बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : सप्तरीमा राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

बुधबार, २७ कात्तिक २०७६, १४ : ३७
बुधबार, २७ कात्तिक २०७६

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को  वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । आगामी  मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।

राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्रअनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव  मण्डलले बताए । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले  जनाएको  छ । उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप