शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा रक्षा गर्ने सवालमा कमजोरी भयो : झलनाथ खनाल

सोमबार, २५ कात्तिक २०७६, १६ : ३१
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले देशको सीमा रक्षा गर्ने सवालमा कमी कमजोरी भएको स्वीकार गरेका छन् ।

नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नो सीमा रक्षा गर्न नसकेकै कारण अर्को पक्षबाट अतिक्रमण भएको बताए ।

विभिन्न तथ्यले महाकाली नदीको शिर लिम्पियाधुरा नै रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै खनालले विवादित क्षेत्रमा महाकाली नदी नै सीमा रहेको बताए ।

भारतले प्रकाशित गरेको नयाँ नक्साले एकाएक तरंग पैदा गरेको भन्दै उनले सबै दल सीमा जोगाउनका लागि एकमत रहेको बताए । सीमा सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

यस्तै, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले वर्तमान सरकारसामु देशको सीमा समस्या सुल्झाउनु पर्ने चुनौती रहेको बताएका छन् ।

सीमा समस्या समाधानका लागि पहिलो प्राथमिकता कुटनीतिक प्रयासलाई दिनुपर्ने उनको भनाइ छ । ‘फौजी ढंगले समाधान हुँदैन,’ उनले भने, ‘कुटनीतिक प्रयासलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

भारतसँगको सीमा विवाद प्रधानमन्त्रीस्तरमा छलफल गरेर टुंग्याउनुपर्ने सुझाव उनले दिए । ‘यतिले भएन भने अन्तर्राष्ट्रिय स्तरमा जान सकिन्छ,’ उनले भने । आवश्यक परे करोडौं जनताको साथमा सशक्त आन्दोलन गर्न पनि पछि हट्न नहुने उनले बताए ।

राष्ट्रको सीमा रक्षाका लागि आन्दोलन गर्नेलाई सरकारले समेत गिरफ्तार गर्न थालेकोमा उनले आपत्ति जनाए । उनले नेपाल–भारत सीमा वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्नेमा समेत जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप