शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह नगरी आमा बनेकी एक युवतीको कहानी

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : २६
मङ्गलबार, २६ कात्तिक २०७६

मेरा लागि आफ्नी छोरीलाई भेट्नु कुनै सेलिब्रिटीलाई भेटे सरह थियो । लामो समयदेखि उसलाई भेट्नेबारे सोचिरहेकी थिएँ । उसलाई म निकै अघिदेखि चिन्दछु, उसलाई भेटेपछि यस्तो लाग्यो ।

मैले उसको आँखामा पनि हेरेकी थिइनँ तर मेरो उनीसँग प्रेम बसिसकेको थियो । त्यतिबेला मलाई यत्ति मात्र थाहा थियो कि म उसको सुरक्षाका लागि हर सम्भव कोसिस गर्नेछु । यद्यपि, मैले यी सब आफ्ना लागि कसरी गर्नेछु, त्यतिबेला मलाई केही पनि थाहा थिएन ।

सन् २०१८ को शरद ऋतुमा आफू गर्भवती भएको थाहा पाएँ । म र मेरा प्रेमी अचम्ममा थियौं र यो हाम्रो लागि कुनै झट्काभन्दा कम थिएन ।

तर अर्को पनि समस्या थियो । म पछिल्लो दुई वर्षदेखि मानसिक रोगबाट ग्रस्त थिएँ ।

गर्भधारणबारे थाहा पाएपछि जब म र मेरा प्रेमी थोरै सम्हालियौं तब हामीले बच्चा जन्माउने निर्णय गर्‍यौं । यद्यपि, त्यतिबेला हामीले आमा–बुवा बन्नेबारे केही पनि सोचेका थिएनौं । हामी दुईलाई बच्चासँग प्रेम थियो र हामी एउटा परिवार बनाउन चाहन्थ्यौं ।

त्यसकारण थोरै डर, उत्सुकता र असहजतासहित मैले आमा बन्ने यात्रा सुरु गरेँ ।

बोर्डरलाइन पर्सनालिटी डिसअर्डरः

एक वर्षअघि २६ वर्षको उमेरमा मलाई आफ्नो रोग बोर्डरलाइन पर्सनालिटी डिसअर्डर (बिपिडी) बारे थाहा भयो । यसलाई इमोशनल अनस्टेबल पर्सनालिटी डिसअर्डर (भावनात्मक रुपमा अस्थिर व्यक्तित्व विकार) पनि भनिन्छ ।

बिपिडी धेरैजसो नकारात्मक सोच, आवेगपूर्ण व्यवहार र अरु व्यक्तिसँग भावुक तर अस्थिर सम्बन्धसँग सम्बन्धित हुन्छ । सन् २०१४ को एक सर्वेक्षण अनुसार ब्रिटेनका दुई प्रतिशत व्यक्ति यसबाट प्रभावित छन् ।

बाहिरबाट हेर्दा म निकै शान्त देखिन्छु तर मेरो दिमागको कुनै हिस्सामा भावनात्मक लडाईं चलिरहेको हुन्छ ।

मेरो जीवनमा जब राम्रो र सकारात्मक हुन्छ (जस्तैः सही केटा भेट्नु वा आफूले चाहेको जागिर पाउनु) तब मैले नकारात्मक सोच्न थालिहाल्छु (जस्तै कि म यसको लायक छैन वा यो सबै कुरा खासै राम्रा पनि होइनन्, आफूलाई मूर्ख नबनाउ) ।

जुन वर्ष मलाई बिपिडीबारे थाहा भयो, त्यसै वर्ष ममाथि यौन शोषण पनि भयो । म १५ वर्षको उमेरदेखि आफैंलाई क्षती पुर्‍याउँदै आएकी छु झन् यौन शोषणपछि त मैले आफूले आफैंलाई टोक्न र पोल्न थालेँ ।

मैले त्यो खराब यादलाई बिर्सनलाई क्याजुअल सेक्स गरेँ, अत्यधिक रक्सी पिउन सुरु गरेँ तर कुनै प्रोफेशनलको मद्दत लिन अस्विकार गरिरहेँ ।

Photo: BBC THREE

उतार चढावयुक्त अनुभवः

मेरो शरीर मेरो लज्जालाई बाहिर निकाल्नका लागि एउटा क्यानभास बन्यो । त्यसैले यो शरीरले एउटा ज्यानलाई जन्म दिँदैछ भनेर थाहा पाउनु नै मेरा लागि झट्का बराबर थियो ।

जब मैले पहिलो पटक आफ्ना प्रेमीलाई भेटेँ, उनीसँग आफूले पुरुषलाई घृणा गर्ने भन्दै ठट्टा गर्थेँ । यस्ता कुरालाई ठट्टाको रुप दिएर मैले आफूलाई सम्हाल्ने कोसिस गर्दथेँ ।

आखिर मेरो पुरुषप्रतिको यस्तो धारणा किन छ भनेर उनले मलाई एकदिन सोधिहाले । यो सुन्ने बित्तिकै मभित्रैबाट टुटेँ र मैले उनलाई आफूमाथि भएको सम्पूर्ण घटनाबारे जानकारी दिएँ । मलाई थाहा थियो कि म उनीमाथि विश्वास गर्न सक्छु र मलाई निकै गज्जबको महसुस भइरहेको थियो ।

जतिजति मेरो गर्भावस्था अघि बढ्यो, मलाई वास्तविक उतार चढाव महसुस भयो । कतिपटक म अत्यधिक खुसी भएँ । मेरा प्रेमीले मलाई असाध्यै प्रेम गरे र मेरो अत्यधिक केयर गरे । उनले मेरो परिवर्तन भइरहने मुडसँग तालमेल मिलाए । तर, कतिपटक म भित्रैदेखि डग्मगाएँ ।

मलाई एक सहकर्मीले भनेको कुराले भित्रैदेखि हल्लायो । उनले खासै ठूलो कुरा केही पनि भनेकी थिइनन् मात्र मेरो पेट सानो छ मात्र भनेकी थिइन् । यो सुनेर म बाथरुम गएर रुन थालेँ ।

के मेरो शरीरले मेरो बच्चालाई सुरक्षित राख्न सकेन ? के यो खराब आमाको निशानी हो ? मैले यस्तै यस्तै सोच्न थालेँ ।

सुन्दा अचम्म लाग्ला तर मेरो दिमागले सामान्य तरिकाले सोच्न सक्दैनँ ।

म यही कुरामा फसेँ र मानिसहरुलाई ममाथि के भइरहेको छ, त्यो बताउन थालेँ । मैले जोशिली, उत्साहित र खुसी आमा बन्ने सोचेकी थिएँ, आफूले सोचेजस्तो हुन नसक्दा मलाई लाज लाग्न थाल्यो ।

लगभग ६ महिनापछि मेरो स्थिती थप खराब हुन थाल्यो । मिडवाइफसँग हुँदा कि त म निस्सासिएको महसुस गर्थेँ कि आफ्नो सबै चिन्ताबाट मुक्त भएको ठान्थेँ ।

मानसिक स्वास्थ्यसँग जुधिरहेकी महिलाः

मैले गर्भधारण गरेको तीन महिनापछि नै एक काउन्सिलरलाई देखाउन सुरु गरेको थिएँ । मेरा प्रेमीलाई मेरो रोगले कसरी प्रभावित गर्छ, उनी मेरो कारणले कति चिन्तित छन् वा मलाई उनको कति आवश्यकता छ भनेर छलफल गर्ने निर्णय गरेँ ।  

मजस्ता आमाले मात्रै गर्भधारण र प्रसवपछि मानसिक स्वास्थ्यसम्बन्धि समस्याको सामना गर्छन् भन्ने होइन । बीबीसी लाइभ फाइभको सन् २०१७ को एक सर्वेक्षण अनुसार एक तिहाई बढी नयाँ आमा मातृत्वको विषयमा मानसिक स्वास्थ्य सम्बन्धि समास्यालाई झेल्ने गर्छन् ।

तर, मैले आफ्नो पार्टनरको मद्दत लिने बित्तिकै सबै कुरा परिवर्तन भयो । मैले मानिसहरुलाई भेट्न र आफ्नो वरिपरि एक सपोर्ट नेटवर्क बनाउन र आफूजस्ता अरु आमासँग भेट्न सुरु गरेँ ।

गर्भावस्थाका अन्तिम दिन त्यति सहज थिएनन् ।

सुत्केरी भएपछिका सुरुवाती केही हप्ता भावनाले ओतप्रोत थिए । म असाध्यै कम सुत्न पाउँथे किनभने मेरी छोरीले सास फेरिरहेकी छिन् वा छैनन्, त्यो सुनिश्चित गर्नुपर्दथ्यो ।

हामी अस्पतालबाट ट्याक्सीमा घर फर्केका थियौं । जब त्यो ट्याक्सी उफ्रन्थ्यो मलाई उसको ज्यान खतरामा भएको महसुस हुन्थ्यो । स–साना कुराहरु ध्यानमा राख्नुपर्दथ्यो जस्तै दुध खुवाउनु, कोठाको तापक्रम ठिक राख्नु आदि इत्यादि । उसको विषयमा हुने चिन्तालाई टाढा राख्ने एउटै तरिका थियो, ऊसँग चौबिसै घण्टा बस्नु ।

Photo: BBC THREE

आफू भित्रको प्रेमको अनुभवः

बिस्तारै बिस्तारै म र मेरी छोरीबीच लगाव बढ्न थाल्यो । जब मैले उनले सास फेरिरहेको छ छैन भनेर अत्यधिक डराउन छोडिदिएँ तब मैले उसलाई चिन्न सुरु गरेँ । विशेषगरी ती लामा रातमा जब हामी दुई जागा हुन्थ्यौं ।

मातृत्व अवकाशको क्रममा महसुस भइरहेको एक्लोपनलाई हटाउनका लागि मैले घरबाट निस्कने तरिका खोजेँ जस्तै प्लेग्रुप र सुपरमार्केटमा जानु,  पार्कमा घुम्न निस्कनु ।

आमा बन्नु अघि तनावले गर्दा म घरभित्र नै सिमित हुन्थेँ तर अब मातृत्वले मलाई बाहिरी दुनियाँ देख्न प्रेरित गर्‍यो ।

बिस्तारै मैले नयाँ साथी बनाएँ । तीमध्ये विशेष थिए रोजी र मरियम जसमार्फत् मैले इन्स्टाग्राममा भेटेकी थिएँ ।

मेरो प्रेमीसँगको सम्बन्ध थप प्रगाढ हुँदै गयो । हामी एक बलियो समूह बन्यौं । तर कहिलेकाँही हामी दुबै असाध्यै थाकेका बेला बहस रोक्न मुश्किल हुन्छ ।

एकपटक पार्कमा एउटा सानो कुरामा हामीबीच झगडा भएको थियो र म चिच्याएर त्यहाँबाट निस्किए । बच्चा प्रेमीलाई नै छोडेर ।

त्यसको केही समयपछि मलाई कसैले पिछा गरिरहेको महसुस भयो । पछाडि हेर्दा मेरा प्रेमी थिए । प्रेमीले भने, ‘तिमीले न्यापी राखेको ब्याग लिएर भागिरहेकी छौ ।’ यो सुनेर हामी दुबै हाँस्यौं । हाम्रो नयाँ संसार कति रमाइलो छ । हामी दुबैले झगडा गर्न बिर्सिएका थियौं ।

छोरी जन्माएको १० महिनापछि मैले यो लेखिरहेकी छु । तर म यो भन्न सक्छु कि मातृत्वले मलाई आफूले आफैंलाई यसरी हेर्न सिकायो जुन मैले कहिले पनि सम्भव होला भन्ने सोचेकी थिइनँ ।

अब धेरै कुराको चिन्ता छ किनभने मेरो एउटा परिवार छ । मानसिक रोग चाँडै नै ठिक नहुने मैले सिकेकी थिएँ । तर यो लचिलो हुन्छ जसले तपाईंको जीवनलाई नै  परिवर्तनु गर्छ भनेर मलाई मातृत्वले सिकायो ।

एउटा समय थियो जब मेरो रोग नै मेरो व्यक्तित्व, मेरो पहिचान बनेको थियो । तर आमा बनेपछि आफू परिवर्तन हुने र यसलाई सहजै स्विकार्ने मैले सिकेँ ।

आफ्नी छोरीलाई प्रेम गर्दागर्दै मैले बिस्तारै आफूलाई एक नयाँ प्रकाशमा देखेँ । म आफूलाई क्षती र चोट पुर्याउने किसिमकी मात्रै थिइनँ, म एक सक्षम व्यक्ति हुँ जोसँग दिनका लागि असाध्यै धेरै माया छ । तर त्यो भन्दा ठूलो कुरा म एक आमा हुँ ।

म्यगी भ्यान इज्क/ बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप