पीडित र साक्षीले किन फेर्छन् बयान ?
अङ्ग्रेजीमा होस्टाइल भन्ने एउटा शब्द छ । अदालती प्रक्रियामा चल्तीमा रहेको यो शब्द नेपाली समाजमा भने त्यति चलेको शब्द होइन ।
अक्सफोर्ड डिक्सनरी पल्टाउने हो भने होस्टाइलको अर्थ विरोधी वा प्रतिकूल भन्ने उल्लेख गरिएको छ ।
तर कानुनी भाषा र अर्थमा होस्टाइलको अर्थ प्रतिकूल बयान दिनु, पहिले दिएको जाहेरी वा बयानभन्दा फरक हुनेगरी बयान दिनु, पीडक वा अभियुक्तलाई नै सहज हुनेगरी बयान दिनु भन्ने अर्थ राख्छ ।
नेपालको अदालती प्रक्रियामा पनि यसअघिका साक्षी वा पीडितले बयान नफेरेका त होइनन्, तर पछिल्ला घटनालाई हेर्ने हो भने पीडित वा साक्षीले धमाधम बयान फेर्न थालेका छन् ।
बलात्कारको प्रयास गरेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध एक असोज १२ गते महिलाले प्रहरीको कन्ट्रोल रुममा फोन गरिन् । लगत्तै प्रहरी पुग्यो र महिलाको भिडियो बयानसहित केही सबुत लिएर आए । तर महिलाले तत्कालै स्वास्थ्य परीक्षण गराउन र किटानी जाहेरी दिन मानिनन् ।
असोज १३ गते सोमबार फेरि ती महिलालले एक अनलाइन मिडियामा अन्तरवार्ता दिँदै महराले आफूमाथि के के गरे भनेर बोलिन् ।
तर असोज १३ गते राति मिडियामा महराबारे समाचार सार्वजनिक भएलगत्तै असोज १५ गते नै महिलालले फेरि बयान फेर्न थालिन् । असोज १५ गते अर्को मिडियालाई अन्तरवार्ता दिँदै आफूलाई डर र धम्की देखाएर जबरजस्ती बोल्न बाध्य पारिएको, महरा आफ्नो बुवासमानको व्यक्ति भएको बताइन् ।
त्यसको केही समयपछि फेरि ती महिलाले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी दिइन् । महराले आफूलाई बलात्कारको प्रयास गरेको र कुटपीटसमेत गरेको जिकिर गर्दै कानुनी कारबाहीको माग गरिन् ।
त्यसलगत्तै महरा पक्राउ परे । महरा पक्राउ परेपछि ती महिलाले फेरि बोली फेरिन् । आफूलाई प्रहरीले जबरजस्ती त्यस्तो किटानी जाहेरी दिन लगाएको भन्दै घटना नै नभएको र त्यस दिन महरा त्यहाँ नै नआएको कुरा बताउन थालिन् । उनी अदालतसम्म पनि महरा निर्दोष रहेको भन्दै निवेदन लिएर पुगिन् । यद्यपि ती महिलालाई थुनछेक बहसमा बोल्न दिइएन । महरा अन्ततः पुर्पक्षका लागि जेल चलान भए ।
महरा काण्ड सेलाउन नपाउँदै १२ वर्ष पुरानो घटनाका सम्बन्धमा अनुसन्धान गर्न नेपाली काँग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परे । आलम पक्राउ परेलगत्तै रौतहट प्रहरीले धेरै जोखिम मोल्दै मिहिनेत गरेर साक्षीहरु जम्मा गर्यो ।
पीडित परिवारका तर्फबाट पहिले नै परेको किटानी जाहेरीलाई आधार मान्दै प्रहरीले नयाँ परिवारका अन्य सदस्यहरुको बयान गरायो ।
बयान गर्नेमध्ये एक थिइन्, आलमले इँटाभट्टामा जिउँदै जलाएर मारिएका भन्ने ओसी अख्तरकी श्रीमती अमना खातुन ।
कात्तिक २२ गते शुक्रबार जिल्ला अदालतमा आलमविरुद्ध थुनछेक बहस चलिरहेकै बेला आफ्नै बयानको प्रतिकूल हुने गरी अमनाले आफ्नो श्रीमान् वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको भन्दै आलमले हत्या गर्नै नसक्ने निवेदन बोकेर पुगिन् ।
अदालतले तत्कालै उक्त निवेदन लिन चाहेन । जब कि अमना आफैले श्रीमान्को मृत्यु २०६४ साल चैत २७ गते भएको भन्दै वडा कार्यालयमा निवेदन दिएर त्यहीँबाट मृत्युदर्ता प्रमाणपत्र समेत लिइसकेकी थिइन् ।
आलम प्रकरणमै कात्तिक २५ गते सोमबार फेरि अर्का साक्षी पनि होस्टाइल भइदिए । भारत सीतामढीमा गौरीशङ्कर राम चमार बम विस्फोटमा परी घाइते भएका व्यक्ति हुन् । उनको शरीर र अनुहारभरी घाउको निशान प्रष्ट देख्न सकिन्छ । बमको छर्राले दुवै कानको आकार बिग्रिएको छ ।
बम विस्फोटपछि ४ महिना भारतकै अस्पतालमा उपचार गराएका गौरीशङ्कर राम चमारलाई नेपाल प्रहरीले धेरै मिहिनेत गरेर भारतको सीतामढीबाट नेपाल ल्याएको थियो । नेपाल प्रहरीले चमारको बयान र जाहेरी लिँदै घटनाबारे थप कुरा बुझेको थियो र उनलाई वादीपक्ष अर्थात् नेपाल सरकारको तर्फबाट साक्षी राखेको थियो । तर नेपाल सरकारका तिनै साक्षी गौरीशङ्कर राम चमार पनि होस्टाइल भइदिए ।
कात्तिक २५ गते सोमबार जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको समयमा चमार एउटा निवेदन बोकेर अदालत पुगे ।
निवेदनमा आफू बम बिस्फोटमा नभई स्टोभ पड्केर घाइते भएको र घटनामा आलमको कुनै संलग्नता नभएको बरु नेपाल प्रहरीले जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको कुरा उल्लेख गरे ।
निराश र त्रसित मुद्रामा देखिएका चमारलाई प्रहरीले तत्कालै सुरक्षा प्रदान गर्यो । प्रहरीले किन यस्तो निवेदन बोकेर आएको भन्दा उनी प्रहरी समक्ष धुरुधुरु रोए र आफू र आफ्नो परिवारको जीवनरक्षाका लागि आग्रह गरे ।
पछि तिनै चमारले रातोपाटीसँग कुराकानी गर्दै आफूलाई आलम पक्षका व्यक्तिहरुले अपहरण गरी बयान फेर्न लगाएको र बयान नफेरे चमार र उनको परिवारकै हत्या गरिदिने धम्की दिएको कुरा बताए ।
साथै यो अपहरणमा आलमका सम्धी अर्थात् शिवहर क्षेत्रका विधानसभा सदस्य सरफुद्दिन सेखसमेत संलग्न रहेको बताउँदै सरफुद्दिनले कति पैसा चाहिन्छ दिन्छु तर बयान फेर भनेर दबाब दिएको स्वीकार गरे । त्यसलगत्तै नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी परिवारको सुरक्षाको व्यवस्था मिलायो भने चमारलाई नेपाल प्रहरीले नै सुरक्षा दिएर राखेको छ ।
पूर्वप्रधान न्यायाधीश भन्छन्, ‘साक्षीको सुरक्षा र पीडितलाई क्षतिपूर्तिको व्यवस्था नभएसमम होस्टाइल भइरहन्छ’
आखिर साक्षी वा पीडित पक्ष किन बारम्बार होस्टाइल हुन बाध्य छन् त ? यसै विषयमा हामीले एकजना पूर्वप्रधान न्यायाधीशसँग कुराकानी गरेका छौँ ।
आफ्नो नाम उल्लेख गर्न नचाहने ती पूर्वप्रधान न्यायाधीशले रातोपाटीसँग गरेका कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
‘पहिले त अदालती भाषामा होस्टाइल भनेको बुझ्नुपर्छ । तपाईंहरुले बुझ्नुभएको होस्टाइल के हो भने साक्षी वा पीडित भनिएका व्यक्तिले पछि किनबेच वा डरधम्की दिएर बयान फेरेमा त्यसलाई होस्टाइल भनेर बुझ्नुभएको छ भने त्यो गलत कुरा हो ।
पहिले कसैले प्रहरीसमक्ष हो भनेर वा पछि होइन भनेर बयान दिन्छन् भने त्यो पनि होस्टाइल नै हो । कुनै पनि व्यक्तिलाई आफ्नैविरुद्ध बयान दिन बाध्य नपारिने कानुनी व्यवस्था नै छ । त्यसकारण कसैले कुनै बयान कालान्तरमा वा वर्तमानमा आफ्नैविरुद्ध हुन्छ भन्ने लागेमा वा सोचेमा पनि त्यस्तो बयान फेर्न सक्छन् । कतिपय अवस्था प्रहरीले जबरजस्ती नभएको बयान गर्न लगाएको पनि धेरै उदाहरण र प्रमाण मसँग छन् । कतिपय घटनामा पीडित वा साक्षीले पहिले दिएका कुरा साँचो भए पनि पछि बयान फेरेको घटना पनि धेरै छन् । त्यसकारण होस्टाइलको सामान्य परिभाषा बुझ्दा पहिले सही र पछि गलत भन्ने मात्रै होइन, प्रहरीकोमा बाध्य भएर गलत बयान दिएको र पछि अदालतमा सही बयान दिएको पनि हुनसक्छ भन्ने कुरा बुझ्नुपर्छ ।
तर खास अर्थमा सामान्य मानिसले बुझ्ने होस्टाइल भनेको चाहिँ पहिले सही बोल्यो तर पछि डर, त्रास, धम्की र प्रलोभनमा पारेर बयान फेर्न लगायो भन्ने नै हो । र, हाम्रो समाजको धेरैजसो होस्टाइल यी नै कुराहरुमा केन्द्रित हुने गरेको छ ।
मैले मेरो कार्यकालमा पनि यस्ता धेरै होस्टाइलहरु देखेको छु । अभियुक्तले अपराध गरेकै हो भन्ने यथेष्ट आधार र प्रमाण भएको अवस्थामा पनि साक्षी वा पीडित आफै होस्टाइल भएका धेरै उदाहरण छन् । त्यसबाहेक यथेष्ठ आधार र प्रमाण छैन, यद्यपि साक्षीहरुको कुरा सुन्दा वा पीडितको कुरा सुन्दा अपराध भएकै हो भन्ने निक्र्योलमा अदालत पुग्ने तर अन्तिममा साक्षी वा पीडित नै होस्टाइल हुने समस्या पनि धेरै देखिएका छन् । यस्तो अवस्थामा अदालतलाई निर्णयमा पुग्न धेरै अप्ठ््यारो हुन्छ । मैले हेरेकै कतिपय केसमा होस्टाइल भएकै थिए । जब राज्यले साक्षी र पीडितको सुरक्षा गर्न सक्दैन र उचित क्षतिपूर्ति उपलब्ध गराउन सक्दैन, तबसम्म यस्तो होस्टाइल हुने कुरा भइ नै रहन्छ । त्यसकारण मैले गरेका केही फैसलामा स्पष्ट रूपमा साक्षी र पीडितको सुरक्षाको व्यवस्था मिलाउनु र उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नु भनेर सरकारको नाममा आदेशसमेत दिएको छु । यो व्यवस्था कानुनमा पनि उपलब्ध छ तर व्यवहारमा साक्षी वा पीडितको सुरक्षाको व्यवस्था नहुने र क्षतिपूर्ति पनि नपाउने हुँदा जे हुनु भइहाल्यो, जोखिम मोल्नुभन्दा केही राहत लिने भन्ने मनसाय पनि पीडितमा देखिन्छ । त्यसकारण राज्यले उचित व्यवस्था नगरेसम्म होस्टाइलको सम्भावना रहिरहन्छ । तर पछिल्लो दिनमा भइरहेको होस्टाइल प्रवृत्तिले न्याय सम्पादनमा ठूलो चुनौती थपिदिएको छ भने र विधिशास्त्रीय दृष्टिकोणले पनि यो ठीक भइरहेको छैन ।’
यता कानुनका प्राध्यापकसमेत रहेका रामकृष्ण तिमल्सिना पनि होस्टाइल हुने क्रम बढेको भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँछन् ।
नेसनल ल कलेजका संस्थापक प्रिन्सपल रहेका तिमल्सिना भन्छन्, ‘कुनै पनि मुद्दामा कसैले मुद्दा हाल्छन्, म पीडित वा बलात्कृत भएँ भन्छ, बेचबिखनमा परे भन्छ र उजुर हाल्छ । तर पछि अदालतमा गएर बयान गर्ने क्रममा त्यस्तो भएको होइन भन्छ भने त्यसलाई होस्टाइल भएको भनेर बुझ्ने हो ।’
‘पहिले होस्टाइल किन हुन्छ भनेर बुझ्नुपर्छ । होस्टाइल दुई किसिमको हुन्छ ।
एउटा होस्टाइल पहिले उजुर दिने बेलामा कसैको दबाब वा प्रभावमा थियो तर पछि साँचो कुरा भन्ने भयो भने पनि त्यो होस्टाइल भयो ।
फोटो : रामकृष्ण तिमल्सिना
अर्को पहिले साँचो कुरा लिएर उजुर गर्न जान्छ, तर पछि विभिन्न कारणले जस्तै आर्थिक, सामाजिक, राजनीतिक तथा दबाब अभाव र प्रभावको कारणले गर्दा अभियुक्तउपर फियर साइकोसिसको अर्थात् डरको कारणले बयान फेर्ने पनि हुन्छ । त्यसकारण उसले अभियुक्त शक्तिशाली छ र पछि आफूलाई अप्ठ्यारोमा पार्छ भन्ने लागेमा उसले बयान फेर्न सक्छ ।
अर्को लोभको कारणले पनि साक्षी वा पीडितले आफ्नो बयान फेर्न सक्छन् । कोही व्यक्ति बलात्कारमा पर्यो र पहिले उजुरी दियो तर पछि पीडकपक्षले राम्रो आर्थिक व्यवस्था गरिदिने भयो भने बयान फेरिएको देखिन्छ । कुनै महिलालाई कुनै व्यक्तिले बेच्यो, तर पछि आर्थिक लोभ देखायो भने पनि बयान फेरिएको छ । कोही पीडक ज्यादै शक्तिशाली छ, उसको विरुद्धमा बयान दिँदा पछि आफ्नो जिउ ज्यानकै खतरा हुनसक्छ भन्ने लागेमा वा देखिएमा पनि त्यस्ता व्यक्तिले बयान फेर्ने गरेका छन् । यसरी पीडित वा साक्षी होस्टाइल भइदिँदा अदालतलाई न्याय सम्पादनमा ज्यादै असर गर्छ ।
यसरी अदालतमा पीडित वा साक्षी होस्टाइल भएपछि दुईवटा कुरा हुनसक्छ । पहिलो साक्षी वा पीडित होस्टाइल भए पनि प्राप्त प्रमाणबाट अपराध भएको वा कसुरदार देखिएको खण्डमा सजायको फैसला भएको नजिरहरु पनि छन् र अदालतले पीडितको पक्षमा फैसला गरिदिन सक्छ ।
दोस्रो होस्टाइल हुने व्यक्तिले नियतवश वा लाभ लिएर होस्टाइल भएको देखिएमा होस्टाइल हुने व्यक्तिलाई पनि सजाय दिने व्यवस्था पनि छ र त्यस्तो भएको पनि छ ।
आखिर कुरा जे जे भए पनि साक्षी र पीडित होस्टाइल हुने भनेको कुरा न्यायका लागि घातक हो ।’
पीडित वा साक्षीलाई होस्टाइल हुनबाट कसरी रोक्न सकिन्छ त भन्ने रातोपाटीको प्रश्नमा उनी भन्छन्, ‘राज्यले पीडित वा साक्षीलाई सुरक्षा र क्षतिपूर्ति दिने व्यवस्था नभएसम्म यो क्रममा कमी आउन सक्दैन । पूरै होस्टाइल नै बन्द हुने भन्ने कुरा त रहँदैन, तर यदि राज्यले साक्षी र पीडितको सुरक्षा गर्ने र पीडित वा उसको परिवारलाई राम्रो क्षतिपूर्तिको व्यवस्था कार्यान्वयन गर्ने हो भने यसमा केही कमी आउन सक्छ ।’
उनी अगाडि थप्छन्, ‘कोही मान्छे शक्तिशाली छ । उसको विरुद्ध बोल्दा भोलि समाजबाटै तिरस्कृत हुनुपर्ने, आर्थिक अवस्था कमजोर हुने र समाजबाटै विस्थापित हुने अवस्था आउँछ भने उसले बयान फेर्न सक्छ ।
दोस्रो कोही मान्छेको आर्थिक हैसियत ज्यादै कमजोर छ । यदि उसले आरोपीविरुद्ध बयान दिएन र उसलाई राम्रो आर्थिक लाभ हुने भएमा पनि उसले बयान फेर्न सक्छ । मर्ने मरेर गयो वा नहुनु घटना भइहाल्यो, कसैलाई थुनेर आफूलाई केही फाइदा छैन बरु पीडकबाटै क्षतिपूर्ति लिन्छु भनेर त्यस्तो गरेमा पनि होस्टाइल हुने सम्भावना बढी नै रहन्छ ।
त्यसपछि बलात्कारको केसमा सामाजिक मूल्य र मान्यता, इज्जत र प्रतिष्ठा आदि कारणले होस्टाइल हुने समभावना हुन्छ । त्यस्तै अन्य कुरामा पारिवारिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक लगायतका कारणले पनि यस्तो हुने गरेको छ । त्यसका लागि मुख्य दुई कुरो पीडित र साक्षीको सुरक्षा तथा क्षतिपूर्तिको व्यवस्था गर्नु नै यसलाई रोक्ने सबैभन्दा ठूलो हतियार हो ।’
त्यसो त सरकारले पीडित वा साक्षीको सुरक्षा र पीडितलाई क्षतिपूर्तिका लागि कानुनी व्यवस्था नगरेको होइन । तर पनि यो प्रभावकारी कार्यान्वयनमा आउन सकेको छैन । त्यसबाहेक साक्षी वा पीडितले प्रतिकूल हुनेगरी बयान दिएमा वा होस्टाइल भएमा त्यस्ता साक्षी वा व्यक्तिलाई सजाय सुनाउने कानुनी व्यवस्था समेत छ ।
बयान फेरे ३ महिना कैदसमेत हुनसक्छ
मुलुकी फौजदारी कार्याविधि संहिता २०७४ ले पछि बयान फेरेमा त्यस्तो व्यक्तिलाई समेत सजाय हुनसक्ने कुरा उल्लेख गरेको छ । संहिताको दफा ४४ र त्यसको उपदफा २ मा यस्तो लेखिएको छ ।
पोल उजुर गरेबापत सजाय नहुनेः (१) अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ अन्तर्गतका कसुरसम्बन्धी मुद्दामा पोल वा उजुर गरेबापत कुनै सजाय हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफू साक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सबुत प्रमाण देखाई पोल वा उजुर गरेकोमा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुत वा प्रमाण झुठ्ठा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको बकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी देहाय बमोजिम गर्न सक्नेछः–
सजाय खण्डमा दफा ४४ को उपदफा २ को क मा यदि त्यसरी बयान फेरेमा हुने सजायबारे उल्लेख गर्दै ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कुरा उल्लेख गरेको छ ।
(क) झुठ्ठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न,
तर त्यसरी सजाय गर्दा कसुरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिवाना गर्न सकिने छैन ।
(ख) झुठ्ठो कुरा लेखिदिने वा बनावटी प्रमाण पेस गर्ने काम वा पोल वा उजुर गर्नुपर्ने मनासिब माफिकको कारण नभई साक्षीले व्यक्तिगत रिसइबीले वा कुनै प्रलोभनमा परी गरेको भन्ने अदालतलाई लागेमा सफाइ पाउने प्रतिवादीलाई मुद्दाको प्रकृति र अवस्था विचार गरी त्यस्तो साक्षीबाट मनासिब क्षतिपूर्ति त्यसै मुद्दाबाट भराई दिन ।