शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण : पर्यटन क्षेत्रमा बढायो आशा

बिहीबार, २८ कात्तिक २०७६, १७ : २२
बिहीबार, २८ कात्तिक २०७६

पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आए । विशुद्ध पर्यटकीय भ्रमणका लागि पोखरा आएका हमिदले फेवातालमा जल विहार गरेका छन् । करिब १५ मिनेट जति मोटरबोटबाट जलविहार गरेका राष्ट्रपति हमिद फिस्टेल लजदेखि तालबाराही आसपाससम्म पुगेका थिए । 

पोखरा आसपासका हिमशृंखला र वरिपरीको दृश्यवलोकनका लागि राष्ट्रपति हमिद रुपा गाउँपालिकामा अवस्थित रुपाकोट रिसार्टसम्म समेत पुगे । अपराह्न १२ बजे पोखरा विमानस्थल आइपुगेका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका कार्यबहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेश सरकारका मन्त्री नरदेवी पुन, विकास लम्साल सहितलगायतका उच्च सरकारी टोलीले भव्य स्वागत गरेको थियो । साथै, पोखरेली पर्यटन व्यवसायीले समेत उनको भव्य स्वागत गरेका थिए । 

नेपाली समकक्षी विद्यादेवी भण्डारीको औपचारिक निम्तोलाई स्वीकार गर्दै नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदको पोखरा भ्रमणले यहाँको पर्यटनमा थप टेवा पुग्ने यहाँका व्यवसायीहरुले विश्वास लिएका छन् । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले राष्ट्रपति हमिदको पोखरा भ्रमण बंगलादेशमा मात्र नभई विश्वमै सम्प्रेषण हुने हुनाले यहाँको पर्यटनलाई थप ठेवा पुग्ने विश्वास व्यक्त गरे ।  ‘कुनै पनि देशका राष्ट्र प्रमुखको भ्रमणले त्यो ठाउँको महत्व अझ बढाउँछ,’ उनले अघि थपे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ र पशुपतिनाथ भ्रमणले त्यहाँको पर्यटनमा थप आकर्षण बढेको समेत उनले स्मरण गरे । ‘धेरै भन्दा धेरै पर्यटकहरु मुक्तिनाथप्रति आकर्षित भएर आइरहनु भएको छ,’ उनले भने, ‘राष्ट्रपति हमिदको भ्रमणले पनि पोखरामा बंगाली पर्यटकको आकर्षण बढ्ने छ ।’

बंगालादेशका पर्यटक आवागमन पछिल्ला दिनमा बढ्दै गएको समेत उनले जानकारी दिए । ‘पछिल्ला दिनमा बंगालादेशका पर्यटकहरु बढिरहनु भएको छ,’ उनले भने, ‘राष्ट्र प्रमुखको भ्रमणले यसले थप उचाइ लिने छ । बंगलादेशका पर्यटकहरुको भ्रमण पोखरेली पर्यटनको लागि थप महत्वपूर्ण बन्ने छ ।’

भौगोलिक हिसाबले टाढा नभए पनि पर्यटन प्रवर्द्धनको दृष्टिकोणले बंगलादेशसम्म पुग्न नसकिएको उनले स्वीकार गरे । आगामी दिनमा निजी र सरकारी क्षेत्रको अगुवाईमा पर्यटन प्रवर्द्धनका कार्यक्रम लिएर जानुपर्नेमा समेत उनले जोड दिए । 

यसअघि बंगलादेशको राजदूतावासको अगुवाइमा पर्यटन प्रवर्द्धनको लागि गोष्ठी समेत सञ्चालन भएको उनले जानकारी दिए । राष्ट्रपति हमिदको भ्रमणले लाखौं खर्च गरेर गर्न नसकिने पर्यटकीय प्रचार भएको उनले दाबी गरे । 

पर्यटन व्यवसायी तथा ट्रेकिङ एसोसियसन अफ नेपाल पश्चिमाञ्चल (टान) का अध्यक्ष हरि भुजेलले भिजिट २०२० को पूर्वसन्धामा राष्ट्रपति हमिदको पोखरा भ्रमणले विश्व सामु सकारात्मक सन्देश गएको बताए । 

भारतीय पर्यटकको तुलनामा बंगाली पर्यटक खर्च गर्ने खालको समेत हुने उनको भनाइ छ । पोखरामा आउने अधिकाशं बंगाली पर्यटकहरु खर्च गर्न रुचाउने देखिएको उनले सुनाए । 

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकार राष्ट्रपति हमिदको भ्रमणले थप उत्साहित बनेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप