शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिपरको ठक्करबाट विद्यार्थीको मृत्युपछि विद्यालयमा सचेतना कक्षा दिँदै हाछेथु

स्यवम्सेवक बनेर आफैँ खटिँदैछन्
बुधबार, २७ कात्तिक २०७६, १३ : ४७
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । अभिभावकका लागि आफ्नो सन्तान नै सबैभन्दा ठूलो सम्पत्ति हुन्छ । छोराछोरी बिग्रिएको अवस्थामा आमाबाबुका लागि करोडौंको धनसम्पत्ति बेकार बनिदिन्छ, छोराछोरीहरु समाजमा योग्य, दक्ष भइदिए भने तिनका आमाबाबु आफूलाई धनवान महसुस गर्दछन् ।

आफ्ना अमूल्य सम्पत्ति अर्थात् छोराछोरीको सुरक्षाका लागि कत्तिको सचेत हुनुहुन्छ ? खासगरी काठमाडौँ उपत्यकाजस्तो सवारी साधनहरुको घुइँचोमा सडकको यात्रा कम जोखिमपूर्ण छैन । बिहान निस्किएको मानिस बेलुका सकुशल घर आउने हो या होइन भन्ने अवस्थामा स्कुल, कलेज गएका छोराछोरीको सुरक्षामा थोरैमात्र अभिभावकले ध्यान दिएका हुन्छन् । धेरैजसोका लागि यो चासोका विषय नबनेको हुन सक्छ । ट्राफिक प्रहरी सेवामा २९ वर्ष बिताएर अवकाश लिएका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथु भने बालबालिकाका लागि जीवनको सबैभन्दा महत्त्वपूर्ण विषय नै ट्राफिक शिक्षा रहेको बताउँछन् ।

त्यसो त, लामो सरकारी सेवापछि अवकाश पाउँदा मानिस आफ्नो घर–परिवारसँग बस्ने, व्यावसायिक धन्दा गर्ने गर्दछन् । आफ्नै छोरा दुर्घटनाको शिकार भएको परिस्थितिका भुक्तभोगी हाछेथु भने कसैका छोराछोरी ट्राफिक चेतनाको अभावमा दुर्घटनाको शिकार हुन नपरोस् भनेर अवकाशपछि पनि चेतना जगाउने सामाजिक कार्यमा खटिरहेका छन् । पछिल्लो समय ट्राफिक व्यवस्थापन विज्ञका रुपमा स्वयम्सेवी भूमिका निर्वाह गर्दै आएका उनी ट्राफिक जनचेतना फैलाउन उपत्यकाका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।

बोलाएको ठाउँमा पुगेर शिक्षा दिन्छु

बालबालिकाको शिक्षाका लागि अभिभावकले मासिक हजारौँ रकम खर्चिन्छन् । विद्यालयले पनि मासिक हजारौं रकम लिएर बालबालिकालाई पाठ्यक्रम अन्तर्गतको शिक्षा दिँदै आएका छन् । यस अतिरिक्त विद्यालयहरुले खेलकुद, गीत–संगीत लगायतका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आए पनि ट्राफिक शिक्षा भने हालसम्म विद्यालय र अभिभावक दुवैको प्राथमिकतामा पर्न सकेको छैन ।

आफ्ना विद्यार्थी दुर्घटनामा परेपछि भने विद्यालयहरुले ट्राफिक शिक्षाका लागि हाछेथुजस्ता विज्ञलाई ट्राफिक शिक्षाका लागि बोलाउने गरेका छन् । ‘आफ्नै विद्यालयका विद्यार्थी दुर्घटनामा परे भने वा विद्यालय छेउछाउ दुर्घटना भयो भने विद्यालयहरुले ट्राफिक शिक्षाका लागि बोलाउँछन्,’ रातोपाटीसँग कुरा गर्दै हाछेथुले भने, ‘बोलाएको ठाउँमा गएर दुई घण्टा ट्राफिक शिक्षा दिने गरेको छु ।’

भक्तपुर, कमलविनायकस्थित बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी विमल कटुबजुको मङ्गलबार बनेपामा दुर्घटनामा परी मृत्यु भयो । विद्यालय पोशाकमै मोटरसाइकल लिएर बनेपा पुगेका उनलाई टिपरले ठक्कर दिएको थियो ।

बुधबार हाछेथुलाई उक्त विद्यालयका शिक्षकले फोन गरेर बोलाए । विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिनका लागि हाछेथुलाई बोलाइएको थियो । विद्यालय पुगेर उनले दुई घण्टा ट्राफिक चेतनासम्बन्धी कक्षा लिए । यस क्रममा उनले दुर्घटना हुन सक्ने परिस्थिति, दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा विद्यार्थीहरुलाई ज्ञान दिए । उनले भिडियोमार्फत दुर्घटनाका दृष्यहरुसमेत देखाउँदै कस्ता कारणले दुर्घटना भएका हुन् भन्ने आधारभूत जानकारीसमेत दिए ।

यसअघि मङ्गलबार उनले भक्तपुरस्थित ख्वप प्राविधिक शिक्षालयका स्टाफ नर्सलाई समेत यस्तै किसिमको जानकारी दिएका थिए । त्यहाँ पनि उनले दुई घण्टा ट्राफिक सचेतनासम्बन्धी कक्षामा आधारभूत ज्ञान दिए । बिरामीको उपचारमा महत्त्वपूर्ण भूमिका रहने नर्सलाई दुर्घटनाको प्रकृति, कस्तो दुर्घटनाबाट शरीरको कुन ठाउँमा बढी चोटपटक लाग्न सक्छ र दुर्घटनाका प्रकृतिअनुसार घाइतेको अवस्था कस्तो हुन सक्छ भन्ने खालको जानकारी हुन जरुरी रहेको हाछेथु बताउँछन् । ‘यस्तो आधारभूत जानकारीको अभावमा नर्सहरु अलमलिन सक्छन्, घाइतेको अवस्था बुझ्न नै उनीहरुलाई समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले दुर्घटनाका बिरामी बढी आउने स्वास्थ्यसंस्थाका चिकित्सक र नर्सलाई यस्ता आधारभूत ज्ञान दिन जरुरी हुन्छ ।’

आफ्नो गल्तीले मात्र दुर्घटना हुँदैन

सडकमा आफ्नो पोजिसन सही छ भन्दैमा चालक ढुक्क हुन नहुने हाछेथु बताउँछन् । ‘तपाईं ठीक पोजिसनमा सही ढङ्गले सवारी चलाइरहनु भएको छ,’ उनले भने, ‘तर अर्कोले गल्ती गरेमा हुन सक्ने दुर्घटनाको शिकार तपाईं पनि बन्न सक्नु हुन्छ, त्यसैले सधैँ सावधान रहनुपर्छ ।’

सडकमा निस्किएपछि कसैले पनि लापरवाही गर्न नहुनेमा उनले जोड दिए । खासगरी विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने, ‘यति मेहनत गरेर पढ्नुहुन्छ, परीक्षामा कुनै विषयमा तपाई कमजोर हुनुभयो भने त्यो विषयको ट्युसन पढेर पढाइ सुधार गर्न सक्नु हुन्छ, तर सडकमा सवारी चलाउँदा तपाई फेल हुनु भयो भने तपाईसँग गल्ती सुधार्ने ट्युसनको विकल्प रहँदैन, त्यतिन्जेल अंगभंग वा मृत्युसमेत भइसकेको हुन सक्छ ।’

ट्राफिक शिक्षा आवश्यक

उनले काठमाडौं उपत्यकामा एक से एक उत्कृष्ट विद्यालय रहे पनि कुनै पनि विद्यालयले ट्राफिक शिक्षाको व्यवस्था नगरेको बताए । ‘कुनै पनि स्कुलमा ट्राफिक शिक्षक छैनन्,’ उनले भने, ‘खेलकुद, गीत–संगीतका लागि शिक्षक राख्छन् तर ट्राफिक शिक्षाका शिक्षक राखेका छैनन् ।’

ट्राफिक शिक्षाले युवा जनशक्तिलाई सडकमा आफू कसरी सुरक्षित हुने र अरुलाई कसरी सुरक्षित तुल्याउने भन्ने महत्त्वपूर्ण ज्ञान दिने उनको भनाइ छ । ‘यस्तो महत्वपूर्ण विषय, मानिसको जीवनसँग जोडिएको विषयमा विद्यालयले समयमै आफ्ना विद्यार्थीलाई शिक्षित तुल्याउनु पर्छ,’ उनले भने, ‘बेलैमा ट्राफिक शिक्षा पाएको खण्डमा कयौँ विद्यार्थी दुर्घटनाको जोखिमबाट जोगिन र अरुलाई पनि दुर्घटनाको जोखिमबाट बचाउन सक्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप