शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाको विमानमाथि भएको आक्रमणमा रुसी उच्च अधिकारीको संलग्नता !

शुक्रबार, २९ कात्तिक २०७६, ११ : ३७
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं । मलेसिया एयरलाइन्सको ‘एमएच १७’ विमानमाथि भएको आक्रमणमा रुसका उच्च तहका अधिकारीको संलग्नता रहेको निष्कर्ष अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले निकालेको छ । रुसी राष्ट्रपतिका एक उच्च तहका अधिकारीको सम्पर्क युक्रेनका पृथकतावादीसँग भएको पाइएको उनीहरुको भनाइ छ ।

युक्रेनी पृथकतावादीको बाहुल्यता रहेको क्षेत्रमा १७ जुलाई २०१४ मा उक्त विमानमाथि भएको हमलामा विमानमा सवार २९८ जनाको मृत्यु भएको थियो ।

रुसी विदेश मन्त्रालयले भने अन्तर्राष्ट्रिय अनुसन्धान कमिटीको निष्कर्षलाई अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखरोभाले पूर्वनिर्धारित निष्कर्षअनुसार अन्तर्राष्ट्रिय अनुसन्धान कमिटीले आफ्नो काम गरेको आरोप लगाइन् ।

अनुसन्धान टोलीले युक्रेनी पृथकतावादी समूहको रक्षा प्रमुखसहित चार जनालाई आरोपित ठहर गरेको छ । सन् २०२० अप्रिलमा उनीहरुको अनुपस्थितिमै यस सम्बन्धी सुनुवाई हुन सक्ने जनाइएको छ ।

नेदरल्याण्ड्सस्थित अनुसन्धान टोलीले उक्त विमानमा भएको हमलामा रुसको प्रत्यक्ष संलग्नता नरहे पनि आरोपित चारमध्ये दुई जनासँग रुसी अधिकारीको फोनवार्ता भएको दावी गरेको छ । अनुसन्धान टोलीले त्यस्तो वार्ताको ‘फोन टेप’ समेत हासिल भएको दावी गरेको छ ।

को हुन् ती रुसी उच्च अधिकारी ?

अनुसन्धान टोलीका अनुसार क्रेमलिनका पूर्व रणनीतिकार तथा उपप्रधानमन्त्री भ्लादिस्लाभ सुर्कोभ र सर्गेइ अक्स्योनोभ नाम गरेका अधिकारीको भूमिका उक्त घटनामा जोडिएको छ ।

यस अतिरिक्त रुसी रक्षा मन्त्री सर्गेइ शोइगुका केही फोन कल पनि अनुुसन्धान टोलीले सामेल गरेका छन् ।

यस अतिरिक्त युक्रेनी विद्रोही समूहका कथित रक्षा मन्त्री इगोर गिर्किन र उनका सहायक सर्गेइ डुबिन्स्की यसअघि नै उक्त घटनाका संदिग्ध आरोपित ठहर भइसकेका छन् । विद्रोही नेताहरुले आफू कसैबाट निर्देशित नरहेको भन्दै आफूलाई स्वयंसेवी दावी गर्दै आए पनि उनीहरुले रुससँगको सम्बन्धलाई उजागर गर्ने केही साक्षीसँग सम्पर्क गरेको पाइएको छ ।

विद्रोही नेता अलेक्जेन्डर बोरोदईको एउटा फोन टेपमा उनले भनेका छन्, ‘म आदेश पालन गरिरहेको छु र एकमात्र मुलुक रुसी महासंघको हितको रक्षा गरिरहेको छु, यो नै बटम लाइन हो ।’ उनी मलेसियाली विमानमाथि हमला हुनु अघि भ्यादिस्लाभ सुर्कोभसँग रुसी सुदृढिकरणबारे कुरा गरिरहेको पाइएको छ ।

रुसी सुरक्षा संयन्त्रबाट उपलब्ध फोन प्रयोग

अनुसन्धानकर्मीले विद्रोही नेताहरु ‘एफएसबी’ सुरक्षा सेवाबाट प्राप्त सुरक्षित फोन सेवा प्रयोग गरेको ठहर गरेका छन् । इन्टरनेटबाट सञ्चालित यस्तो फोन सेवाबाट गरिएको कुराकानी ‘टेप’ गर्न नमिल्ने उनीहरुको भनाइ छ । यसका लागि उनीहरुले ‘दि ग्लास’ उपनाम प्रयोग गरेको पनि अनुसन्धानकर्मीको दावी छ ।

तत्कालका लागि चार जनालाई आरोपित गरिए पनि आगामी अप्रिलमा मुद्दाको सुनुवाई प्रक्रिया सुरु हुन्जेलसम्ममा युक्रेनी विद्रोही पक्षबाट अझ बढी प्रमाण संकलन भइसक्ने अनुसन्धानकर्मीको विश्वास छ ।

अम्स्टर्डमबाट क्वालालम्पुरसम्मको रुटमा उक्त विमानलाई खसाल्ने भूमिकामा को थिए र कसलाई त्यसको नेतृत्व दिइएको थियो भन्ने पत्ता लगाउने लक्ष्यका साथ अनुसन्धानकर्मीहरु अझै जुटिरहेका छन् ।

उक्त विमानमाथि भएको आक्रमणमा मृत्यु भएका २९८ जनामा १९३ डच, ४३ मलेसियन, २७ अस्ट्रेलियन, १२ इन्डोनेसियन, १० बेलायती, ४ बेल्जियन, ४ जर्मन, ३ फिलिपिनी थिए । न्युजिल्याण्ड र क्यानाडाका एक–एक नागरिक पनि उक्त घटनामा मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप