शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मृत्यु होइन, मारिएका थिए अराफात

शुक्रबार, २९ कात्तिक २०७६, १७ : ११
शुक्रबार, २९ कात्तिक २०७६

सन् २००४ नोभेम्बर ११ मा यासेर अराफातको मृत्यु भयो । कुनै प्रकारको असामान्य रोग नभएका अराफात अक्टोबर १२ को दिन खाना खाएपछि एक्कासि गम्भीर रूपमा अस्वस्थ भए । रोग पहिचान गर्न विभिन्न देशका चिकित्सक असफल भएपछि उनलाई फ्रान्स लगिएको थियो । 

त्यहाँ पनि चिकित्सकहरुले उनको बिमारीको कारण पहिचान गर्न खोजिरहेका थिए । त्यही क्रममा उनको मृत्यु भयो । अराफातको आधिकारित चिकित्सकीय रेकर्डमा रगतमा देखिएको खराबी कारण स्ट्रोक भएर उनको मृत्यु भएको लेखिएको छ ।  

अकस्मातको बिरामी र चिकित्सकीय जाँचले पनि रोगको पहिचान गर्न नसकेको कारणले आराफातको मृत्युमा षडयन्त्रको आशङ्का गर्नेहरु पनि छन् । सो आशङ्काहरुलाई निवारण गर्न र मृत्युको यकिन कारण थाहा पाउन अल–जजिराले नौ महिना लामो अनुसन्धान चलाएको थियो । अल जजिराको अनुसन्धान अराफातको मृत्यु भएको वर्षौंपछि भएको थियो । 

अनुसन्धानबाट पहिले अनुमान नभएको तथ्य बाहिर आएको छ र अराफातको मृत्यु स्वाभाविक नभएको तर्फ सङ्केत मारेको थियो ।  अराफातको मृत्यु भएको चार वर्षपछि अर्थात सन् २००८ मा उनका सबै चिकित्सकीय कागजात प्यालेस्टाइन अथोरिटीलाई हस्तान्तरण गरिएको थियो । अथोरिटीले ती कागजपत्रको थप अनुसन्धान गर्ने वाचा गरिको पनि थियो तर त्यसलाई कतै अघि बढाइएको देखिँदैन ।  

अल–जजिराले अनुसन्धानका लागि ती चिकित्सकीय प्रमाणको दोस्रो प्रतिलिपिको प्रयोग गरेको थियो । ती प्रतिलिपिहरु एयर अराफातकी श्रीमती सुहा अराफतले अल–जजिरालाई दिएकी थिइन् । सुहा अल–जजिराको अनुसन्धानको सम्पूर्ण अवधि उक्त टीभी च्यानलसँग जोडिएर अनुसन्धानलाई पूर्ण रूपमा सघाएकी थिइन् । 

अल–जजिराले अराफातको मृत्युको खास कारण जाँच गर्नका लागि अराफातका फाइलहरुको अतिरिक्त उनको कपाल र पहिरनहरुको प्रयोग गरेको थियो । ती प्रमाणहरु विश्वका उत्कृष्ट फोरेन्सिक चिकित्सक, फोरेन्सिक अनुसन्धानदाताका सामु प्रस्तुत गरिरएको थियो ।

को हुन् यासेर अराफात ?

चार दशकसम्म यासेर मध्यपूर्व राजनीतिको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व थिए । उनी सम्भवतः विश्वमा सबैभन्दा परिचित अरब थिए । त्यस्तै उनी इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टाइनी भूमिबाट हुने प्रतिरोधको विम्ब थिए । 

लामो सङ्घर्षपछि यासेरले इजरायलको पनि अस्तित्व स्वीकार्ने ‘दुई देशीय समाधान’ अघि सारे । इजरायलका पूर्वविदेश मन्त्री स्लोमो वेन अमी मध्यपूर्वका सबैभन्दा जेलिएको इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि उत्कृष्ट विकल्प ‘दुई देशीय समाधान’ अराफातले अघि सारेको स्वीकार्छन् । 

‘शान्ति प्रक्रिया सुरु गर्ने उनै थिए । धेरैले सोचजस्तो शान्ति प्रक्रिया सुरु गर्ने अमेरिकी वा ब्रिटिसहरुले होइन, यासेर अराफातको प्रस्ताव थियो । उनले दुई राष्ट्र समाधानलाई स्वीकार गरे र त्यसमार्फत शान्ति प्रक्रियाको ढोका खोलियो’ वेन अमीले भने ।  तर यासेरको प्रयासको बाबजुद सन् २००० मा शान्ति प्रक्रिया तोडियो र इजरायलको नियन्त्रण विरुद्ध प्यालेस्टाइनमा दोस्रो ‘इन्तिफादा’ सुरु भयो । वार्ता भाँडिनुका अनेक कारण भए पनि अन्तर्राष्ट्रिय समुदायले वार्ता टुट्नुको दोष यासेरमाथि मात्र लगाए । 

त्यसको केही महिनापछि इजरायलमा एरियल सारोन प्रधानमन्त्री चुनिए । चुनावमा उनले अराफातसँग कठोरताका साथ सामना गर्ने वाचा गरेका थिए । संवाद पूर्णतः रोकिएको अवस्था थियो ।  अराफातका पूर्व सल्लाकार मोहम्मद रसिद सारोन राष्ट्रपति भएपछिको पहिलो भेटमा सारोनले उनीहरुसँग धम्कीपूर्ण भाषा प्रयोग गरेको सम्झन्छन् ।  ‘उनले भेटमा इजरायली शैली पूरै फरक हुने बताए । जवाफमा मैले के यो धम्की हो भनेर सोधें । सारोनले उनकै शैलीमा तिमीहरु के साच्छौ, मलाई मतलब छैन तर इजरायली जनताका लागि खतरा हुने जो कोहीलाई पनि म बाटोबाट हटाउनेछु भने ।’

तनावबीच सन् २००२ मा इजरायली ट्याङ्कहरु रुमल्लामा पसेर प्यालेस्टाइन अथोरिटीको मुख्यालय ध्वस्त बनायो । यासेरले आक्रमणपछि बचेको मुख्यालयको दुई कोठाबाट प्यालेस्टाइन अथोरिटीका काम जारी राखे । 
उता यासेरमाथि बाह्य राष्ट्रको दबाब कायम थियो । अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००२ जुनमा ह्वाइट हाउसबाट प्यालेस्टाइन जनतालाई सम्बोधन गर्दै नयाँ नेता छान्न आह्वान गरे । 

त्यो समयको अराफातप्रति पश्चिमा शक्तिमा रहेको धारणा व्यक्त गर्दै पूर्व फ्रेन्स प्रधानमन्त्री डोमिनिक डी भिल्लेपिन सम्झछन्, ‘मैले त्यो बेला इजरायल प्यालेस्टाइनसम्बन्धी जति पनि बैठकमा सहभागी भएँ, सबैमा अराफातलाई खलनायकको रूपमा पेस गरिन्थ्यो । शान्तितर्फको सम्पूर्ण प्रयास उनैले रोकिरहेकोझै कुरा हुन्थ्यो । उनीबिना सम्पूर्ण कुरा सहज हुने कुरा चल्न थालेका थियो ।’ तर सन् २००३ सम्म अराफातबाट शक्ति खोसेर अरूमा शक्ति हस्तान्तरण गर्ने प्रयास असफल भयो । शत्रुका नजरमा घृणाका पात्र भएका तर मित्रहरुबाट पनि एक्लिएका भए पनि एराफात सत्तामा कायमै थिए । 

यासेरले कैयौँ शक्तिशाली अन्तर्राष्ट्रि शत्रु बनाएका थिए । यस कारण उनको ज्यानमाथि हरदम खतरा थियो । सन् २००४ सम्म आइपुग्दा एरिएल सारोन आराफातमाथि आक्रमणको सङ्केत सार्वजनिक रूपममै दिन थालेका थिए । 

त्यही समय उनले संयुक्त राष्ट्रसङ्घबाट अराफातको ज्यानमा हानी नपुर्याउने आफ्नो पुरानो प्रतिबद्धता फिर्ता लिएका थिए ।  सन् २००४ अक्टोबर १२ मा इजरायली नियन्त्रणमा अराफातको अर्को एक दिन मात्र रहेन । त्यो साँझ अरू दिनभन्दा केही असमान्य भयो । बेलुकाको खाना खाएको चार घण्टापछि अराफात गम्भीर बिरामी परे । 

त्यो समय उनलाई उपचार गरेका चिकित्सकको रिपोर्टअनुसार उनलाई चक्कर आएको महसुस भइरहेको थियो । त्यस्तै वाकवाकी, वान्ता र पेट दुख्ने समस्या पनि देखिएका थिए । तर त्यस्तो हुँदा पनि उनमा कुनै ज्वरो आएको थिएन । 

२००४ अक्टोबर १७ सम्म आइपुग्दा अराफात गम्भीर रूपमा अस्वस्थ भइसकेका थिए । अराफातको उपचारमा संलग्न चिकित्सकीय समूहले इजिप्टबाट वरिष्ठ चिकित्सकहरुलाई बोलायो । त्यो समूहले पनि एराफातलाई सामान्य ग्यास्ट्रिक मात्र रहेको पहिचान गरेको छ । इजिप्सियन चिकित्सकीय टोलीको नेतृत्व गरेका डा. ओमर जाकीले भने, ‘हामी दुई दिनसम्म यासेरसँग रहँदा उनको अवस्था सामान्य नै थियो । उनमा त्यस्तो असामान्य केही नपाइएपछि हामी फर्कियौं ।’

अक्टोबर २८ मा प्यालेस्टाइन अथोरिटीले यासेरको उपचारका लागि छिमेकी जोर्डनबाट अर्को चिकित्सकीय समूहलाई बोलायो । त्यो टिमले यासेरलाई विदेश लाने सल्लाह दियो । भोलिपल्टै फ्रान्स लाने तयारी चल्यो । तर त्यसका लागि इजरायलसँग अनुमति लिनुपथ्र्यो । 

घण्टौँको वार्तापछि इजरायली पक्ष अराफातलाई उपचारका लागि विदेश जान अनुमति दिन सहमत भयो । तर त्यसका लागि स्वस्थ भएपछि फर्कनुपर्ने सर्त राखिएको थियो । अराफातलाई फ्रान्सको अस्पताल लानका लागि इजरायलले हेलिकप्टर नै पठाएको थियो । 

१७ दिनको असफल उपचारले गर्दा उनको स्वास्थ अवस्था निक्कै बिग्रिसकेको थियो । उनको तत्कालीन स्वास्थ खराबीलाई ‘डिसेमिनेटेड इन्ट्राभ्यास्कुलर कोगुलेसन (डीआईसी)’ भनिएको थियो ।  यो रोगमा रक्तनलीमा रगत जम्न थाल्छ र जमेका रगतले गर्दा साना रक्तनदीमा रगतको बहाव नै रोकिन थाल्छ । डीआईसी धेरै कारणले लाग्छ । केहीमा गम्भीर रूपमा जल्दादेखि, सर्पले टाक्दा र रेडियोधर्मी विकिरणमा परेकासम्मलाई यो अवस्था आउँछ ।

अराफातमा के कारणले यो समस्या आएको हो भन्ने पत्ता लगाउन नसकिएकाले फ्रान्स जान लागिएको थियो ।  अक्टोबर २९ को दिन अराफातलाई पर्सी मिलिटरी हस्पिटल पु¥याइयो । उनलाई त्यहाँ सीधै हेमाटोलोजी विभागमा लगियो र कैयौँ रगतसम्बन्धी जाँच गरियो । 

अल–जजिराले आफ्नो अनुसन्धानका क्रममा कन्सल्ट गरेका चिकित्सकले त्यस समय फ्रान्सका अस्पतालले उठाएको कदमलाई उपयुक्त भने । रगत जम्ने प्रक्रियालाई ढिलाइ गर्नका लागि अस्पतालले हेपरिन दिएको थियो । ब्लड ट्रान्सफ्युजनमार्फत अराफातलाई प्लाज्मा पनि दिन थालियो । यो डीआईसीको समस्या भोगिरहेका बिरामीलाई दिइने सामान्य प्रक्रिया हो । 

अक्टोबर ३० बिहान उठ्दा अराफातलाई औषधिले काम गरेको देखिएको थियो । उनको वान्ता रोकिएको थियो । वाकवाकी र पखाला पनि पूरै निको भएको थियो । उनले त्यो दिन केही खाना पनि पचाएका चिकित्सक फाइलबाट थाहा पाइन्छ । 

फ्रेन्स अस्पतालको सुरुवाती जाँचले डीआईसीको कारण भने पत्ता लगाउन सकेन । रोगको कारण पत्ता लगाउने क्रममा अस्पतालले थप परीक्षणहरु गरिरह्यो । अस्पताल ल्याइएको तेस्रो दिन अस्पतालले उनलाई कुनै विष पो दिइएको हो कि भनेर त्यस सम्बन्धमा जाँच सुरु ग¥यो ।  

जाँच चलिरहँदा नोभेम्बर ३ मा अराफातलाई अकास्मात रोगले पुनः च्याप्यो । त्यसपछि उनी लगतै कोमा पुगे । त्यसपछि उनको स्वास्थमा कुनै सुधार देखिएन ।  अराफात कोमामा गएको खबर लिक भएपछि उता प्लालेस्टाइन अथोरिटीमा भने नेतृत्व परिवर्तनको खेल सुरु भयो । कार्यबाहक प्रधानमन्त्री मोहम्मुद अब्बासलाई नयाँ नेतृत्वका रूपमा स्वीकारिने सहमती बनेको थियो ।

यता अराफातको जाँचमा संलग्न चिकित्सकहरु भने अराफातलाई विषको प्रयोग भएको हुन सक्ने सम्भवनातर्फ घोत्लिन थालेका थिए । नोभम्बर आठमा डक्टरहरुले रेडियोधर्मी विषको परीक्षण गर्न थाले । गोपनीयताका लागि अराफातको फरक नाम दिइएको स्याम्पलमा आर्सेनिकदेखि कोकिनसम्मको जाँच गरिएको थियो । 

उनीहरुले दिसा, पिसाब र रगत सङ्कलन गरेर फ्रेन्स प्रहरी र सैन्य रेडियोलोजी ल्याबमा पठाए । फ्रेन्स सेनाको प्रयोगशालामा गरिएको रेडियोधर्मी परीक्षणमा सबै नभएर गेमामा सक्रियता मात्र जाँच गरिएको थियो । तिनले केही महत्त्वपूर्ण रेडियोधर्मी विशाक्तताको परीक्षण गरेनन् । विशेष त विरलै पाइने आणविक सामग्रीको परीक्षण गरिएको थिएन ।

यी सबै परीक्षण नकारात्मक आयो तर स्विजरल्यान्डमा अल–जजिराले अनुसन्धानका लागि संलग्न गराएका चिकित्सकहरुले पुरानो चिकित्सकीय कागजात हेर्ने क्रममा अराफातको नोभेम्बर ९ लिइएको सीटी स्क्यानमा असमान्य अवस्था देखेका छन् । सिटी स्क्यान अनुसार अराफातको दिमागमा धेरै नै रगत जमेको (ब्रेन ह्यामरेज) देखिन्छ । 

त्यसको दुर्ई दिनपछि नै नोभेम्बर ११ मा अराफात दिवङ्गत भए । उनलाई देश फर्काइयो र राष्ट्रिय सम्मानका साथ अराफातको अन्त्येष्टि भयो ।  तर अन्य सरकारी प्रक्रिया पालना गर्न मुख्य ध्यान दिइरहँदा अराफातको शरीरको पोस्ट–मोर्टम गर्न छुट्यो । मृत्युको कारण स्पष्ट नभइसकेको अवस्थामा पोस्टमार्टम गर्ने अन्तर्राष्ट्रिय चलन छ तर यहाँ त्यो गरिएन । 

अराफातको मृत्यु सम्बन्धमा त्यस समय आम जनतमा अनेक अफवाह फैलिएको थियो । धेरै फैलाइएको हल्लामध्ये एक हल्ला उनको मृत्यु एड्सबाट भएको भन्ने थियो जुन कुनै पनि चिकित्सकीय जाँचले पुष्टि गर्दैन । अन्तिम समयमा भएका विभिन्न परीक्षणमध्ये एड्सको पनि दुई पटक जाँच गरिएको थियो । जुन दुवै पटक नेगेटिभ थियो । 

त्यस्तै अर्को हल्ला उनलाई रगतको क्यान्सर भएको भन्ने थियो जुन पनि परीक्षणका क्रममा भेटिएको थिएन । अल–जजिराको समूहले अराफतको मृत्युको ७÷८ वर्षपछि यो अनुसन्धान थालेको थियो । उसले अराफातको मृत्युअघि चिकित्सकहरुले तयार पारेको सम्पूर्ण चिकित्सकीय कागजात स्विजरल्यान्डको ‘युनिभर्सिटी सेन्टर फर लेगल मेडिसिन’मा लगेको थियो । 

प्याट्रिस महाजोङ र उनको समूहले ती रिपोर्टहरु हेरेको थियो । मृत्युपछि अराफातको पोस्ट–मोर्टम नभएकाले एउटा महत्त्वपूर्ण अवसर गुमेको थियो । तथापि, अल–जजिराले अराफातकी श्रीमती सुहाको सहयोगमा अराफातले अस्पतालमा रहँदा लगाएका कपडाहरुलाई प्राप्त गरेका थियो । त्यसैलाई परीक्षणका लागि उपयोग गरियो, जुन उपयोगी पनि सावित भएको थियो । 

ती कपडा अराफातको मृत्युपछि फ्रेन्स अस्पतालले सुहालाई दिएको थियो, जुन उनले वर्षौंसम्म एक झोलामा राखेकी थिइन् ।  ती कपडाको सूक्ष्म विश्लेषणबाट डक्टरहरुले त्यहाँ अझ विशेष अन्तिम समयमा अराफातले लगाएको टोपीबाट कैयौँ कपाल र रौँ जम्मा गर्यो जुन परीक्षणका लागि योग्य मानिन्छ । 

अझ उनका केही कपडा र अन्डरवेयरमा तिनले रगत र पिसाबका केही अवशेष भेटे । चिकित्सा क्षेत्रमा उपलब्ध सबैभन्दा उन्नत प्रविधिको प्रयोग गरेर स्विस फोरेन्सिक समूहले केही महिनासम्म अराफातको मृत्युको कारण खोज्ने प्रयास गर्यो ।

फोरेन्सिक वैज्ञानिक प्रो.डेभिड बारक्ले अराफातलाई कसैले विष प्रयोग गरेर मार्न चाहेको थियो भने पनि विष सामान्य रूपमा पहिचान गर्न नसकिने खालको हुनुपर्ने मान्छन् । ‘तर पहिचान हुन नसक्ने भए पनि त्यो विष यति प्रभावकारी हुनुपर्छ कि त्यो उनको सम्पूर्ण शरीरसम्म फैलिनुपर्छ ।’ बारक्लेले भने । 

सम्पूर्ण शरीरमा फैलिँदा त्यो कपालसम्म पुग्छ । त्यही भएर अराफातको मृत्युको कारण खोजिरिहेका स्वीस वैज्ञानिकहरुले अराफातको कपाल भेट्नुलाई पनि सफलता मानेका थिए । पहिचान हुन नसक्ने विष सामान्य परीक्षणमा नदेखिए पनि त्यो कपालमा भने वर्षौंसम्म पनि रहिरहन्छ ।

परीक्षण गर्नुअघि कपाल अराफातकै हो भन्ने सुनिश्चित गर्नुपर्ने थियो । त्यसका लागि तिनले अराफातको छोरी जहवासँग डीएनए परीक्षण गराए । कपाल अराफातकै भएको पुष्टि भयो ।  त्यसपछि पहिले आम प्रयोगमा हुने विषहरुको परीक्षण गराइयो । त्यी सबै परीक्षणको परिणाम नेगेटिभ आयो । 

त्यसपछि चिकित्सकहरुले पोलोनियमसमेत अन्य विरलै पाइने विषहरु परीक्षण गरे । सन् २००४ मा कसैले पनि पोलोनियमको प्रयोग हुन सक्ने कल्पना गर्ने अवस्था थिएन किनकि यो त्यति बेलासम्म प्रयोग भएको बाहिर सुन्न आएको थिएन ।  तर सन् २००६ मा रुसको विरोधी धारमा लागेका पूर्व रुसी जासुस अलेक्जेन्डर लिट्भिनेन्को लन्डन अस्पतालमा मृत्यु भएपछि पोलोनियमको प्रयोग बारे चर्चा भयो । 

वैज्ञानिकहरुले लिट्भिनेन्कोको खानामा पोलोनियम पाएका थिए । पोलोनियम सामान्यता खाना, सिरिन्ज वा सुगाएर प्रयोग गर्न सकिन्छ । अराफातको रौँको परीक्षण गरिरहेका चिकित्सकहरुले एक महिना अवधिमा इन्स्टिच्युट अफ रेडियसन फिजिक्समा पोलोनियमको जाँच गराए । वैज्ञानिकहरुले त्यसबाट पाएको परिणामबाट अनपेक्षित परिणा पाए । 

वैज्ञानिकहरुले अराफातको मञ्जनमा उच्च मात्रामा पोलोनियम पाए । त्यस्तै उनका तीन कपडा र अन्डरवेयरमा भेटिएको पिसाबको दाग पनि पोलोनियमको मात्रा उच्च थियो । आराफातको निधन अघि उनले अस्पतालमा लगाएको एक चिकित्सकीय टोपीमा भेटिएको रगतमा पनि पोलोनियम भेटिएको थियो । 

अराफातको कपडा राखिएका झोलाका सबै सामग्रीको पोलोनियम जाँच गराउँदा जुन जुन कपडा अराफातले प्रयोग गरेका थिए, तिनमा पोलोनियमको मात्रा उच्च पाइएको थियो । यसले पोलोनियम अराफातको ज्यानबाट निस्केको शारीरिक तरल पदार्थले निम्त्याएको देखिन्थ्यो । 

हुन त पोलोनियम प्रकृतिमा पनि निक्कै थोरै परिणाममा पाइन्छ । बालुवामा हुने लिडको आयु सकिँदै जाँदा त्यसबाट थोरै मात्रामा पोलोनियम बन्ने गर्छ । त्यसैले स्विस अनुसन्धानदाताले अराफातको कपडामा पाएको पालोनियम प्रकृतिमा पाइएको पोलोनियम हो या बाह्य रूपमा दिइएको प्रशोधित पोलोनियम हो भन्ने पनि निचोड निकाल्न थप अनुसन्धान अगाडि बढाए । प्रशोधित पोलोनियम आणविक भट्टीमा मात्र पाइन्छ । 

अराफातको कपडाको पोलोनियम जाँच गराइएको इन्स्टिच्युट अफ रेडियसन फिजिक्सका निर्देशक प्रो. फ्रान्वा बोसुदको समूहले पालोनियमको प्रकृति जाँच गर्नका लागि तीन महिनाको थप परीक्षण गर्यो । जाँचको तीन महिनामा पनि पोलोनियमको मात्रा समान रह्यो भने त्यसलार्ई प्राकृतिक मानिन्छ तर घटेमा त्यो प्रशोधित पोलोनियम हुनेछ । 

अन्तिम समयमा अराफातमा रेडियोधर्मी परीक्षण गरिएका थिए तर पोलोनियमको भने परीक्षण गरिरएको देखिँदैन ।  थप जाँचका लागि अल–जजिराले अराफातलाई अन्तिम समय राखिएको अस्पताल पर्सी र उनको रगतको परीक्षण गर्ने फ्रान्सको सैन्य अस्पतालका अधिकारीबाट अराफातको रगत वा पिसाब मगाउन खोज्यो ।

फ्रेन्स कानुनअनुसार मृतकको श्रीमान वा श्रीमतीले मात्र त्यस्तो माग  गर्न सकिने भएकाले यस अनुरोधका लागि अल–जजिराले सुहा अराफातको सहयोग लिएको थियो ।   तर जवाफ सकारात्मक आएन । सन् २००८ सम्म आराफातको रगत र पिसाब कसैले माग्न नआएकाले नष्ट गरिएको जवाफ आयो ।

अराफातको मृत्युको कारण स्पष्ट नभएको अवस्था र फ्रेन्स कानुनले आपराधिक घटनाको आशङ्का भएका बिरामीको जैविक अवशेष १० वर्षसम्म नष्ट नगर्नु भनेको अवस्थामा चार वर्षभित्र अराफातको रगत नष्ट गर्नु अनौठो देखिन्छ ।

त्यस्तै अराफातको रगत परीक्षणमा संलग्न चिकित्सकलाई थप जानकारी भए नभएको बुझ्न खोज्दा तिनले चिकित्सकीय गोपनीयता भन्दै बोल्न अस्वीकार गरे । अल–जजिराको अनुपस्थितिमा सुहाले अलग्गै भेट्दा ती चिकित्सकले कागजातमा भएको भन्दा थप कुनै पनि विषको परीक्षण नगरिएको बताए । 

सुहाले त्यस क्रममा अराफातलाई फ्रान्स लानुअघि उनको घरमै आएका विभिन्न चिकित्सकमध्ये ट्युनिसिया र इजिप्टका दुई डक्टरले विषको बारे उल्लेख गरेको सम्झना गरिन् । उनले भनेको नामका चिकित्सक खोज्दै अल–जजिराको अनुसन्धान समूह ट्युनिसिया पुग्यो । चिकित्सक त भेटिए र कैयौँ प्रयास गर्दा पनि हेन्टाटीले टीभीका लागि भेट्न मात्र होइन थप फोन सम्पर्क नगर्न आग्रह गरे । 

अन्तिम फोन कलमा उनले अल जजिराको समूहलाई भने, ‘सत्य के हो मलाई थाहा छैन । सत्यको बारेमा नेताहरुलाई सोध्नुस् । म अहिले केही भन्न नसक्ने अवस्थामा छैन । मलाई यस्तो अफ्ठ्यारो विषयमा नफसाउनुस् । उनी मारिएका थिए या थिएनन् ? विष दिएको थिए वा थिएनन् ? भन्ने कुरा कुनै खेल होइन यो निक्कै ठूलो समस्या हो ।’

ट्युनिसियामा रहँदा अल–जजिराका पत्रकारले अराफात बिरामी भएदेखि फ्रान्समा मृत्यु हुँदासम्म उनीसँग रहेका एक मात्र व्यक्ति प्यालेस्टाइनी डक्टर ओमर डाका ट्युनियाका लागि राजदूत भएर त्यही रहेको पत्ता लगायो । उनीसँग अल जजिराले अन्तरवार्ता गर्न खोज्दा उनी एकदम असहज महसुस गर्दै यो ‘चिकत्सकीय विषय नभएर राजनीतिक विषय भएको भन्दै’ यसबारेमा केही नबोल्ने बताए । 

त्यस्तै इजिप्टबाट अराफातको उपचार गर्न प्यालेस्टाइन पुगेका इब्राहिम मुस्ताफाले पनि तत्कालीन समयमा विष प्रयोग गरेको आशङ्का व्यक्त गरेका थिए । तर अल–जजिरा समूह इजिप्ट पुगेर उनीसँग त्यसबारे कुराकानी गर्न खोज्दा उनले अन्तरवार्ता दिन अस्वीकार गर्दै यसबारेमा आफूलाई इजिप्टको सेनाले नबोल्ने भनेको बताए । 

अधिकांश चिकित्सक अराफातको मृत्युबारे अतिरिक्त बोल्नबाट पन्छिरहेका थिए ।  इतिहास हेर्ने हो भने अराफातको सबैभन्दा ठूलो शत्रु इजरायले विगतमा आफ्ना शत्रुविरुद्ध विष प्रयोग गर्ने प्रयास गरेको देखिन्छ । त्यस समय पनि पहिचान हुन नसक्ने विष प्रयोग भएको थियो । 

इजरायलको खतरनाक जासुसी संस्था मोसादले आफ्ना शत्रुको हत्याका मामिलामा विश्वका अन्य कुनै जासुसी संस्थाभन्दा अग्रस्थानमा आउँछ । सन् १९९७ मा प्यालेस्टाइनको अर्को महत्त्वपूर्ण पार्टी हमासका नेता खलेद मसाललाई मार्न सिरिङमार्फत विष दिइएको थियो । 

दिन दहाडैबीच सडकबीचमा हिँडिरहेका मसालमाथि सिरिन्ज आक्रमण भयो । तर यसमा इजरायलले चाहेजस्तो उनी मरेनन् । मसालका अङ्गरक्षकले तत्कालै प्रतिक्रिया जनाउँदा आक्रमणकारी पक्राउ परे । आक्रमणकारी रङ्गेहात पक्राउ परेपछि इजरायल लज्जित भयो र मसालको उपचारका लागि विषको एन्टिडोट दिन बाध्य भयो । यसले गर्दा उनको ज्यान बच्यो । 

‘मेरो अवस्थामा मेरा अङ्गरक्षकको तदारुकताले ती पक्राउ परे र विष दिएको थाहा भइहाल्यो । तर अराफातको अवस्थामा त्यस्तो देखिएन । यसले गर्दा इजरायलीहरुले उनलाई मारेको भन्ने प्रमाण दिन सकिएन ।’ खलेदले अराफतलाई विष नै प्रयोग भएको दाबी गर्दै भने । 

उता स्विरल्यान्डमा पोलोनियम प्राकृति हो या प्रशोधित हो भन्न तीन महिने परीक्षणले नजिता निकालेको थियो । परीक्षणको नेतृत्व गरेका प्रोफेसर बोल्सुदले अराफातको कपडामा भेटिएको पोलोनियम ल्याबमाबनाइएको बताए । अर्थात भेटिएको पोलोनियम उनीविरुद्ध विषको रूपमा प्रयोग गरिरएको थियो । 

कस्ता शक्तिले ल्याबमा बनाइने पोलोनियममा पहुँच पाउँछ ? अल जजिराको यस प्रश्नमा बोल्सुदले भने, ‘आणविक रियाक्टर भएका जुनसुकै देशसँग पोलोनियम हुन्छ । आणविक बम बनाउनेसँग मात्र होइन, बिजुलीको लागि आणविक भट्टी भएका देशसँग पनि यो रसायन हुने गर्छ ।’

पोलोनियमलाई विषको रूपमा प्रयोग गर्दा शत्रुपक्षलाई के फाइदा हुन्छ भने यस्तो विष प्रयोग गरिरएको एक दुर्ई घटना मात्र भेटिएकाले विश्वभरीका डक्टरलाई अझै यसको लक्षण थाहा छैन । ‘युनिभर्सिटी सेन्टर फर लेगल मेडिसिन’का प्राध्यापक प्याट्रिस मन्गिनले पनि यसै कारण आफूहरुले पोलोनियमकै कारणबारे आत्मविश्वासका साथ भन्न नसक्ने र थप अनुसन्धान गर्नुपर्ने सल्लाह दिएका थिए । 

अल जजिराको डकुमेन्ट्रीपछिको घटनाक्रम

अल–जजिराले नौ महिना लगाएर गरेको अनुसन्धानले अराफातको मृत्युमा पोलोनियम विष दिइएको सङ्केत गर्यो । तर अराफातको यथेष्ट शारीरिक अवशेष नहुँदा त्यसलाई शतप्रतिशत भन्न सकिने अवस्था थिएन । 
यसलाई पुष्टि गर्नलाई अल–जजिराको अनुसन्धानलाई पूर्ण रूपमा समर्थन गरेकी अराफातकी श्रीमतीले अराफातको गाडिएको शवलाई निकाल्ने निर्णय लिइन् । 

अल–जजिराको वृतचित्र र सुहाको निर्णयले प्यालेस्टाइन राजनीतिमा तरङ्ग आएको थियो । अराफातको परिवारका अन्य सदस्यको विरोध र प्यालेस्टाइन अथोरिटीको अनाकानीपछि सन् २०१२ नोभेम्बर २७ मा अराफातको शव निकालेर उनको शरीरका विभिन्न भागको हड्डीको धुलो र शव गाडिएको भागको माटो अनुसन्धानका लागि लिइयो । अनुसन्धानमा एक पे्रmन्स, एक स्विस र एक रुसी टिम संलग्न थियो । 

ती अनुसन्धान समूहमध्ये स्विस समूहले अराफातको करङ र फेल्भिसमा सामान्यभन्दा १८  देखि ३६ गुणा बढी पोलोनियम पायो । स्विडिस समूहले पालोनियमकै कारण अराफातको मृत्यु भएको भन्नेमा धेरै सम्भावना रहेको बतायो ।

उता रुसी वैज्ञानिकहरुको समूहले सन् २०१३ डिसेम्बर २६ आफूहरुले कुनै रेडियोधर्मी विष नभेटेको बतायो । उता फ्रेन्स रिपोर्टका अनुसार पोलोनियमको केही अंश पाइएको थियो ।  स्विस रिपोर्टजस्तो रुसी र फ्रेन्स रिपोर्ट भने सर्वसाधरणका लागि सार्वजनिक गरिएन ।

फ्रेन्स र रुसी रिपोर्ट पढेका स्विस टिमका विज्ञले अन्य टिमको तथ्याङ्कमा पनि आफूहरुमा जस्तै अराफातको मृत्युमा पोलोनियम कारण रहेको उल्लेख भएको बताएका छन् । तर फ्रेन्स र रुसी समूहले आफैंले भने त्यसलाई अस्वीकार गरेको छ ।

फ्रेन्स समूहका सदस्य अनुसार अराफातको अवशेषमा पोलोनियम पाइए पनि त्यो प्राकृतिक भएको लेखेको छ भने रुसी समूहले आफूले कुनै पोलोनियम नपाएको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप