शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भा दरबार क्षेत्र सडक सञ्जालमा

बिहीबार, २८ कात्तिक २०७६, १९ : ११
बिहीबार, २८ कात्तिक २०७६

कैलाली । कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । सुगम जिल्ला मानिने गर्भा दरबार क्षेत्र कैलालीको दुर्गम क्षेत्रका रूपमा रहेको छ । भौगोलिक विकटताको समस्या झेल्दै आएका स्थानीयवासी पहिलो पटक सडक सञ्जालसँग जोडिँदै गाडी पुगेपछि हौसिएका छन् । 

गाडी पुगेपछि आवागमन र मालसामान ढुवानीका लागि सहज हुने भएकाले सर्वसाधारणहरु खुशी भएको स्थानीयवासी दुर्गा कँडेलले बताए । पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड  गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गरेकामा सडक सञ्जाल जोडिएपछि अब एक घण्टामै पुग्न सकिने भएको छ । 

चौमाला बजारदेखि झण्डै २२ किलोमिटरको दूरीमा रहेको गर्भा दरबार क्षेत्रसम्मको सडक नेपाल सरकार र गाउँपालिकाको गरी झण्डै रु तीन करोडको लागतमा निर्माण गरिएको गर्भा दरबार रहेको वडाका वडाध्यक्ष कृष्ण मल्लले बताए । 

पर्यटन प्रवद्र्धनको प्रयास

नेपाल भ्रमण वर्ष, २०२० लाई लक्षित गरी यो क्षेत्रलाई प्रमुुख पर्यटकीय गन्तव्यस्थल बनाउन चुरे गाउँपालिकाले कार्ययोजना बनाउन जुटेको छ ।

यस क्रममा उक्त क्षेत्रको ऐतिहासिकता झल्किने खालको वृत्तचित्र (डकुमेन्ट्री) लगायतका प्रचारप्रसारसम्बन्धी गतिविधि गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा बताउछन् । 

बोहराले भने, “भ्रमण वर्षलाई लक्षित गरी चुरे गाउँपालिकामा रहेको आकर्षक कम्पासे धुरा, रातो माटो भएको नाङगो पहाड (रातो पहिरो) लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत जोड दिएका छौँ ।” 

यसैबीच बुधबार चुरे गाउँपालिकामा भएको अन्तरक्रियामा सरोकारवाला एवं सञ्चारकर्मीहरुले नेपाल भ्रमण वर्ष, २०२० मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्नेगरी पर्यटकीय क्षेत्रको पहिचान गरेर अगाडि बढ्न सुझाव दिए । गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले पर्यटन प्रवद्र्धनमा सबैको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

 गर्भा दरबार

बुधबार चुरे गाउँपालिकाको वडा नं ४ खैरालामा रहेको यो दरबार विसं १९८४ मा तत्कालीन शासक खड्गशम्सेर जङ्गबहादुर राणाको पालामा बनेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको यो दरबारको  संरक्षण र सम्वद्र्धनमा ध्यान नपुग्दा बर्सेनि  जीर्ण बन्दै गएको छ । 

राणाकालीन यो दरबार खण्डहरमा परिणत हुँदै गए पनि यसको संरक्षणका लागि सरकारी निकायको ध्यान पुग्न नसकेको वडाध्यक्ष मल्लले गुनासो सुनाए। 

“संरक्षण नहुँदा दरबारका कतिपय संरचना भत्किइसकेका छन् भने अन्य कतिपय संरचना भत्किने क्रममा छन्”, वडाध्यक्ष मल्लले भने, “जस्ताको छाना हावा हुरीले उडाएपछि भवन लामो समयदेखि चुहिने भएको छ ।”

दशकौँदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त दरबारका कलाकृतिजडित भित्ताहरु २०५५ सालदेखि भत्किन शुरू भएको स्थानीयवासीको भनाइ छ । राणा शासनकालदेखि २०३२ सम्म प्रयोगमा रहेको उक्त दरबार २०३३ पछि प्रयोगविहीन अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । 

हावापानी, मौसम र सुरक्षा व्यवस्थापनको दृष्टिमा उपयुक्त देखिएपछि यो ठाउँमा राणा शासकहरूले गर्भा दरबार बनाउन लगाएको बताइन्छ । मास पिसेर बनाइएको गाह्रोबाट निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

नेपालको चुरे पहाडमा सबैभन्दा अग्लो गर्भा पहाडको  १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र बनाइएको भुइँतले सुरुङसमेत अहिले पुरिँदै गएको छ ।

राणा शासकहरू खैरालाको दरबारबाट डोटी जिल्ला बर्छेनको च्यूरी, मान्नाकापडी, गड्सेरा, जल्फु भन्ने ठाउँमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ । 

“गर्भा दरबारलाई पर्यटकीय क्षेत्रका रूपमा राखिएको छ”, गाउँपालिका अध्यक्ष रोकामगरले भने, “पर्याप्त बजेटसहितको साधन स्रोतको अभावमा चाहेर पनि यो क्षेत्रको संरक्षण गर्न सकिएको छैन ।” 

उक्त दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष रु ६० लाख बजेट विनियोजित गरेको भए पनि ढिलो गरी बजेट निकासा भएका कारण समयमै उक्त बजेट खर्च हुन नसकेको बताइएको छ । 

चालू वर्षमा प्रदेश सरकारले उक्त दरबारको संरक्षणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप