शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हिरासतमा रहेका रुप ज्योतिलाई छुटाउन व्यवसायीको दौडधूप

मङ्गलबार, २६ कात्तिक २०७६, १७ : ५६
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । २ करोड ३६ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेको व्यवसायी रुप ज्योतिलाई छुटाउन अन्य व्यवसायीले दौडधूप सुरु गरेका छन् । 

गत बिहीबार त्रिभुवन विमानस्थालबाट पक्राउ परेका ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई आइतबार प्रहरीले थप ५ दिन थुनामा राख्न अदालतबाट अनुमति लिएपछि उनलाई छुटाउन व्यावसायीहरु लागि परेका हुन् । 

अदालतमा ठगीको मुद्दा विचाराधीन रहेकै अवस्थामा प्रहरीले थप ५ दिन थुनामा राख्न अदालतबाट अनुमति लिएपछि सोमबारमात्रै नाडाले विज्ञप्ति जारी गर्दै पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको थियो । 

नाडाले विज्ञप्ति जारी गर्दै देवानी दायित्व अन्तर्गत आर्थिक कारोबारको दायित्वबारे छलफल गर्नुपर्नेमा गम्भीर प्रकृतिको कसुरमा मुद्दा चलाएको भन्दै आपत्ति प्रकट गरेको थियो । 

आइतबार पनि नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति निकालेर पक्राउको विरोध गरेको थियो । त्यसलगत्तै महासंघको पदाधिकारी टोली पूर्व मन्त्रीसमेत रहेका रुप ज्योतिलाई भेट्न महानगरीय प्रहरी परिसर दरबारमार्गमा पुगेका थिए । 

प्रहरी हिरासतमा रहेका व्यावसायी रुप ज्योतिलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघको टोलीले साधारण तारेखमा राखेर अनुसन्धान गर्नुपर्ने मुद्दामा पनि हिरासतमा राखिएको भन्दै यसले व्यवसायीलाई हतोत्सायी बनाएको उनीहरुको गुनासो थियो । 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै महासंघको टोलीले पक्राउप्रति आपत्ति जनाएको थियो । प्रधानमन्त्रीलाई भेट गरी रुप ज्योतिलाई साधारण तारेखमा छाड्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका थिए ।

प्रहरीले बिहीबारसम्मको लागि अदालतबाट म्याथ थप गरी अनुसन्धानका लागि ज्योतिलाई हिरासतमा राखेको छ ।

२०७१ सालमा घर र जग्गा दिन्छु भनी विज्ञेन्द्रकृष्ण मल्लसँग १ करोड ३६ लाख ७५ हजार रुपैयाँ लिएको ज्योति ग्रुपको ल्याण्डमार्क डेभलपर्सले जग्गा र घर नदिई साँवा रकम मात्रै फिर्ता गर्न लागेपछि उनीविरुद्ध ठगीको मुद्दा लागेको थियो । त्यही मुद्दाका आधारमा ज्योति पक्राउ परेका हुन् ।

ज्योतिले यसअघि नै अदालतमा १ करोड ३६ लाख ७५ हजार रुपैयाँ धरौटी राखिसकेका छन् । तर विज्ञेन्द्रकृष्णले उक्त जग्गा र घर नै चाहिने वा उक्त जग्गा र घरको हालको मूल्यांकन गरी रकम फिर्ता दिन भनेपछि विवाद बढेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप