शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर दादाः जसले राजधानीमै कब्जा गरेका छन् पाँच विघा जमिन

मङ्गलबार, २६ कात्तिक २०७६, १० : १८
मङ्गलबार, २६ कात्तिक २०७६

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरभित्र झण्डै पाँच विघा जमिन अनधिकृत रुपमा कब्जा गरी एक जनाले जोतभोग गर्दै आएका छन् । हाल विराटनगर महानगरपालिका–८ बलुवाहीमा पर्ने झण्डै पाँच विघा जमिन जतुवाका ५० वर्षीय शंकर यादवले ३१ वर्षदेखि कब्जा गरेका हुन् । विभिन्न व्यक्तिका नाममा रहेका जग्गा उनले अनधिकृत रुपमा कब्जा गरेका छन् ।

पीडितले आफ्नो नाममा रहेको जग्गा उपभोग गर्न पाएका छैनन् भने स्थानीय प्रशासन पनि बेखबर झैं बनेको छ । शंकर दादाका नामले चिनिने शंकर यादव स्वयं विभिन्न व्यक्तिको जग्गा आफ्नो अधिनमा रहेको स्वीकार गर्छन् । जग्गा फुकुवाको शर्तमा उनले प्रतिकठ्ठा एक लाख रुपैयाँ माग गरेका छन् ।

जग्गा कब्जाको पृष्ठभूमि यस्तो छ

सो क्षेत्रमा एक जमानामा नामुद दुई डाकु हिरालाल साह र शुभकलाल यादवको बोलबाला थियो । उनीहरुले तत्कालीन जमिनदार रुद्रप्रसाद रिसालको जमिन कब्जामा लिएका थिए । हिरालाल र शुभकलालको दबदबा यतिसम्म थियो कि उनीहरुको करतुतको बारेमा त्यतिबेला कसैले खुलेर बोल्ने आँटसमेत गर्दैनथे ।

रुद्रप्रसादले जग्गा फिर्ताका लागि अनेक प्रयत्न गरे तर सकेनन् । केही उपाय नलागेपछि उनले त्यो जमिन आफ्ना छोरी–ज्वाईको जिम्मा लगाइदिए । ज्वाई हेमलाल सापकोटा त्यतिबेला प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिए भने छोरी गीता सापकोटा प्रशाकीय अधिकृत थिइन् । छोरीज्वाई नै महत्वपूर्ण ओहोदामा रहेकाले जमिन मुक्त गराउन सकिन्छ भन्ने विश्वासले रुद्रप्रसादले उनीहरुलाई जमिन जिम्मा लगाएका थिए तर सफल भएनन् ।

एक स्थानीयका अनुसार हेमलाल र गीताको पहलमा शुभकलाललाई पक्राउसमेत गरिएको थियो । पटक पटक पक्राउ गरी जग्गा फिर्ताका लागि पहल गर्दासमेत उनीहरु सफल हुन सकेनन् । अन्त्यमा केही नलागेपछि गीताले जमिनको कारोबार गर्ने गणेश शर्मासँग यसबारे कुरा गरिन् । जग्गा शुभकलालको कब्जामा रहे पनि जग्गाधनी पूर्जा रुद्रप्रसाद र उनका छोरीज्वाईसँगै थियो ।

मालपोत कार्यालयमा जग्गा बिक्रीका लागि कुनै रोकतोक थिएन । आधिकारिक कागजात आफूसँग भएका कारण गणेश शर्माले ती जमिन टुक्रा टुक्रामा कित्ताकाट गरी घडेरीका रुपमा विभिन्न व्यक्तिलाई बेच्न थाले । सिरहा, सप्तरी, धनुषासम्मका व्यक्तिहरुले ती जमिन किनेका थिए । जग्गा किनिसकेपछि आफ्नो जमिन भोगचलन गर्न जाँदा उनीहरु छाँगाबाट खसेजस्ता भए । किनकि उक्त जग्गामा शुभकलाल यादवले अनधिकृत कब्जा जमाइरहेका थिए ।

जग्गा खरिद गरेर पनि उपभोग गर्न नपाएपछि जग्गाधनीहरु ‘शंकर दादा’ अर्थात् शंकर यादवको शरणमा पुगेका थिए । उनीहरुले आफ्नो समस्या शंकर दादालाई सुनाए । शंकरले २०४५ सालमा डाकुसँग भिडेर त्यो जमिन आफ्नो कब्जामा लिए ।

जग्गाधनीहरुको समस्या फेरि पनि समाधान भएन । यसअघि शुभकलालको कब्जामा रहेको जग्गा अब शंकर दादाको कब्जामा पुग्यो । जग्गाधनीको नियति भने उस्तै रह्यो ।

केही जग्गाधनी फेरि शुभकलालको शरणमा गए । शंकरलाल भन्छन्, ‘जसका लागि मैले डाकुसँग लडेर जमिन फिर्ता लिएँ, उनीहरु नै डाकुसँग मिलेर जमिन फिर्ता लिन खोजेपछि मलाई झन रिस उठ्यो । त्यसपछि मरिगए पनि जमिन फिर्ता दिन्नँ भनि निष्कर्षमा म पुगेँ ।’

शंकरले उक्त जमिनमा कसैलाई पाइला टेक्न पनि दिएनन् । त्यसपछि ती जग्गाधनीले शंकर दादाबाट जमिन फिर्ता लिन हिम्मत नै गरेनन् । छेउछाउबाट नै जग्गा फिर्ताका लागि उनीहरु कानुनी उपाय खोज्थे तर शंकरको अगाडि जाँदैनथे ।

शंकर दादाको कब्जामा रहेको जमिनका मालिकमध्येका एक सिरहा मिर्चैयाका ओमप्रकाश जयसवालले हाल आफ्नो नामको जग्गा अरुलाई नै बेचिसकेका छन् । ‘मैले पाँच कठ्ठा किनेको थिएँ,’ रातोपाटीसँग उनले भने, ‘अहिले बेचिसकेको छु ।’

ओमप्रकाशसँग जमिन खरिद गर्नेमा जनकपुरका मेडिसिन व्यापारी रामजी साह रहेको पत्ता लाग्यो । उनीसँग रातोपाटीले सम्पर्क गर्दा उनले आफ्नो जमिन कसैको कब्जामा नरहेको बताए । ‘जमिन किनेर त्यतिकै छाडिदिएको छु,’ उनले भने, ‘कसले जोतभोग गरिरहेको छ भन्ने थाहा छैन ।’ उक्त जमिनको लालपुर्जा आफूसँग रहेको भन्दै उनले कसैको जमिन कसैले उब्जाएर खाँदैमा त्यसलाई कब्जा भन्न नमिल्ने बताए । ‘त्यो जमिन मेरो हो, कसैको कब्जामा छैन,’ उनले भने ।

सिरहा अर्नमाका इन्जिनियर नारद शर्माले आफ्नो जमिन १० वर्षदेखि अरुको कब्जामा रहेको बताए । उनले भने, ‘मेरा ससुरा भैरव मिश्रले डेढ कठ्ठा जमिन चार लाखमा खरिद गरेर दिनुभएको थियो तर पछि त्यहाँ बुझ्न जाँदा त्यो जमिन अरुकै कब्जामा रहेको थाहा पाएँ ।’ आफू एक्लैले केही गर्न नसकेपछि त्यतिकै छाडिदिएको उनले बताए । उक्त क्षेत्रमा धेरैको जमिन त्यसरी कब्जा भएको उनले बताए ।

ओमप्रकाशका अनुसार शंकर यादवले प्रतिकठ्ठा एक लाख रुपैयाँ माग गरिरहेका छन् । ज–जसले प्रतिकठ्ठा एकलाखको दरले रकम दिन्छन्, उनीहरुको जमिन शंकरले छाडिदिने भनेको तर आफूले त्यो शर्त स्वीकार नगरी अरुलाई नै बेचिदिएको उनले बताए ।

*****

जग्गा कब्जाका बारेमा स्थानीय प्रशासन भने बेखबर छ । मोरङका सहायक सिडियो अनुज भण्डारीले कब्जा गरिएको जमिनको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । यसबारेमा कसैले उजुरीसमेत नगरेको उनको भनाइ छ । ‘महानगरपालिकाभित्रै त्यत्रो जमिन कसैको कब्जामा छ भने प्रशासनमा जानकारी आउनुपर्ने हो,’ उनले भने ।

*****

के भन्छन् शंकर ?

उक्त जमिन डाकुहरुको कब्जाबाट फिर्ता ल्याउन आफूले ठूलो संघर्ष गरेको शंकरको भनाइ छ । ‘त्यो जमिन कोबाट कसरी कुन हालतमा मैले लिएको छु, त्यो सबैलाई थाहा छ,’ उनले भने, ‘आज कसैले यो मेरो जमिन हो भनि लालपूर्जा देखाएकै भरमा फिर्ता दिनेवाला छैन ।’

जमिनवालाहरुले आफूसँग राम्रो तरिकाले कुरा गरी सबै प्रमाण पु¥याएको खण्डमा जमिन फिर्ता दिने उनको भनाइ छ । ‘मलाई अरुको जमिन चाहिँदैन,’ उनले भने, ‘जुन जमिन ३१ वर्षदेखि जोतभोग गर्दै आएको छु, त्यो जमिन त्यति सहज तरिकाले फिर्ता भने हुँदैन ।’

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पत्रकार रामरिझन यादवले पनि त्यो जमिनको विवाद चाँडै समाधान हुनुपर्ने बताए । शंकर यादवका छिमेकीसमेत रहेका पत्रकार यादवले प्रशासनको रोहबरमा त्यो जमिन कब्जामुक्त हुनुपर्ने बताए । उनले भने, शंकर यादवले जमिन कब्जा गर्नु गलत हो तर त्यसको बारेमा शंकर यादवलाई पनि चित्त बुझाउनुपर्छ । शंकर यादवले किन र कसरी कब्जामा लिनुभयो, यत्रो वर्षसम्म जोतभोग गर्नुभयो। त्यो कुराको पनि अध्ययन हुनुपर्छ ।’

स्थानीय प्रशासन बेखबर

जग्गा कब्जाका बारेमा स्थानीय प्रशासन भने बेखबर छ । मोरङका सहायक सिडियो अनुज भण्डारीले कब्जा गरिएको जमिनको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । यसबारेमा कसैले उजुरीसमेत नगरेको उनको भनाइ छ । ‘महानगरपालिकाभित्रै त्यत्रो जमिन कसैको कब्जामा छ भने प्रशासनमा जानकारी आउनुपर्ने हो,’ उनले भने ।

*****

सोही जमिनका कारण समाजवादी पार्टीका नेता उमेश यादव र शंकर यादवबीच द्वन्द्व शुरु भएको छ । सुरुमै उमेश यादवको नजर पनि त्यो जमिनमाथि थियो । तत्कालिन सिडिओ हेमलाल सापकोटाले जमिन बेच्न लाग्दा १० कठ्ठा जमिन खरिद गर्न शंकर यादवले उनलाई बैना दिएका थिए । तर सापकोटाले बैना लिए पनि त्यो जमिन उमेश यादवलाई बेचेका थिए ।

*****

मोरङका एसपी विश्व अधिकारीले पनि जग्गा कब्जाबारे आफूलाई थाहा नभएको बताए । ‘यति धेरै जमिन कसैले कब्जामा लिएका छन् तर स्थानीय प्रशासनलाई थाहा छैन, यो अच्चमको कुरा हो,’ उनले भने । प्रहरी कार्यालयमा कुनै प्रकारको उजुरी नआएको उनले बताए ।

उमेश यादवसँग द्वन्द्व

सोही जमिनका कारण समाजवादी पार्टीका नेता उमेश यादव र शंकर यादवबीच द्वन्द्व शुरु भएको छ । सुरुमै उमेश यादवको नजर पनि त्यो जमिनमाथि थियो । तत्कालिन सिडिओ हेमलाल सापकोटाले जमिन बेच्न लाग्दा १० कठ्ठा जमिन खरिद गर्न शंकर यादवले उनलाई बैना दिएका थिए । तर सापकोटाले बैना लिए पनि त्यो जमिन उमेश यादवलाई बेचेका थिए ।

शंकरलाई काउन्टर दिनका लागि हेमलालले उमेशलाई साथमा लिएको कतिपयको बुझाइ छ । उमेशलाई साथमा लिएपछि शंकरको कब्जामा रहेको जमिन फिर्ता लिन सकिन्छ भनि हेमलालले १० कठ्ठा जमिन उमेशलाई दिएका थिए । शंकरले हेमलालबाट धोका पाएको भन्दै उमेशलाई हेमलालले बेचेको १० कठ्ठा जमिन पनि आफ्नो कब्जामा लिएका थिए ।

त्यसपछि उमेश र शंकरबीच द्वन्द्व शुरु भयो । शंकरका अनुसार उमेशका बुवाले कयौं पटक मान्छेलगाएर आफूलाई कुट्न लगाए । प्रहरी प्रशासन लगाएर थुन्न लगाए तर जमिन छाडिएको छैन । त्यही द्वन्द्वको क्रममा शंकरले आफ्नो घरको छेउमा निर्माण भइरहेको उमेशका भाइ गणेश यादवको नयाँ घर पनि कब्जामा लिए । उमेश र शंकरबीच मुद्दा पनि चल्यो । उमेशले मुद्दा जिते पनि शंकरले कब्जा गरिएको जमिन र घर फिर्ता दिएका छैनन् ।

शंकर यादव पूर्वसभासद् मिना यादवका श्रीमान् हुन् । उनी तत्कालिन एमालेका तर्फबाट पहिलो संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित बनेकी थिइन् । पतिले अर्काको जमिन कब्जामा लिएको कुरा मिनालाई मन परेको छैन । मिनालाई मात्र होइन, उनका छोराहरुलाई समेत यस्तो काम मन परेको छैन । उनीहरुले त्यो जमिन ज–जसको छ, उनीहरुलाई नै फिर्ता दिन पटक पटक शंकरलाई भन्दै आएका छन् । तर शंकरले त्यसलाई प्रतिष्ठाको विषय बनाएर हालसम्म कब्जामा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप