बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनजीओको कार्यक्रममा सांसदले गरे देशकै बेइज्जत : ट्याक्सी भाडा पाइएन, अमेरिका घुमाइदिनु पर्‍यो

सांसदलाई जवाफ : झोलाभरी पैसाले मात्र काम हुँदैन
मङ्गलबार, २६ कात्तिक २०७६, १८ : ४१
मङ्गलबार, २६ कात्तिक २०७६

ललितपुर । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुको जमघट थियो । सो कार्यक्रम संघीय संसद सचिवालय वा सरकारी निकायले गरेको नभइ एक अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको थियो । 

सो कार्यक्रममा अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथ, काँग्रेसी अनुसन्धान सेवा, परराष्ट्र मामिला, रक्षा तथा व्यापार महाशाखा र परराष्ट्र नीति पूर्व विशेषज्ञ सुसन एप्सिटन, प्रतिनिधि स्कट नेमेथ लगायतको टोलीले अमेरिकी संसदको अनुभव सुनाएका थिए । 

उनीहरुले संसदको स्वरुप, काम गर्ने पद्धति, संसदले गर्ने अनुसन्धान प्रणालीबारे अनुभव र प्रस्तुतिकरण राखेपछि नेपालका सांसदहरुलाई त्यसबारे थप जिज्ञासा राख्न आग्रह गरेका थिए । 

सांसद राधेश्याम अधिकारीले अमेरिकी संसदमा गरिने अनुसन्धन प्रक्रियाको बारेमा जिज्ञासा राखेका थिए भने अन्य सांसदहरुले अमेरिकी संसदीय अभ्यास प्रक्रिया भन्दा पनि आफ्नै गुनासाका पोका फुकाए । 

अमेरिका देख्न पाएको छैन देखि ट्याक्सी भाडा नपाएको सम्मका गुनासा
कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो, ‘हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । कुनै कार्यक्रमा जानुप¥यो भने ट्याक्सी खर्च पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?’  

त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएका कारण संसदमा प्रश्न सोध्न समेत नपाएको गुनासो पोखे । 

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र काम गर्न खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जाननै सक्दैनौँ, जिल्ला जानको लागि खर्च नै हुँदैन । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर यो खबर सुनाइदिनुपर्यो ।’ 

त्यस्तै सत्तारुढ दलबाट राष्ट्रियसभा सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्–‘हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन, मैले त अमेरिका पनि देख्न पाएकी छैन । तपाईँहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’ 

राजपा सांसद अमृता अग्रहरीले ठूला दलले देश र जनताको समस्या नहेरी मनपरी ढंगले काम गरिहेको भन्दै अमेरिकामा पनि त्यस्तो हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन् । उनले संविधान र कानून कार्यान्वयन नगर्दा जनता निराश अवस्थामा रहेको बताउँदै भनिन्–‘देशको संविधान एकातिर, देशको कानून एकातिर कार्यान्वयन पक्ष एकातिर भइरहेको छ, तपाईँको देशमा यस्तो छ भने जान्न चाहन्छौँ, यदी छैन भने त्यति टाढाबाट आएर हामीलाई एक्सरसाइज गरिरहनु भएको छ, भने जो यो देशको पावर चलाइरहेको छ उनीहरुलाई सल्लाह दिनुस् ।’

कार्यक्रममा पूर्वरक्षामन्त्री एवम् नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले सो एनजीओ आइआरआईले संसदमा अनुसन्धानको कामका लागि सहयोग गर्छ कि गर्दैन भनेर जिज्ञासा राखेका थिए । उनको जवाफका संस्थाका प्रतिनिधिले काठमाडौं विश्वविद्यायसँग मिलेर यससम्बन्धी काम गर्न लागेको जानकारी दिए । 

सांसदलाई जवाफ : झोलाभरी पैसाले मात्र काम हुँदैन 


सांसदहरुको कुरा सुनेपछि ब्राड स्मिथले नेपाली सांसदले आफूलाई समस्या परेका कुरा आफ्नो माथिल्लो निकायमा आफै भन्न सुझाव दिए ।

उनले भने, ‘आफैले माग्नुभएन भने केही पाउनुहुन्न, त्यसैले आफै माग्नुपर्छ । श्रोतसाधन भन्दापनि इच्छाशक्तिले काम गर्न सक्नुहुन्छ । झोलाभरी पैसा भएपनि इच्छा भएन भने केही हुँदैन । त्यसैले संसदले गर्नुपर्ने मख्य काम निगरानीलाई जोड दिनुपर्छ ।’ उनले सांसदको महत्त्वपूर्ण काम भनेको नै निगरानी भएकाले त्यसतर्फ लाग्न सुझाव दिए । 

नेकपा सांसद धर्मशिला चापागाई भने सांसदहरुले अभिव्यक्त गरेको कुराले आफ्नै बेइज्जत भएको भन्दै चिन्ता व्यक्त गरिरहेकी थिइन् । उनले कार्यक्रममा उपस्थित केही पत्रकारहरुलाई यो विषय समाचारमा गयो भने हाम्रो आफ्नै वेइज्जत हुन्छ भन्दै समाचार नलेखिदिन आग्रह गरिरहेकी थिइन् । 

कार्यक्रममा सहभागी भएका ३ जना सांसद भने कार्यक्रम सुरु भएको केही समयपछि बाहिरिएका थिए । राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी, रामनारायण विडारी र खगेन्द्र पुरी समितिको बैठकमा भाग लिन गएका थिए । सांसद रामनारायण विडारीले भने–‘संसदको कार्यक्रम छोडेर एनजीओको कार्यक्रममा सहभागी हुने चलन छैन । समितिमा इन्जिनियरिङ काउन्सिल विधेयकमाथि छलफल थियो, त्यसमा सहभागी हुन निस्कियौँ ।’

के जथाभावी बोल्ने सांसदलाई कारवाही हुन्छ ? 
अमेरिकी गैरसरकारी संस्थाले गरेको अनुभव आदानप्रदान गर्ने अन्तर्क्रिया कार्यक्रममा सांसदहरुले आफ्नो सरकारले काम गर्न पैसा नदिएको, कानुन र संविधान कार्यान्वयन नगरेको, आफूले अमेरिका देख्न नपाएको जस्ता गुनासो पोख्न मिल्छ ? सांसदहरुले कस्तो कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारेमा हेक्का नराख्दा यस्ता समस्या आउने गरेको राष्ट्रिय सभा अन्र्तगतको एक समितिका सभापति समेत रहेको सांसद रामनारायण विडारी बताउँछन् । 

सांसद बिडारीले आफू पनि सो कार्यक्रममा सहभागी भएपनि आफूले एक शब्द नबोली फर्किएको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई पनि त्यो अन्तर्क्रिया कार्यक्रममा बोलाइएको थियो । आइआरआई भन्ने अमेरिकन एनजीओ हो । मैले त्यहाँ एक शब्द नबोली फर्किएँ । उनीहरु एउटा मिसनमा आएका हुन् । त्यो प्रश्न सोध्ने तर आफ्नो गुनासो सुनाउने ठाँउ हैन ।’
सांसदहरुले कहाँ के बोल्ने भन्ने छुट्टै आचारसंसहता नभएपनि राजनीतिक पार्टीको संसदीय दलको छुट्टाछुट्टै आचारसंहिता भएकाले सो अनुसार कारवाही हुने व्यवस्था छ । अझ विदेशी समक्ष संविधान र व्यवस्थाको विरुद्ध बोल्नु राज्य विरोधी काम हुन्छ । 

सांसद विडारीले सांसदहरुले विदेशी संस्थाको कार्यक्रममा आफ्ना आन्तरिक समस्या देखाउनुभन्दा पनि उनीहरुको बारेमा धेरै सोध्नुपर्ने बताए । 

उनले भने, ‘सांसदहरुले एनजीओको कार्यक्रममा गएर म यस्तो काम गर्छु, यस्तो कानून बनाउँछु भन्नु कानुन विपरित हुन्छ । अझ विदेशीको कार्यक्रममा गएर त भन्नै हुँदैन । बरु तिमीहरुकोमा संसदीय सुनुवाइको व्यवस्था कस्तो छ, महाअभियोगको व्यवस्था कस्तो छ भनेर सोध्नुपथ्र्यो ।’

त्यस्ता कार्यक्रममा गुनासो सुनाएर आफ्नै बेइज्जत गर्ने भन्दापनि सैद्धान्तिक कुरा गर्नुपर्ने उनको तर्क छ । ५० बढी सांसदहरु भएको कार्यक्रममा उनीहरुलाई सहजीकरण गर्न संसद सचिवालयका कुनै कर्मचारी नभएको भन्दै केही सांसद गुनासो समेत गर्दै थिए । कार्यक्रम आयोजक प्रतिनिधिलाई संघीय संसद सचिवालयले सोमबार रात्रीभोजको आयोजना समेत गरेको थियो । 

हेर्नुहोस् भिडियो  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप