बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यमोहनलाई जन्मशताब्दी सम्मान, एकसाथ ७ एल्बमसहित डीआरले बनाए १४ रेकर्ड

सोमबार, २५ कात्तिक २०७६, १९ : २७
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ गायिका ज्ञानु राणा, हाँस्यसम्रागी बसुन्धरा भुसाललगायतले सामुहिक रुपमा एल्बमहरु सार्वजनिक गरे ।


सार्वजनिक भएका एल्वम ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभूतिको मझेरीमा’ रहेका छन् । कार्यक्रममा गीतकार डिआरका एक उपन्यास ‘सपनाकी रानी’ र ८ उपन्यासहरुको संगालो एउटै पुस्तक समेत सार्वजनिक भयो ।

कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ५१ हजार नगद सहित दोसल्ला र ‘जन्मशताब्दी अभिनन्दन २०७६’ ताम्रपत्रद्धारा ‘सम्मान गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गर्ने भनिएपनि राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थताका कारण कार्यक्रममा उपस्थिति हुन सकेनन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भने ५१ हजार नगद सहितको ‘जन्मशताब्दी अभिनन्दन २०७६’ सम्मान उनकै निवासमा गएर गरिएको आयोजकले जानकारी दियो ।

सोही अवसरमा हास्य साम्रागी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणा समेत सम्मानित भए ।  कार्यक्रममा शताब्दी पुरुष जोशीले डा. डीआरले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने महत्वपूर्ण काम गरेको बताए । उनको डीआरका कार्यको प्रसंशा गर्दै  चर्चायोग्य काम गरेको बताए । 

जोशीले डिआरलाई बधाई दिँदै लेखनमा जोश जाँगर अझै बढेर जाओस् र अन्य धेरै कीर्तिमान कायम होस् भन्ने कामना गरेका थिए । त्यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै डीआरको संगीतिक यात्राको चर्चा गरेका थिए । 

कार्यक्रममा युथ क्रिएशन म्युजिक प्रालिको तर्फबाट डा.डीआर उपाध्यायलाई म्युजिक क्रिएशनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान समेत गरे । ०७५ साल मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका डा.डीआरका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका छन् । 

उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित कृति हुन् ।गीत लेखेर बिभिन्न कीर्तिमान कायम गरेका डा.डीआरले सोही कार्यक्रममा अन्य आठ वल्र्ड रेकर्ड कायम भएका छन् । कार्यक्रममा एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले उनलाई ८ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

उनले कायम गरेको ८ वल्र्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, ५ फरक सङ्गीतकारले सङ्गीत गरेको एउटै गीत, अधिकांश हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौं भन्ने योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धि गीत जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् ।

यसअघि डा. डीआर उपाध्यायले ६ वल्र्ड रकेड राखेका थिए । अहिले उनको जम्मा वल्र्ड रेकर्डको संख्या १४ पुगेको छ ।  विभिन्न सांगीतिक तामझामका साथ आयोजित कार्यक्रममा गायक गायिकाहरु सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेशकाजी, राजसगर, मनोजराज र सारिका घिमिरेले एल्बमका गीत प्रत्यक्ष प्रस्तुत गरेर उपस्थित सबैलाई गीत संगीतमा झुमाउने काम गरे । 

वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डन, मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्ड लगायत विभिन्न देशबाट रेकर्डको प्रमाणपत्र प्राप्त गरेका डीआरले सबै रेकर्डको प्रमाणपत्र कार्यक्रममा प्रदर्शन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप