बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लब सक्रेटरीविरुद्ध बम विस्फोटको आरोप

सोमबार, २५ कात्तिक २०७६, ०८ : ३६
सोमबार, २५ कात्तिक २०७६

प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी)का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । 

थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो ।

 ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने । 

 बत्तीस वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । 

गत असोज अन्तिम साता मात्रै विप्लब माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरेको हो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ । 

 यसैबीच नमोबुद्ध नपा–८ दाप्चामा भएको श्रेष्ठ दम्पत्तिको हत्याको छानविन गर्न आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली खटाइएको छ ।

हत्याको एक हप्तापछि ब्युरोका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानमा खटाइएको हो । 

गत सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मङ्गलबार बिहान ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको शव क्षत्विक्षत अवस्थामा घरमै भेटिएको थियो । 

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । हाल तीन जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य तारेखमा छुटेका छन्, थप अनुसन्धानमा मद्दत गर्न सिआइबी टोली घटनास्थल पुगेको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप