बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थी पुरुषको शिकार सरिता : दुई पुरुषले धोका दिए, तेस्रोले ज्यानै लिए

शुक्रबार, २९ कात्तिक २०७६, १५ : १३
शुक्रबार, २९ कात्तिक २०७६

बुटवल । पुरुषको स्वार्थी माया, यौन हिंसा र घात–प्रतिघातबाट विक्षिप्त पात्रको नाम थियो ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बु । गुल्मीको चन्द्रकोटमा भएको तीन जनाको विभत्स हत्याकाण्डमा उनी र उनका दुई अवोध छोरीको ज्यान गएको छ ।

कार्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर उर्लेनीमा मृत फेला परेकी सरिता र उनका दुई छोरीको हत्याकाण्डका अभियुक्तहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनलाई नजिकबाट चिन्ने मोरङ, कानेपोखरी गाउँपालिका–३, हरकपुरकी यमकुमारी लिम्बुका अनुसार सरिता भनेर चिनिने शिवमाया लिम्बु २०७० सालको पुस महिनामा मोरङमा ८ महिनाका दुई जुम्ल्याहा छोरीसहित डेरा गरि बस्न आएकी थिइन् । उनको जन्मघर पाँचथरको क्षेत्र नम्बर–२ स्थित थर्पु डाँडागाउँ भन्ने ठाउँमा हो ।

उनी मगर थर भएका एक पुरुषसँग दोस्रो विवाह गरि ७ वर्षीय जुम्ल्याहा दुई छोरी गंगा र जमुनासहित आएकी थिइन् । त्यस अघि उनले सिक्किमका एक जना राई थरका पुरुषसँग पहिलो विवाह गरेकी थिइन् । राई थरका पुरुषले छाडेपछि उनले मगर थरका पुरुषसँग दोस्रो विवाह गरेकी थिइन् ।

राईतर्फबाट २०६०/०६१  सालतिर जन्मेको आफ्नो एक छोरा रहेको उनले यमकुमारी लिम्बुलाई बताएकी थिइन् । कानेपोखरी गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान लिम्बुले पनि उनी सोही वडाका शिक्षक शैलेन्द्र थोप्लेङको घरमा मगर थरका पतिसहित डेरामा बसेको आफूलाई थाहा पाएको बताए ।

वडाध्यक्ष लिम्बु भन्छन्, ‘सायद उनका दोस्रो पतिले पनि छाडेर जेठी श्रीमतीसँग बस्न थालेर होला, उनी बेसहाराजस्तै थिइन्, उनले त्यहाँको एक सहकारी संस्थामा समेत ऋण काढेको बुझिएको छ ।’

वडाध्यक्ष लिम्बुले पनि उनको पहिलो विवाह सिक्किमका राईसँग र दोस्रो विवाह मगरसँग भएको बुझिएको बताए ।

सपना चकनाचुर

वडाध्यक्ष लिम्बुका अनुसार सरिता गत वर्षको वैशाख २० गते रोजगारी गरेर राम्रैसँग जीविकोपार्जन गर्ने सपनासहित पोखरातर्फ गएकी थिइन् । उनले कतिपयलाई ‘बुटवल जान्छु’ पनि भनेको पाइएको उनको भनाइ छ ।

प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलनमा बताएअनुसार उनी पोखरा महानगरपालिका वडा नम्वर २५ को हेम्जास्थित लामाचौताराकी दिलमाया थापाको घरमा डेरा गरि बस्दै आएकी थिइन् ।

हत्या आरोपी गल्कोट नगरपालिका वडा नम्वर ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनारलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सो घटनामा संलग्न नाम खुल्न नसकेका एक जनका फरार छन् ।

प्रहरीको सही निशाना

यस घटनाको अनुसन्धानमा खटिएका थिए जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं डिएसपी मिनबहादुर घले । ‘घटना कहिले र कसरी घट्यो ?’ भन्ने प्रश्नमा डिएसपी घलेले भने, ‘तपाईले जे समाचार लेख्नु भएको छ, त्यही नै सही हो ।’

रातोपाटीमा कार्तिक ९ गते राति शान्तिपुरको अर्जुन होटलमा तीन जना पुरुष, एक महिला र दुई बालिका बस्न आएको र रातको साढे दुई बजेतिर जिप मगाएर हर्राचौरको बजेनी गाउँमा पुगेको समाचार प्रकाशित गरिएको थियो ।

ध१ज १०० नम्बरका जिप चालक आयुष ढकालले उनीहरुलाई बजेनीसम्म पु¥याएको, उनीहरुले फोन नम्बर दिन र जिपको भित्र बत्ती बाल्न समेत नमानेको बताएका थिए । चार बजेतिर उनीहरुलाई पु¥याएर आफू शान्तिपुर फर्केको पनि उनले बताएका थिए ।

अर्कोदिन बिहान साढे सात बजेतिर घटनास्थलदेखि करिव एक घण्टाको पैदल दुरीमा पर्ने ओलीबाङ्ग बसपार्कमा अपरिचित तीन जना पुरुष बुटवलका लागि टिकट काट्न आएको, पछि शान्तिपुरबाट उनीहरु बुटवल जाने बसमा चढेको र पाल्पा, तानसेनको पेट्रोल पम्पमा ओर्लेको सम्बन्धित बसका चालकले सुनाएको विवरण पनि प्रकाशित भएको थियो ।

डिएसपी घलेले सोही विवरण सत्य रहेको जनाएका हुन् । यसका आधारमा उनीहरुको हत्या कार्तिक १० गते बिहानपख भएको निष्कर्ष निकालिएको हो ।

बेहुली बनाएर ल्याए, लास बनाएर छाडे

विश्वस्त स्रोतका अनुसार प्रहरीद्वारा पक्राउ गरिएका पुर्णबहादुर सुनारले पोखरामा क्यान्टिन सञ्चालन गर्दै आएका थिए । उनकै क्यान्टिनमा सरिताले काम गर्दै आएकी थिइन् । उनलाई पुर्णबहादुरले विवाह गर्ने प्रलोभन देखाउँदै यौन शोषण गर्दै आएका थिए ।

पुर्णबहादुर विवाहित भएकाले सरितालाई उनले कान्छी श्रीमती बनाउन चाहेका थिएनन् । उनीबाट पुर्णबहादुर पन्छिन चाहेका थिए भने सरिताले छाड्न चाहेकी थिइनन् । बीचमा लाखौंको बार्गेनिङ्ग समेत चल्दै थियो । त्यसपछि पुर्णबहादुरले हत्याको योजना बनाए ।

तिहार घरमै मनाउने र सरितालाई बेहुली बनाएर भित्र्याउने प्रलोभन देखाई उनका दुई छोरीहरु सहित घर लैजान साथै लिएर हिँडे । सरिताको हत्या गर्ने योजनाका साथ उनले झोलामा राखेर दुईवटा हम्मरसमेत ल्याएका थिए  ।

अर्जुन होटलकी सञ्चालक महिलाले चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष किरण शाहलाई बताए अनुसार ती महिला त्यस दिन साँझ उक्त होटलमा देउसीभैलो खेल्न आएका मानिसहरुसँग रमाउँदै भिडियोसमेत खिचेकी थिइन् ।

उनी हँसिलो मुद्रामा थिइन् । उनले त्यहाँ आफ्नो सामान्य परिचयसमेत दिएको बताइन्छ ।

प्रहरीले पत्रकार सम्मेलनमा त्यसबारे केही नबताए पनि डिएसपी घलेले भने झैं घटना त्यहीँबाट सुरु भएको हो भने अर्जुन होटलको एउटै कोठामा सुतेका तीन पुरुष, एक महिला र दुई बालिका रातको साढे दुई बजे नै बजेनीसम्म जिपमा पुगेका र त्यसको आधा घण्टा पैदल यात्रामा महिला र दुई बालिकाको हत्या भएको हो ।

गल्कोट नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष रामप्रसाद कँडेलका अनुसार पुर्णबहादुर सुनार पहिलेदेखि बदमासी गर्दै आएका ब्यक्ति हुन् । उनी र उनकी श्रीमती गाँजा काण्डमा पनि जोडिएका थिए । 

बदमास ब्यक्तिका रुपमा चिनिएको उनी पोखरातर्फ खाना खुवाउने ठेक्का पट्टामा लागेको हुन सक्ने वडाध्यक्ष कँडेलले बताए । उनका अनुसार उनीसँगै पक्राउ परेका १९ वर्षीय माधव सुनार पुर्णबहादुरका भतिजा हुन् भने फरार रहेका हर्के भन्ने उनका भाई हुन् ।

यसरी पुर्णबहादुरका भाई भतिजाको योजनामा सरितालाई बेहुली बनाएर भित्र्याउने प्रलोभन देखाउँदै ल्याईयो र उनी र उनका दुई अवोध छोरीहरुलाई समेत लास पारेर छाडियो । 

तस्वीरः  सार्वाजानिक गरिएका पुर्णबहादुर र उनका भतिजा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप