमिकामा छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको नेतृत्व गरेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सविधान संशोधन लगायतको एजेण्डा छ तर जनमत पार्टीसँग चुनावमा जाने कुनै एजेण्डा छैन । यी दलहरुले केही गर्न सकेन भनि गाली गर्ने बाहेक सिके राउतसँग कुनै एजेण्डा नरहेको कारण चुनावमा कुनै सफलता हात नलाग्ने विश्लेषणहरु भइरहेको छ ।


बीबीसीका पत्रकार वृजकुमार यादवले पनि सिके राउतसँग अहिले कुनै ठोस चुनावी एजेण्डा नभएको कारण चुनावमा गाह्रो हुने सुनाए ।  रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पुरानो एजेण्डा छाडेर मुलधारमा आएको कारणले पनि उहाँका कार्यकर्ता उहाँमाथि चिढिएका छन् । उहाँले अझै पनि कार्यकर्तालाई चित्त बुझाउन सक्नुभएको छैन । यस अवस्थामा उहाँ चुनावमा भाग लिँदै हुनुहुन्छ, सिके राउतको शक्ति कायम छ कि समाप्त भएको छ त्यसको लागि रिजल्टको प्रतिक्षा नै गर्नुपर्छ ।’

पहिला भन्दा अहिले सिके राउतको आकर्षण कम भएको बताउँदै पत्रकार यादवले आकर्षण बढाउनका लागि उनले नयाँ केही गर्न नसकेको बताए । उनले भने, ‘जनमत पार्टीका लागि धेरैले उपचुनावको प्रतिक्षा गरिरहेका छन्, उपचुनावले जनमत पार्टीको हैसियत स्पष्ट पार्छ ।’


सिके राउत मुलधारको राजनीतिमा आएपछि मूलधारको पार्टी बनाउन नसकेको धेरैको बुझाइ रहेको छ । अहिले पनि उनका नेता तथा कार्यकर्ताहरुको उही पुरानो सोच, पुरानो शैली, पुरानो गतिविधिहरु रहेका छन् । नेता तथा कर्याकर्ताहरुको सोचमा परिवर्तन ल्याउन सकेको छैन ।

‘विखण्डनको नारा दिएर राजनीतिमा हुँदा उहाँसँग जनमत थियो तर अहिले त्यस्तो छैन भन्छन्,’ सर्लाहीका पत्रकार मनोज यादव । सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा जनमत पार्टीको तर्फबाट दिनेश राय यादवले उम्मेदवारी दिएका छन् तर त्यसको कुनै चहल पहल छैन । सर्लाही जिल्लामा पहिलादेखि नै सिके राउतको संगठन राम्रो थिएन ।


मूलधारमा आएपछि त झन के राम्रो हुनु, मलगंवामा स्वर्णिम एफएम सञ्चालन गरेका पत्रकार मनोज यादव भन्छन्, ‘सिके राउत केही दिन पहिले सर्लाही आउनु भएको थियो, उहाँले आफ्नो कार्यक्रममा उपस्थित जनतालाई देखेर पनि आफ्नो शक्ति थाह पाउनु भएको होला ।’

नेकपा, काँग्रेस, समाजवादी पार्टी, राजपा नेपाल भन्दा जनमत पार्टीले के नयाँ दिएको छ जो जनताले आफ्नो पुरानो पार्टी छाडेर उनको साथमा जाओस्, अरु दलको जस्तै एजेण्डा र विचार उसले पनि दिन्छन् भने सायद त्यतातिर जनताको आकार्षण नहुने पत्रकार मनोज यादवको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप