शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा त्यो चार घण्टा : केपी ओली बोलिरहे, माधव नेपाल सुनिरहे...

बिहीबार, २८ कात्तिक २०७६, १५ : ४५
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ– भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जाँदै थिए । सिङ्गापुर उड्नुअघि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको सचिवालय भने सुखद् रहेन । कारण थियो– नेकपाकै वरिष्ठ नेता माधव नेपालसँगको चर्काचर्की । चर्काचर्की त्यो हदसम्म रह्यो कि ‘आफ्नो मृत्युको कामना गर्ने काम माधव नेपालबाट भएको’ सम्मको आरोप ओलीले लगाए ।

सो बैठकमा ओलीले आफू उपचारका लागि सिङ्गापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने तर त्यसका लागि आफूसँग सहमति लिनुपर्ने बताएका थिए । 

ओलीको सो भनाइ नेपालले प्रतिवाद गर्नेवित्तिकै ओली जङ्गिएका थिए । 

विवादका क्रममा ओलीले  ‘मेरो मृत्युको कामना गर्ने तपाईंको स्वास्थ्य लाभको कामना चाहिँदैन’ भन्नेसम्मको ओठे जवाफ फर्काएका थिए । 

त्यसयता दुई नेताबीच संवादहीनताको अवस्था रहेको बेला मङ्गलबार त्यसमा ‘आइस ब्रेक’  भएको छ ।

तिक्तता मेटाउन र सम्बन्ध सुधारको प्रयास स्वरूप ओली र नेपालले सँगै डिनर मात्रै गरेनन् झण्डै चार घण्टा सँगै बसेर लामो भलाकुसारी गर्दै चित्त ‘माझामाझ’ पनि गरे । 

दुवै नेताले गरे कमजोरी महसुस
स्वास्थ्यलाभको कामनासमेत नस्वीकारेका ओलीको त्यो आश्चर्यजनक (चलन चल्तीको भाषामा रुखो) व्यवहारपछि ओली र नेपालबीच दोहोरो संवाद र भेटघाटसमेत हुन छाडेको मात्रै थिएन, एउटै कार्यक्रममा सहभागी हुँदासमेत बोलचाल गर्दैनथे । 

‘पार्टी सचिवालय बैठकमा समेत दोहोरो कुराकानी हुन छाडेको थियो, मङ्गलबारबाट सम्बन्ध पुनः स्थापित हुन खोजेको सङ्केत मिलेको छ’ बालुवाटार स्रोतले भन्यो, ‘सबै मिलि नै सक्यो भन्ने त होइन तर दुवै नेताले कमजोरी गरेको महसुस गर्दै एकअर्कालाई आवश्यक ठानेको सहजै बुझ्न सकिन्थ्यो ।’ 

यसरी दुई नेताबीचको सम्बन्धमा देखिएको तिक्तताका कारण अरू नेताहरुलाई समेत अप्ठ्यारो महसुस हुनु स्वाभाविक थियो । 

ओली र नेपालका मध्यस्थकर्ता को ? 

ओली र नेपालबीचको तिक्ततापूर्ण सम्बन्धको यो सन्देश पार्टीभित्र र बाहिर समेत प्रवाहित भइसकेपछि पार्टीभित्रकै केही नेताहरुले उनीहरुबीचको तिक्तता मेट्ने र सम्बन्ध पुनः स्थापित गर्ने पहलकदमी उतिबेलै थालेका थिए । तर उनीहरुको प्रयास झण्डै ८० दिनपछि मात्रै सफल भयो, जतिबेला ओली र नेपालबीच चारघण्टा गोप्य वार्ता भयो । 

त्यसो त ओली नेपालबीचको सम्बन्ध सुधारका लागि आफ्ना निकटका नेताहरुका साथै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले समेत भूमिका खेल्नुपरेको थियो । त्यसका लागि प्रचण्डले प्रधानमन्त्री ओलीका साथै नेता नेपाललाई एक्लाएक्लै भेटेर सम्बन्ध सुधारमा जोड दिएका थिए । त्यस क्रममा प्रचण्डले अर्का नेता वामदेव गौतम र ईश्वर पोखरेलसँग पनि पटक पटक छलफल गर्नुपरेको थियो ।

प्रचण्डसँगै महासचिव विष्णु पौडेल पनि भदौ ५ पछि ओली–नेपाल सम्बन्ध सुधारको प्रयासका लागि नियमितजस्तो खटिएका थिए । त्यसका लागि नेता नेपालको कोटेश्वरस्थित घरमा पौडेल झण्डै आधा दर्जन पटक पुगेका थिए ।

‘अहिले काम नै छैन, काम भए र आवश्यक परे उहाँलाई भेटौँला’ ओलीको भेटवार्ता गर्ने सन्देशसहित कोटेश्वर पुग्ने गरेका महासचिव पौडेललाई नेता नेपालको जवाफ हुने गथ्र्यो । 

ओलीको दोस्रो फोनमा नेपाल ‘कन्भिन्स’ 
ओली–नेपाल तिक्तता मेटाउने पार्टी नेताहरुको प्रयास कायमै थियो । यहीबीचमा प्रधानमन्त्री तथा अध्यक्ष ओली आफैले गत शनिबार नेपाललाई टेलिफोन गरेर ‘चित्त नबुझेका कुरामा छलफल गर्ने प्रस्ताव गरे ।

ओलीको त्यो प्रस्तावलाई पनि नेपालले ‘ठिकै छ’ भन्ने जवाफ दिए । लगत्तै सोमबार सचिवालय बैठक बस्यो र आयोगहरुको नेतृत्व चयन गर्यो । अध्यक्ष ओलीले अघि सारेका नामहरुमा नेपालले कुनै प्रतिक्रिया दिएनन् ।

अर्थात सहमति जनाए । यसअघिका निर्णयमा फरक मत राख्दै आएका नेता नेपालले त्यसमा सहमति जनाएको सहजै बुझिन्थ्यो । तर पनि बैठकमा ओली–नेपाल दोहोरो संवाद नहुँदा अन्य नेताहरुले लख काटे, ‘सम्बन्धमा सुधार भएको छैन ।’

 बैठक सकेर सचिवालयका सबै नेता हिँडेपछि अध्यक्ष ओलीले पुनः नेता नेपालाई फोन गरेर भने, ‘राजनीतिक र साङ्गठानिक रूपमा हामीबीच मतभिन्नता हुनसक्छन् । तर हाम्रो व्यक्तिगत सम्बन्ध पनि छ । त्यसैले भेटौँ र छलफल गरौँ ।’ ओलीको यो प्रस्तावलाई नेपालले पनि समर्थन जनाएर र भने, ‘ठिकै छ बसौं न त ।’ त्यसपछि ओलीले मङ्गलबार ९ बजे बालुवाटरमै खाना खानेगरी आउन आग्रह गरे । सोहीअनुसार नेपाल मङ्गलबार बालुवाटार पुगेको एक नेताले बताए ।

के कुरा भयो ओली–नेपाल ‘गोप्य’ भेटमा ? 
बालुवाटारमा कफीसहित कुराकानीमा बसेका ओली र नेपालले कुराकानीकै क्रममा २ पटक कफी पिए । तर कुराकानीका क्रममा ओली धेरै बोलेका थिए भने नेपाल सुन्नमा सीमित रहे । 

‘बोल्नैपर्ने कुरामा नेपालले जवाफ पनि दिनुभयो । तर बोल्ने भन्दा पनि सुन्ने काम उहाँले धेरै गर्नुभयो’ बालुवाटार स्रोतले भन्यो, ‘मूलत उहाँहरुबीच पार्टी एकता प्रक्रिया, सरकारप्रति जनताको अपेक्षा र आफूहरुबीच बढेको तिक्तताको फाइदा उठाउँदै पार्टीभित्र र बाहिर कतिपयले खेल्ने मौका मिलेको जस्ता विषयमा कुराकानी भयो ।’ 

त्यस क्रममा आफूहरुबीचको तिक्तताको फाइदा उठाउँदै अरूले खेल्ने मौका पाएको दुवै नेताले महसुस गरेका थिए । अन्ततः चार घण्टे कुराकानीमा दुवै नेताले कमीकमजोरी स्वीकार्दै आगामी दिनमा संवाद बढाउने सहमति भयो र खाना खाएर दुई नेता छुट्टिए । 

५० को दशकपछि ओली नेपाल एकै ठाउँ 
तत्कालीन एमाले हुँदै अहिले नेकपाका नेता भएका ओली र नेपाल ५० को दशकपछि हरेक मुद्दामा सँगसँगै छन् । विचार र साङ्गठानिक रूपमा केही मतभेद देखिए पनि मूल मुद्दामा उनीहरु एकमत हुँदै आएका छन् ।

पार्टी विभाजन हुँदा होस् वा महाकाली सन्धिकै क्रममा किन नहोस् ओली र नेपाल फरक कित्तामा उभिएको रेकर्ड छैन । तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि ओली र नेपालको समान थियो । पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, संविधानसभाको निर्वाचन, मुलुकलाई गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्र घोषणादेखि संविधानको कार्यान्वयनसम्म उनीहरु एकै ठाउँमा उभिएको पनि जगजाहेर छ । 

जसले गर्दा मुलुकका ठूला दुई पार्टीलाई एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्न सफल भएका हुन् । 

‘लामो समयपछि दुई नेताबीचको मेलमिलापको सङ्केतले पार्टीका नेता कार्यकर्ता उत्साहित बनेका छन् भने विवाद गर्ने  र फुटाउन खोज्नेहरु झस्किएका छन्’, नेकपाका एक सचिवालय सदस्यले उत्साहित हुँदै भने, ‘ठूलो दल बनेर सरकारको नेतृत्व समेत गरेका बेला नेताहरुमा आएको यस्तो तिक्तताप्रति कतिपयले खुच्चिङ गरे पनि अब त्यो अवस्था रहन्न । हाम्रा विरोधीहरुका लागि त्यो पानीको फोकाजस्तै बन्यो ।’ 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप