मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–बुटवल सडक: रूख काट्ने विवादले विस्तारमा अवरोध

बुधबार, २७ कात्तिक २०७६, ०६ : ५८
बुधबार, २७ कात्तिक २०७६

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन ।

सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते सो सडकखण्ड विस्तारका लागि शिलान्यास गरेका थिए ।

सडक विभागले यसअघि नै वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरणमा स्वीकृतिका लागि पठाइसकेको छ भने रूख काट्ने अनुमति माग गरे पनि स्वीकृति प्राप्त गर्न सकेको छैन ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा। सिन्धुप्रसाद ढुङ्गानाले सो सडक विस्तार आयोजनामा सडक विभागले पेस गरेको रूख सङ्ख्या र रूखको वास्तविक सङ्ख्यामा पाँच गुणासम्म फरक परेका कारण ‘ईआईए’ प्रतिवेदन र रूख कटान स्वीकृतिबारे ढिलाइ भएको स्पष्ट पारे ।

उनका अनुसार विभागले रूखको सङ्ख्या करिब १० हजार हुने जनाएको छ भने वास्तविक रूखको सङ्ख्या करिब ५० हजार छ । विभागले प्रस्तुत गरेको ‘ईआईए’का आधारमा भोगाधिकार तथा रूख कटानको अनुमति दिन नसक्ने स्पष्ट पार्दै उनले पूरक ‘ईआईए’ गर्नुको विकल्प नरहेको जानकारी दिए ।

प्रवक्ता ढुङ्गानाले भने, “वास्तविक रूखको सङ्ख्यासहित ‘अपडेटेड’ वातावरणीय प्रभाव मूल्याङ्कन मन्त्रालयमा प्राप्त भइसकेपछि मन्त्रालयले रूख काट्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेछ । मन्त्रिपरिषद्को स्वीकृतिपछि मन्त्रालयले सो प्रतिवेदन वन विभागमा पठाउने छ । त्यसपछि वन विभाग र सडक विभागबीच सम्झौतापछि रूख कटानको काम अगाडि बढ्न सक्छ । ”

कुनै पनि आयोजनाको प्रक्रिया पूरा गरी आएको ‘ईआईए’ स्वीकृति रोक्ने वा रूख कटानको अनुमतिमा ढिलाइ गर्ने काम मन्त्रालयबाट नभएको स्पष्ट पार्दै उनले प्रक्रिया पुगेको अवस्थामा बढीमा ७५ दिनभित्र मन्त्रालयबाट ‘ईआईए’ स्वीकृति हुने गरेको बताए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप