मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ: रिजाल

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : २६
मङ्गलबार, २६ कात्तिक २०७६

कास्की– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भने, ‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।’ 

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए । उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न मतदातालाई आग्रह पनि गरे ।

काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसङ्गति रोक्न र सरकारलाई सही बाटामा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।  घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा.रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप