शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी हत्याकाण्ड : अनैतिक सम्बन्धले लियो महिलासहित दुई अवोध बालिकाको ज्यान

बिहीबार, २८ कात्तिक २०७६, १३ : २४
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ ।   गत कात्तिक १६ गते गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्याको रहस्यको पर्दाफास भएको छ  । स्रोतका अनुसार एक पुरुष र महिलाबीचको शारीरिक सम्वन्धकै कारण महिला र उनका दुई छोरीहरुको ज्यान गएको खुलेको हो ।

हत्या गरिएकी महिला र दुई बालिका मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ की वासिन्दा हुन् । हत्या हुनेमा ३२ वर्षीया सरिता लिम्बु, छोरीहरु गङ्गा मगर र जमुना मगर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सरिताकी दुई जुम्ल्याहा छोरीहरु हुन् गङ्गा र जमुना । बुधबार साँझसम्म हत्या गरिएका तीनैजनाको पहिचान हुन सकेको थिएन ।

सरिता पोखरा महानगरपालिका–२५ स्थित फेदीमा रहेको एक होटलमा काम गर्दै आएकी थिइन् । उक्त होटल बाग्लुङ्ग गल्कोट नगरपालिका–७ ज्यामिरेका  ४६ वर्षीय पूर्णबहादुर सुनारको हो ।

होटल सञ्चालक पूर्णबहादुले सरितासँग शारीरिक सम्पर्क राख्दै आएका थिए । सरितासँगै अर्की एक महिला पनि पूर्णबहादुरको होटलमा काम गर्दै आएकी थिइन् । पूर्णबहादुरले होटलमा काम गर्न आउने ती महिलासँग शारीरिक सम्पर्क राख्ने गरेको खुलासा भएको छ । प्रायः महिलाहरुलाई विभिन्न प्रलोभन देखाउँदै शारीरिक सम्पर्क राख्ने गरेको पाइएको छ । पूर्णबहादुरले सरितालाई आफ्नो श्रीमती बनाउँछु भनेर शारीरिक सम्पर्क राख्दै आएका थिए ।

यसरी भयो हत्या

गत कात्तिक १६ गते पूर्णबहादुर र सरिता मोरङस्थित पूर्णबहादुरको घर जाने भन्दै होटलबाट निस्किएका थिए । ‘घर लगेर राख्छु’ भन्दै फकाएर पूर्णबहादुरले शान्तिपुर हुँदै सरितालाई लिएर आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

तर, पूर्णबहादुरले भने सरिताको हत्या गर्ने योजना बनाइसकेका थिए । यो योजना पूरा गर्न उनले थप दुई जनालाई पहिल्यै नै घटनास्थलमा बोलाएका थिए । सोही अनुरुप बाग्लुङ्ग र गुल्मीको सीमानामा पर्ने चन्द्रकोट गाउँपालिका–३, हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भीर जङ्गलमा ल्याएर तीन जनाले सरिता र उनका दुई छोरीहरुको उनीहरुले विभत्स हत्या गरेका खुल्न आएको छ ।

महिलाको शवबाट दुई सय र दुई सय तीस मिटरको दुरीमा दुई बालिकाको शव भेटिएको थियो ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनारसहित दुई जना पक्राउ परिसकेका छन् । पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरास्थित आफ्नै होटलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न एकजना फरार रहेको र फरार व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप