बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा भेटिए अत्यन्त खतरनाक प्लेगका बिरामी, एक समय युरोपमा यो रोगले ५ करोड मानिसको ज्यान लिएको थियो

बिहीबार, २८ कात्तिक २०७६, १४ : ५५
बिहीबार, २८ कात्तिक २०७६

एजेन्सी । चीनमा दुई प्लेगका विरामी भेटिएका छन् । तिनको उपचार भइरहेको अधिकारीले बताएका छन् । घटना चीनको इन्नर मंगोलिया प्रान्तको हो ।

मे महिनामा पनि सोही क्षेत्रमा एक जोडीमा बुबोनिक प्लेग रोग पहिचान भएको थियो । लोखर्केजस्तो देखिने मार्मटको काँचो मिर्गौला खाएपछि तिनमा प्लेग भएको थियो । 

त्यस क्षेत्रमा घरेलु उपचारको लागि मार्मटको मिर्गौला खाने अभ्यास छ । ती जोडिको मृत्यु भयो । 

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार प्लेग लागेको पछिल्ला दुई विरामीलाई बेइजिङको चाओयाङ जिल्लाको अस्पतालमा सारिएको छ । 

ब्याक्टेरियाका कारण हुने प्लेग उपियाँ र तिनको टोकाइबाट संक्रमित भएका अन्य जिवले सार्ने गर्छन् । यो तीन स्वरुपमा विकास हुन्छ । 

बुवोनिक प्लेगले हाम्रो लिम्फ नोडहरु सुन्नाउँछ । त्यस्तै अर्को रगतमा लाग्ने सेप्टीसेमिक प्लेग हुन्छ भने फोक्सोलाई संक्रमित गर्ने प्लेगलाई न्यूमोनिक प्लेग भनिन्छ ।

अहिले पहिचान भएका चिनियाँ विरामीमा न्युमोनिक प्लेग हो । न्युमोनिक प्लेगलाई तीनमध्ये सबैभन्दा खतरनाक मानिन्छ । उपचार नहुँदा विरामीको ज्यान लिन्छ ।  

मध्य–युगीन समयमा(सन् १३४७ देखि १३५१मा) युरोप प्लेग फैलिँदा झण्डै पाँच करोड मानिसको ज्यान गएको थियो । उक्त संख्या तत्कालीन युरोपको आधाभन्दा बढी संख्या हो । त्यस महामारीलाई ‘ब्लाक डेथ’ भनेर चिनिन्छ । 

चिकित्सा विज्ञानमा भएको प्रगतिले गर्दा अहिले सुरुमै पहिचान भएमा सबैजसो प्लेगको उपचार हुन्छ ।

सन् २०१० देखि २०१५ बीच विश्वभरी प्लेगका ३२४८ विरामीको पहिचान भएको छ । त्यसमध्ये ५८४ को मृत्यु भयो । सबैभन्दा धेरै विरामी लोकतान्त्रिक गणतन्त्र कंगो, माडागास्कर र पेरुमा देखियो । 

प्लेग कसरी लाग्छ ? यसको उपचार छ ?
अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल’का अनुसार मुसाको ज्यानमा बस्ने उपियाँले टोक्दामा मानिसमा प्लेग लाग्छ । 

उपियाँले मुसाको शरीरमा पाइने ऐरसिनिया पेस्टिस ब्याक्टेरियालाई सार्दा प्लेग लाग्छ । तर संक्रमित कुकुर र विरोलोबाट पनि मानिसमा यो रोग सर्छ । 

तर सन् २०१८को एक अध्ययन अनुसार ‘ब्लाक डेथ’ फैलाउन मुसा मात्र जिम्मेबार नभएको देखिएको छ । मानिसलाई मात्र टोक्ने उपियाँ र जुम्राले पनि यो रोग फैलाएको प्रमाण भेटिएका छन् । 

हालसम्म प्लेग विरुद्ध कुनै प्रभावकारी खोप पत्ता लागेको छैन तर रोगको सुरुमै पहिचान भएर एन्टिबायोटिक खान थालिएमा यो रोगको विस्तार रोकिन्छ । 

अनुसन्धानदाताहरु प्रभावकारी खोपको विकास गर्नको लागि कयैन तरिकामा खोज गरिरहेका छन् । 

प्लेगबाट आफै कसरी बच्ने ?

प्लेग फैलिन सम्भावना रोक्न मुख्यतः घर र त्यस वरपर मुसा, छुचुन्द्रोको बासस्थान रहन दिन हुदैन । मुसा मुख्यत घरको भान्छा, गोठ, गोदाम र खेल मैदानतिरका झाडिमा पाइन्छ । यी ठाँउमा मुसा देखिए भने विशेष सावधानी अपनाउनुपर्छ । 

त्यस्तै मरेका र विरामी जीवलाई उठाउनुप¥यो भने हातमा ग्लोब लगाउनुपर्छ । 

घरमा पालिने कुकुर र विरालोको शरिरमा उपियाँ बस्न नदिन समय समयमा तिनलाई नुहाउने र औषधी लगाउनुपर्छ । घरमै पालिएको भए पनि कुकुर, विरालोसँग सुत्ने बानी गर्नु हुदैन । यसले प्लेगको सम्भावना बढाउँछ । 

त्यस्तै घरमा पालेका जीवलाई मुसा मार्न लगाउने अथवा तिनको बासस्थान वरपर बसेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप