शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलोपटक इ–कार रेसिङ हुने

बिहीबार, २८ कात्तिक २०७६, २१ : ०२
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने विहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

    ‘एक्स्ट्रिम र इ’ नाम दिइएको रेस ब्याट्रीबाट चल्ने विद्युतीय कारको रेस हो । नेपाल पर्यटन बोर्डको संयोजनमा बेलायतको ‘एक्स्ट्रिम इ’ नामक संस्थाले रेसिङ आयोजना गर्न लागेको हो । 

रेसिङका लागि विभिन्न पाँच भौगोलिक क्षेत्रमध्ये हिमालयतर्फ नेपाल छनोट भएको हो । वातावरणमा अन्य प्रभाव नहोस् भनेर विद्युतीय कारको रेसिङ गर्न लागिएको हो । 

नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नुका साथै आगामी पर्यटन अभियानमा पनि यसले सहयोग पुग्ने बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिनुभयो । सन् २०११ मा पहिलो पटक घोषण भएको फर्मुला वानको इ–कार रेसिङ यसअघि सन् २०१४ मा चीनको राजधानी बेजिइङमा उद्घाटन भएको थियो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

विश्वव्यापीरूपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएका छन् । नेपालमा हुने रेसिङ भने फरक छ । यसमा विद्युतीय ‘एसयुभी’ गाडी प्रयोग हुन सक्नेछन् । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको सन्दर्भमा हुने यो कार्यक्रमले गन्तव्य प्रवद्र्धनका साथै जलवायु परिवर्तनको जोखिम विश्वमै बढिरहेको सन्दर्भमा वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राखे । उनका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन् ।

अध्यक्ष अलेजेन्ड्रोले नेपालको भूगोल रेसिङका लागि उपयुक्त रहेको र साहसिक पर्यटन प्रवद्र्धनका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप