शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरमा पहिलोपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदै

शुक्रबार, २९ कात्तिक २०७६, १५ : ३५
शुक्रबार, २९ कात्तिक २०७६

जनकपुर– जनकपुरमा पहिलो पटक दक्षिण एशियाली खेलकुद (साग) ले खेलकुद प्रतियोगिता गराउने भएको छ । आगामी मंसिर १५ गतेदेखि  काठमाडौँ र मंसिर २० गतेदेखि जनकपुर लगायतका स्थानमा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताका लागि विभिन्न स्थानहरुमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु तीव्र रुपमा भइरहेका छन् । आठौँ सागपछि नेपालमा भइरहेको १३ औँ सागमा काठमाडौँका अतिरिक्त ललितपुर, पोखरा र जनकपुरमा समेत प्रतियोगिता हुने आयोजक पक्षले जनाएको छ ।

नेपालमा भएका साग खेलहरुको इतिहासमा काठमाडौँ उपत्यका बाहिर पहिलोपटक प्रतियोगिता हुन लागेको हो । सोही क्रममा कुस्ती खेलकुद प्रतियोगिताका सम्पूर्ण खेल जनकपुरधाममा हुने भएका छन् । जनकपुरमा आउँदो मंसिर २० गतेदेखि २३ गतेसम्म कुस्तीका खेल हुनेछ ।

कुस्ती खेलको तयारीका लागि धनुषा जिल्ला खेलकुद विकास समितिका पधाधिकारीहरु युद्दस्तरमा जुटेका छन् । सात देश सम्मिलित प्रतियोगिता जनकपुरमा हुन लागेकोले यो अवसरलाई सदुपयोग गर्न लागिपरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले बताए ।  

जनकपुरमा कबड्डी र कुस्तीसहित दुई खेलको आयोजना गर्ने तयारी गरेपनि अन्तिम समयमा राष्ट्रिय खेलकुद परिषदले जनकपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै कुस्ती प्रतियोगिता मात्रै गर्न सुझाएको थियोे । साग अन्तर्गत हुने कुस्तीका सम्पूर्ण खेलहरु जनकपुरस्थित धनुषा जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा हुनेछन् ।

यसका लागि कवर्ड हलको मरम्मत तथा सम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्याल, ढोका निर्माण, स्टेज, भिआइपी कक्षको मर्मत सम्भारलगायतका कार्यहरु तीव्र रुपमा अगाडी बढाइएको उनले बताए । धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चौधरीले कबर्ड हललाई प्रतियोगिता लायक बनाउनका लागि कार्य भइसकेको जानकारी दिए । उनले मंसिर १० गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने स्पष्ट पारे ।    

साग प्रतियोगिताले जनकपुरको खेलकुद क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने खेल जगतसँग सम्बन्धित व्यक्तिहरु बताउँछन् ।सागको कुस्ती प्रतियोगिता जनकपुरमा हुने निश्चित भएपछि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु कवर्ड हलको अनुगमनका लागि पुगेका थिए ।

अनुगमन पछि सो हललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने हिसाबले तयार पार्न ५६ लाख खर्च हुने इस्टिमेट युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । ५६ लाखको खाँचो रहेको स्थानमा २० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको अध्यक्ष चौधरीले गुनासो गरे ।

उनले ७ देशका खेलाडीहरु सहभागी हुने यस प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा ठूलै टेवा पुग्ने बताए । उनले यसको तयारीका लागि आवश्यक बजेट उपलब्ध गराउन संघ सरकार स्वयं अनुदार देखिएपछि दुःख लागेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप