बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशका राष्ट्रपतिको यसरी हुँदैछ पोखरामा स्वागत

बुधबार, २७ कात्तिक २०७६, १६ : ३१
बुधबार, २७ कात्तिक २०७६

पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले भव्य स्वागत गर्ने भएको छ । राष्ट्रपति हमिद बिहीबार मध्यान्ह हेलिकप्टर मार्फत पोखरा आउँदैछन् । 

गण्डकी प्रदेशको २१ औं मन्त्रिपरिषद् बैठकले बंगलादेशका राष्ट्रपति हमिदलाई भव्य स्वागत गर्ने निर्णय गरेको हो ।  

जसअनुसार बैठकले राष्ट्रपति हमिदको सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समिति कास्कीलाई राष्ट्रपति हमिदको सुरक्षाका लागि निर्देशन दिइएको छ । 

राष्ट्रपति हमिदको स्वागतका क्रममा नेपाली कला संस्कृति झल्किने नृत्य, झाँकी प्रस्तुत गरिने छ।  रुपाकोट रिसोर्ट  र पोखरा एअरपोर्ट गरि दुई ठाउँमा उनको स्वागतको व्यवस्था मिलाइएको छ । पोखरा एअरपोर्टमा हमिदलाई गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वागत गर्ने छन् ।

यस्तै  रुपा गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्वमा टिम खटाइएको छ । कुटनीतिक मर्यादा पालना गर्दै राष्ट्रपति हमिदको स्वागत गरिने गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । 

राष्ट्रपति हमिद सहित ५५ जनाको टिम पोखरा आउने छ । राष्ट्रपति हमिद र उनीसँगै आउने टिमको खानपिनको व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री बस्नेतले जानकारी दिए । 

अपराह्न १२ बजे राष्ट्रपति हमिद पोखरा विमानस्थल आइपुग्ने छन् । उनी विमानस्थलबाट सिधै फेवाताल पुगेर बोटिङ गर्ने कार्यक्रम तय भएको छ । फिस्टेल लजमा लन्च लिई सकेपछि हेलिकप्टरमार्फत रुपाकोट रिसार्ट पुगेर केही समय बिताइसकेपछि बिहीबार नै राष्ट्रपति हमिद काठमाडौं फर्किने छन् । 

यतिबेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने हङकङ भ्रमणमा छन् । 

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पोखराको पर्यटनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप