शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाजपासँग गठबन्धन तोडेर महाराष्ट्रमा सरकार बनाउन शिव सेना अग्रसर

तीन दल मिलेर गठबन्धन सरकार बनाउने तयारी
शुक्रबार, २९ कात्तिक २०७६, १२ : ३६
शुक्रबार, २९ कात्तिक २०७६

मुम्बई । भारतको महाराष्ट्रमा शिव सेना पार्टीले आफ्नै पार्टीबाट मुख्यमन्त्री हुने दावी गरेको छ । शिव सेनाका सांसद सञ्जय राउतले आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । शिव सेना, राष्ट्रवादी काँग्रेस र काँग्रेस पार्टीबीच न्यूनतम साझा कार्यक्रम बनाएर शिव सेना कै नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।

राउतले सरकारमा कुन पार्टीको कस्तो भूमिका हुन्छ भन्ने विस्तृत रुपमा खुलाएका छैनन् । न्यूनतम साझा कार्यक्रमका बारेमा उनले भने, ‘राज्यको हितमा न्यूनतम साझा कार्यक्रमसहितको सरकार गठन गर्नु कठिन काम होइन, सरकार एउटै पार्टीको होस् या गठबन्धनको, गठबन्धनमा दुई पार्टी रहुन् या २५ पार्टी, सरकार न्यूनतम साझा कार्यक्रम अनुसार नै चल्छ ।’

यस्तो न्यूनतम साझा कार्यक्रम राज्य र राष्ट्रको हितलाई ध्यानमा राखेर बनाइने उनको भनाइ थियो ।

काँग्रेस र राष्ट्रवादी काँग्रेससँग सरकार गठनका लागि सहकार्य गर्न लागेको विषयलाई थप प्रकाश पार्दै राउतले दुवै दल लमो समयसम्म सत्तामा रहेको र नयाँ सरकारमा उनीहरुको अनुभवले फाइदा नै हुने जिकिर गरे । ‘हामीसँग जो जोडिएका छन्, राज्य सञ्चालनमा कयौं वर्षको अनुभव छ, त्यो अनुभवले पनि फाइदा हुन्छ, सबैलाई साथ लिएर कार्यक्रम बनाउने प्रयास भइरहेको छ भने त्यसबाट कसलाई के आपत्ति हुन्छ ?’

शिव सेनाले परम्परागत गठबन्धन तोडेर महाराष्ट्रमा सरकार गठनका लागि पहल गरेको हो । भारतीय जनता पार्टीसँग मुख्यमन्त्री पदका लागि कुरा नमिलेपछि शिव सेना र भारतीय जनता पार्टीबीचको गठबन्धन टुटेको हो ।

शिव सेना नेता राउतले अब बन्ने सरकारमा शिव सेनाकै मुख्यमन्त्री हुने दावी गर्दै पाँच वर्षका लागि नभएर आगामी २५ वर्षसम्म महाराष्ट्रमा शिव सेनाले नेतृत्व गर्ने दावी गरे ।

तीन दलबीच ४० बुँदे न्यूनतम साझा कार्यक्रम बनाउने सहमति जुटेको बताइन्छ । केही दिनमै यसबारे नयाँ घोषणा हुन सक्ने अनुमान गरिएको छ ।

सरकारमा शिव सेनाका १६, राष्ट्रवादी काँग्रेसका १४ र कांग्रेसका १२ जना मन्त्री रहने चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप