शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौराहामा ७१ देशका संरक्षणकर्मी

बुधबार, २७ कात्तिक २०७६, १५ : १५
बुधबार, २७ कात्तिक २०७६

–नारायण अधिकारी
चितवन– भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । 

यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको बताए ।

आज बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उनले जानकारी दिए  । सबैभन्दा बढी अष्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षण कर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरुमार्फत राम्रो सन्देश जाने छ । उनीहरुको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारौं जनतालाई यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।

भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताए  । नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उनले वास्तविक यहाँको रमाईलोपन ७१ देशका प्रतिनिधिले एकै साथ पाएका उनको भनाइ छ । 

यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढाउन सकिने डल्लाकोटीले बताए । सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताए ।

सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदै छ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदै छ । उनीहरुमार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संसारभर एकै पटक यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश पुग्न लागेको बताए  । आफूले कार्यक्रमको उद्घाटन सत्रमा सबैलाई स्वागत गर्दै आ–आफ्ना देशवासीलाई भ्रमण वर्षको सन्देश पु¥याउन आग्रह गरेको उनले जानकारी दिए । उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश फर्किएर आफन्त र साथीभाइलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन आग्रह समेत गरेका थिए । 

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीले आफ्ना देशमा सामाजिक सञ्जालमार्फत अरुलाई जानकारी दिने हुनाले बिना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताए । यससँगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा छ । 

वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरुमार्फत यहाँको महत्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । यहाँ आएका संरक्षणकर्मीले दुर्लभ एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरुका लागि अध्ययन र अवलोकन गर्न निकै महत्वपूर्ण सावित हुने छन् । 

निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्वपूर्ण हुने गर्दछ । मङ्गलबारबाट शुरु भएको रेन्जर सम्मेलन पाँच दिनसम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेशनले कार्यक्रमको आयोजना गरेको हो । एसियामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप