शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानी अतिक्रमणबारे बहस : अब नेपालको पनि नयाँ नक्सा बनाऔँ

उच्चस्तरीय संवादले नभए अन्तर्राष्ट्रिय अदालत जान विज्ञहरुको सुझाव
सोमबार, २५ कात्तिक २०७६, १८ : २६
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ– सरोकारवालाहरुले नेपालको कालापानी लगायतका सीमा क्षेत्रको सुरक्षामा ध्यान नदिँदा पछिल्लो समय सीमा समस्या थप जटिल बन्दै गएको बताएका छन् । 

तर, उनीहरुले सदियौँदेखिको यो समस्या समाधान गर्ने उपयुक्त अवसर अहिले भएको भन्दै त्यसका लागि सरकारले उच्च राजनीतिक तथा कुटनीतिक तवरमा भारतसँग वार्ता गरेर नेपालको नयाँ नक्सा तयार गर्न सरकारलाई सुझाव दिएका  छन् । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नीति तथा अनुसन्धान प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’  विषयक बहस कार्यक्रमका वक्ताहरुले सीमा समस्या बन्दुकले नभइ उच्चस्तरको संवादमार्फत सम्वोधन गर्नुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा सहभागी सवै राजनीतिक दलका नेता, सीमाविद् तथा कानुनविद्हरुले राष्ट्रको सीमा रक्षा गर्न सिंगो मुलुक र नेपाली जनता एकमत रहेको भन्दै सरकारलाई दह्रोगरी खुट्टा टेक्न आग्रह गरे । 

 उनीहरुले यो समस्या समाधान गर्न पहिलो विकल्प उच्चस्तरीय संवादको बाटो रोज्नुपर्ने भन्दै त्यसो गर्दा नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर भएपनि अघि बढ्नुपर्नेमा सुझाव दिए ।   

हामीले सीमा रक्षा गर्न सकेनौँः झलनाथ खनाल 
कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको सीमा रक्षा गर्ने सवालमा कमिकमजोरी भएको स्वीकार गर्दै नेपाली पक्षले आफ्नो सीमा रक्षा गर्न नसकेकै कारण अर्को पक्षबाट अतिक्रमण भएको बताए ।
उनले विभिन्न तथ्यहरुले महाकाली नदीको शीर लिम्पियाधुरा नै रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै विवादित क्षेत्रमा महाकाली नदी नै सीमा रहेको दावी गरे । 

‘भारतले प्रकाशित गरेको नयाँ नक्साले एकाएक तरंग पैदा गरेको छ । यो अवस्थामा सबै दल सीमा जोगाउन एकमत छन् । यस्तो अवस्थामा सरकारले सीमा सुरक्षाका लागि  विशेष ध्यान दिनुपर्छ’, खनालको भनाइ थियो । 
यो कुरा भारतले मान्नुपर्छः माधव नेपाल 
कार्यक्रममा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतले प्रकाशित गरको नक्सा कुनै हालतमा स्वीकार्य नहुने भन्दै काली नदीको मुहान लिम्पियाधुरा नै नेपालको पश्चिमोत्तर सीमा रहेको बताए ।

 ‘लिम्पियाधुरा नै काली नदीको मुहान हो र त्यो नै नेपालको पश्चिम सिमाना हो । यो कुरा भारतले पनि मान्नुपर्छ,' उनले भने । नेता नेपालले विभिन्न तथ्य र प्रमाणहरुले समेत भारतसँगको पश्चिम सीमाना लिम्पियाधुरा नै भएको पुष्टि गरेको बताए ।

उनले नेपालमा रहेका तथ्य र प्रमाणका साथै सन् १९०३ मा चीनको राजधानी वेइजिङबाट प्रकाशित आर्टिकल, स्कन्द पुराणको मानसखण्ड लगायतका ऐतिहासिक प्रमाणहरुमा समेत नेपालभारतको पश्चिमोत्तर सीमा हालको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा नै सीमाना रहेको दावी गरे । उनले विभिन्न समयमा सीमा सम्बन्धि नेपालका तर्फबाट गरिएका अध्ययन प्रतिवेदनहरु समेतलाई ख्याल गरेर कालापानी सीमा विवाद तत्काल सल्ट्याउन सरकारलाई सुझाव दिए । 

‘सूर्यनाथ उपाध्याय, रमेशनाथ पाण्डेलगायतले संकलन गरेका प्रमाणहरुको पनि अध्ययन गर्नुपर्छ’ नेता नेपालले भने, ‘रमेशनाथ पाण्डेले ब्रिटेनबाट संकलन गरेर ल्याएको नक्सा हेर्नुपर्छ ।’ 
उनले भारतसँग मात्रै नभएर चीनसँग समेत यसबारेमा कुरा गर्नुपर्ने धारण राखे ।

त्यस्तै नेता नेपालले सुरक्षा, परराष्ट्र र नापी विभागका कर्मचारीहरुमा राष्ट्रियताप्रतिको जिम्मेवारी र राष्ट्रप्रतिको निष्ठामा कमी भएकाले नेपालको नक्साको सही सीमाङ्कन हुन नसकेको बताए ।

 उनले एक कर्मचारीले नेपालको सीमाना लिपुलेक भनेर अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्तिपछि ती कर्मचारी नै हराएको बताए । ‘ती कर्मचारी पत्ता लगाउनुपर्छ । भारतका साना कर्मचारीहरु पनि देश र राष्ट्रियताप्रति अडान राख्छन् तर हाम्रा कर्मचारी यस्ता छन्’, नेता नेपालले आपत्ति जनाए । यस्तै उनले तथ्य र प्रमाणका आधारमा नेपालले सीमाबारे भारतीय उच्च नेतृत्वसँग कुरा गरे उसले पनि नेपालको मागलाई अस्वीकार गर्न नसक्ने बताए । 

भारतीय सेना हटाउनुपर्छः बामदेव गौतम 
नेकपाका अर्का नेता तथा सचिवालय सदस्य वामदेव गौतमले नेपालले अहिलेसम्म आफैले नेपालको नक्सा नै तयार गर्न नसकेको भन्दै तत्काल नेपालले आफ्नातर्फबाट नक्सा तयार गर्नुपर्ने बताए ।

 ‘लिम्पियाधुरालाई पश्चिम सीमाना मानेर नेपालले तत्काल नयाँ नक्सा तयार गर्नुपर्छ,’ गौतमको भनाइ छ । उनले कालापानी क्षेत्र नेपालको हो भन्नेमा दुईमत नरहेको भन्दै नेपाल सरकारलाई उक्त क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन तत्काल पहल गर्न पनि सुझाव दिए । 

‘कालापानी र सुस्ताबाट भारतीय सेना फिर्ता पठाउन नेपाल सरकारले भारतीय पक्षसँग नडराई कुरा राख्नुपर्छ’ गौतमले १८१६ को सुगौली सन्धी अघिको सीमाना कायम गर्नुपर्ने पनि बताए । 

नेता गौतमले अहिलेको जमानामा बन्दुकबाट भारतसँग लडेर समस्या समाधान गर्न नसकिने भन्दै सरकारले उच्च तहको वार्ता र सम्वादमार्फत अघि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

सरकार परीक्षाको घडीमाः सीपी गजुरेल 
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले सीमा समस्या सुल्झ्याउने नेकपाको सरकारलाई अवसर भएको भन्दै यो उसका लागि परीक्षणको घडी समेत भएको बताए ।

 ‘नेकपाको सरकार परीक्षाको घडीमा छ । यस्तो अवसर पाएका बेला फौजी तवरबाट होइन, उच्च राजनीतिक त्यो पनि प्रधानमन्त्रीस्तरबाट वार्ता गरेर टुङ्ग्याउनुपर्छ’, गजुरेलले आवश्यक परे अन्तर्राष्ट्रिय मञ्चमा समेत यो मुद्दा लिएर जान डराउनुनहुने सुझाव दिए ।

 ‘राष्ट्र जोगाउन जनआन्दोलन नै गर्नुपरेपनि गर्नुपर्छ । जनताको साथ लिएर सशक्त आन्दोलन गर्नेवेला यही हो’ गजुरेलको भनाइ छ । 

काँग्रेस सहयोग गर्न तयारः रमेश लेखक
काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सीमा समस्या समाधान गर्न सरकारलाई काँग्रेस जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘काली नदीपूर्वको सवै भूभाग नेपालकै हो । भारतले त्यो कुरा पनि बुझेको हुनुपर्छ । अहिले बलियो सरकार छ । सरकारले उच्च राजनीतिक र कुटनीतिक स्तरमा छलफल गरोस् त्यसमा काँग्रेसले गर्ने सहयोग गर्न तयार छ’ लेखको भनाइ छ ।

उनले सरकारले सचिवस्तरीय संयन्त्रबाट सीमा समस्या समाधान गर्ने भनेको कुरा आफूले सुनेको भन्दै कर्मचारीको स्तरबाट मात्रै यो समस्या समाधान हुनै नसक्ने दावी गरे । उनले भने, ‘प्रशासनिक र कर्मचारीको तहबाट मात्रै यो समस्या समाधान हुदैन । ’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, समाजवादी पार्टीका नवराज सुवेदी, राप्रपाका भुवन पाठक लगायतले भारतले अतिक्रमित भूमि सहजै छाड्छ भन्ने विश्वास गर्न नसकिने भन्दै यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिए । 

उनीहरुले नेपाली एक इन्च भूमि पनि छोड्न नसकिने भन्दै कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मी राख्नुपर्ने तथा भारतले जस्तै नेपालले पनि नयाँ नक्सा जारी गर्नुपर्ने बताए । 

उनीहरुले नेकपाले पार्टीमा मात्रै बहस नगरेर सरकारलाई समेत आफ्नो सीमा रक्षाका लागि दवाव दिनसक्नुपर्ने बताए । कार्यक्रममा सीमाविद् रतन भण्डारी, नेकपाका नेताहरु लिलामणी पोखरेल, अधिवक्ता विश्वकान्त मैनाली, पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलालगायतले भारतले नेपाली भूमिलाई समेत आफ्नो भूमि भनेर नयाँ नक्सा सार्वजनिक गर्नु सरासर गलत भएको भन्दै हामीसँग भएका प्रमाणहरुका आधारमा अन्तर्राष्ट्रिय अदालतमा जान ढिलाइ गर्न नहुने सुझाव दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप