बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

‘कास्की २ लाई लालकिल्ला ठान्नेको घमण्ड तोड्छु’

आइतबार, २४ कात्तिक २०७६, ०९ : ००
आइतबार, २४ कात्तिक २०७६

आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनका लागि कास्की २ मा उम्मेदवार बन्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट १६ जना आकाङ्क्षी देखिए । काँग्रेसलाई १६ जनाबाट उम्मेद्वार छान्न निकै हम्मेहम्मे प-यो । लामो समयको रस्साकस्सिपछि काँग्रेसबाट  खेमराज पौडेल उम्मेद्वारको रुपमा छानिए । प्रजातान्त्रिक आन्दोलनदेखि जेलजीवन बिताइसकेका पौडेल यतिबेला चुनावी दौडधुपमा व्यस्त छन् । रातोपाटीसँगको कुराकानीमा पौडेलले चुनाव जितेर कम्युनिष्टको घमण्ड तोड्ने दाबी समेत गरेका छन् । उनै पौडेलसंग रातोपाटीले गरेको कुराकानीको अंश –

तपाईंको पार्टीभित्रबाट १६ जना आकांक्षीलाई उछिन्दै उम्मेदवार छनौट हुनुभयो । कस्तो महसुस गर्नु भएको छ ?

पार्टीले मलाई लायकको सम्झेर जिम्मेवारी दिएको छ । खुसी लागेको छ । त्यो जिम्मेवारी पुरा गर्न म तयार भएर बसेको छु ।

चुनाव जित्नको लागि कस्तो रणनीति बनाउनु भएको छ ?

चुनाव जित्न पहिला त जनताको मन जित्नुपर्छ । जनताको मन जित्ने काम गर्नुपर्छ । अहिलेको सरकार जनताको माझमा अलोकप्रिय बन्दै गएको छ । विभिन्न किसिमका ज्यादती भइरहेका छन् । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरु बढिरहेका छन् । हामीले साझा सहमति गरेर लोकतान्त्रिक समाजवाद उन्मुख संविधान हामीले निर्माण गरेका छौं । यो देशको भविष्य उज्जवल बनाउन संविधानमा राखिएका कुरा साकार पार्नु पर्ने अहिलेको राष्ट्रिय दायित्व पनि हो । तर, त्यो दायित्व पुरा गर्न अहिलेको सरकारले सकिरहेको छैन । बरु असंवैधानिक काम गर्दै आइरहेको छ । न्यायालयजस्ता स्वतन्त्र निकायका आयोगमाथि हस्तक्षेप गर्दैछ । दुई तिहाईको बहुमत प्राप्त सरकारले समृद्धिको दिशामा देशलाई लान्छौँ भनेर जनताको सामु गरेको घोषणा अहिले धोकामा रुपमा परिणत भएको छ ।

यो सरकारले प्रदेश प्रमुख जस्तो सम्मानित पदलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको छ । सर्वोच्च अदालतले समेत ‘अघिल्लो सरकारको अधिकार हो, हस्तक्षेप नगर’ भनेर आदेश पनि दिइसकेको थियो । त्यस्तो निकायलाई पनि सामान्य स्वार्थको लागि भंग गरिएको छ । अनेक किसिमका अलोकप्रिय, असंवैधानिक र भोलि गएर प्रजातन्त्रमाथि पनि खतरा हुने खालका काम यो सरकारले गर्दै आइरहेको छ । त्यसरकारण, यो उपनिर्वाचनमा काँग्रेसले जित्ने आधार भनेको, सरकारका अलोकप्रिय कामको भण्डाफोर गर्ने नै हो ।

त्यस्तै, जनताका आवश्यकताका कुरा पनि हामी जोडतोडका साथ उठाउँछौ । महानगरका ११ वडा मध्ये ७ वटा गाउँ मिसिएका छन् । तिनका आफ्नै खालका समस्या छ । कतै पानीको समस्या छ, बाटोको समस्या छ, स्वास्थ्यको समस्या छ । भरतपोखरी, निर्मलपोखरी, कृस्तिजस्ता क्षेत्रमा पर्यटनको ठूलो सम्भावना बोक्ने ठाउँ पनि छन् । पोखरा एउटा विश्व सुन्दरताको खानी पनि हो । पोखराप्रति पर्यटकहरुको आकर्षण पनि उत्तिकै छ । जनप्रतिनिधि भएर गइसकेपछि । तिनै तहका सरकारसँग समन्वय गर्दै राम्रो विकास गरेर लैजाने लक्ष काँग्रेसले लक्ष्य लिएको छ । यो पनि काँग्रेसले चुनाव जित्ने आधार हो । रणनीति पनि त्यही हो ।

तपाईंलाई अर्को प्रसङ्गतिर मोड्न चाहेँ । तपाईंको राजनीतिक जीवन कसरी सुरु भयो ? र कसरी राजनीतिमा आउन भयो ?

राजनीतिमा आउन पहिला त विचारबाट प्रभावित हुने हो । सबै पार्टीका आ–आफ्ना विचार छन् । प्रजातन्त्रलाई जीवनपद्दतिको रुपमा स्वीकार गर्छु म । मेरो पार्टी काँग्रेसले पनि यही स्वीकार गर्छ । पार्टीको यही विचारले गर्दा नै म राजनीतिमा आएँ । म राजनीतिमा आउँदा १७ वर्षको थिएँ । राजनीतिक जीवनको सुरुआतदेखि नै काँग्रेसमा आबद्ध छु । राजनीतिक जीवनको सुरुआतदेखि नै पार्टीले खटाएका विभिन्न निकायमा बसेर काम गर्दै आइरहेको छु । झण्डै ६० वर्षे लामो राजनीतिक जीवन मैले बिताइसकेँ । अहिले ७४ वर्ष भइसकेँ ।

आस्था र निष्ठाको आधारमा हुन्छ राजनीति । आस्था र निष्ठा छोडियो भने, त्यो राजनीति केवल विलासिताको साधन मात्र बन्छ । पार्टीका जनु किसिमका वैचारिक आर्दश छन्, मुल्य मान्यता छन्, पार्टीका सिद्धान्त छन्, त्यसप्रति निष्ठावान बन्नुपर्छ । ती विचार साकार पार्नका लागि जनतासामु लिएर जानुपर्छ । त्यही अनुसार अघि बढ्ने हो । यदी पार्टीको विचारमाथि निष्ठावान बनिएन भने न पार्टीको भलाइ हुन्छ, न जनताको ।

उम्मेद्वारीको कतिऔँ अनुभव हो यो ?

पदको लागि मात्रै राजनीति गर्ने भन्ने होइन । चुनाव लड्ने, पद प्राप्तिका लागि मान्छेहरु मरिहत्ते गर्छन् । पार्टीले जहाँनेर आवश्यकता ठान्छ । त्यो कामको लागि सधै तयार हुनुपर्छ । मङ्सिर १४ मा हुन लागेको उपनिर्वाचनमा पार्टीले मेरो आवश्यकता देख्यो । पार्टीको सिपाहीको हैसियतले, जनताको आवश्यकता पुरा गर्न चुनाव लड्दै छु । यो मेरो पहिलो चुनावी अनुभव हो ।

राजनीति भनेकै कुनै पदमा पुगेर जनताको सेवा गर्ने होइन र ?

होइन । जुन विचारबाट आर्कषित भएर राजनीतिमा हामी लागिन्छ । त्यो विचारलाई निष्ठावान भएर पालना गर्दै, कार्यान्वयनतर्फ जाने हो । पार्टीको विचार पालना गर्दा जेलमा पनि परेँ । ०४७ साल र  ०६२÷६३ साल मा जेलमा पनि परेँ । प्रजातन्त्र प्राप्तिका लागि पार्टीले खटाएको काम गर्दा जेल परेँ । त्यतिबेला म शिक्षक थिए । जागिर जान्छ कि भन्ने भय नलिइ पार्टीको काममा लागे । जति पनि राजनीतिक परिवर्तन भए नेपालमा, हरेक मोडमा म पछि परेको छैन । पार्टीले जिम्मेवारी दिए अनुसारको काम गर्दै आइरहेको छु । पद, प्राप्तिका लागि भन्दा पनि पार्टीले जुन किसिमको निष्ठा बोकेको छ, त्यही निष्ठा आत्मसात गर्नु मेरो कर्तव्य हो । त्यही मैले पुरा गरेँ ।

अक्सर मान्छेहरु केही पाउन कै लागि राजनीतिमा आउने गर्छन्  । तपाईंलाई चाहिँ किन पदको लोभ नभएको ? सबै पुग्दो भएर हो ?

होइन, म त्यस्तो पुग्दो मान्छे पनि होइन । एकदम सामान्य परिवारको मान्छे हुँ । घरपरिवार यताउति धान्नको निम्ति शिक्षक भए । त्यसले केही अवरोध पनि आए । जति गर्नुपथ्र्यो, त्यति गर्न सकिएन होला, त्यो आफ्नो ठाउँमा छ । तर, भोलि केही पद प्राप्ति हुन्छ भनेर कोही राजनीतिमा लागेको छ भने त्यो मान्छेले राजनीतिक निष्ठा पुरा गर्न सकेको छैन भनेर बुझ्नुपर्छ । नेपालमा जनु किसिमको राजनीतिक संस्कार बन्नुपथ्र्यो, त्यो बन्न नसकेको पनि यही लोभका कारण हो । पैसै कमाउन छ भने, व्यापार गरे हुन्छ, ठेक्कपट्टा गरे हुन्छ । अरु उद्योग धन्दा पनि छन् । राजनीतिमा लागेर, राजनीतिलाई पैसा प्राप्त गर्ने साधन बनायो भने त्यो व्यक्तिमा राजनीतिक निष्ठा नै हुँदैन ।

तर त्यस्तै व्यक्ति अगाडि छन् नि राजनीतिमा ।

हामीले जुन किसिमको सोच राखेका थियौँ, राजनीतिलाई जुन किसिमले आगडि लैजानु पथ्र्यो, जुन किसिमको राजनीतिक संस्कार विकास गर्नुपथ्र्यो, त्यो नसकेर पनि होला देश पछि परेको । हामीलाई विकास गर्न धेरै सजिलो छ । भारत र पाकिस्तानलाई हेरौँ । त्यहाँभन्दा हामी कहाँ निकै कम समस्या छन् । राजनीतिमा जुन किसिमको संस्कार बस्नुपथ्र्यो, त्यो नहुनाले पनि यति गाह्रो भएको हो । निष्ठावान भएर लाग्यौं भने नेपाल चाँडै नै विकसित हुन्छ । भारत र चीनको बीचमा बसेका छौँ । उनीहरुले धेरै विकास गरिसके । विश्वकै आर्थिक शक्तिको रुपमा स्थापित भइसकेका छन् । ती देशसँग सन्तुलित परराष्ट्र नीति बनाएर, दुबै देशलाई फाइदा पुग्ने गरि अघि बढ्ने हो भने देश विकास गर्न धेरै सजिलो छ । राजनीतिक निष्ठा नभएरै देश विकास भएको छैन । अरुको पार्टीमा मात्र होइन । हाम्रो पार्टीमा पनि छ । यसलाई अन्त्य गर्नुपर्छ ।

तपाईंले चुनाव जित्नुभयो भने तपाईंले भने जस्तै होला त ?

प्रयास गर्ने हो भने हुन्छ । अहिले पनि चुनाव जितेर यो सरकार हामीले परिवर्तन गर्न त सक्दैनौँ । एक सिट जितेर केही हुने त होइन । देशमा राजनीतिक स्थिरताको लागि पनि बलियो सरकारको आवश्यकता थियो । दुई तिहाइको सरकार आएपछि राजनीतिक समस्या सुल्झियो । तर, जसरी देश विकासको लागि जसरी सरकार अघि बढ्नुपथ्र्यो, त्यो अनुसार लागेन । दुई तिहाइको दम्भ देखाउन मात्र उद्दत रह्यो । सबैलाई तर्साउन पट्टी लाग्यो । मानेन भने महाअभियोग लगाएर दुई तिहाईको दुरुपयोग गर्यो । सरकार भनेको त साझा हो नि ।

उम्मेदवारी मनोनयन दर्ता गराइसकेपछि तपाईंले एउटा वाक्य भन्नुभएको थियो – ट्रम्पले पनि चुनाव जित्छ भनेर कस्ले सोचेको थियो ? तपाईंले यो चुनाव जित्नु हुन्छ त ?

मिडियामा मैले बोलो कुरा अलि बाङ्गिएर पनि आए । मैले भन्न खोजेको के हो भने । चुनाव जित्नै सकिन्न भन्ने होइन । जनताले सधैँ एउटै पार्टीलाई मात्र भोट दिँदैनन् । प्रजातन्त्र भनेको पनि त्यही हो । सरकारले आफ्ना विचार कार्यान्वयन गर्न सके त राम्रै छन् । तर गरेन् । अर्को पटक हेर्नु होला जुन किसिमले बहुमत लिएर अहिले नेकपा आएको छ, अर्को पटक आउँदैन । किन बन्दैन भने जनताले जुन किसिमका आशा गरेका थिए । यो सरकारले पुरा गरेन ।

अमेरिकामा पनि पहिले डेमोक््रयाटको सरकार थियो । पछि, रिपब्लिकनका ट्रम्पले जिते । त्यो बेला सबैले यसले जित्दैन भनेका थिए । तर, उनैलाई जिताए जनताले । हाम्रो मात्रै क्षेत्र हो, लालकिल्लै हो, अरु त कुनै पार्टीले जित्दैन भन्ने नेकपाका साथीहरुमा एक किसिमको भ्रम छ । त्यही अनुसार प्रचारप्रसार गरिरहेका छन् । त्यसकारण मेरो भनाइ के हो भने, चुनावमा जे पनि हुन सक्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा हुने पनि यही हो । अबको चुनावमा पनि यो सरकारले चुनाव जिते, हामीले गरेको काम ठिक रहेछ भनेर झनै दम्भ बढ्छ । झनै अराजकता बढ्छ । यस्तो अवस्था नआओस् भनेर अहिले सर्वत्र चिन्ता बढिरहेको छ । राजनीतिक पार्टीले हामीले जे भने पनि हुन्छ भनेर भ्रम फैलाउन पर्दैन । जनताले यो कुरा बुझि सकेका छन् । राजनीति नै गलत रहेछ भन्ने अवस्थामा पनि पुगिसकेका छन् । नेतृत्वले जनताको विश्वासमा कुठाराघात गरेकाले यो सब भएको हो । यो कुठाराघातलाई जित्ने काम हामीले गरेका छौँ । बल्ल सुरुआत भएको छ । त्यही अनुसार चुनावी रणनीति बनाएर हामी अघि बढ्छौँ ।

तपाईंका प्रतिस्पर्धी पनि निकै अब्बल देखिन्छन् नि ।

मैले त्यस्तो केही मानेको छैन । स्व. रवीन्द्र अधिकारीको मृत्युको सहानुभुति भोट धेरै आउँछ भन्न खोज्नु भएको होला । म उहाँको बारेमा केही भन्न सक्दिनँ । मलाई एकदमै आदर पनि गर्नुहुन्थ्यो । केही गर्ला जस्तो मान्छे पनि हो । गर्न पाएनन् । उनको मूल्याङ्कन हुनै पाएन ।

नेकपाले स्व. रवीन्द्रमाथि त धेरै अन्याय गरेको छ । जुन वाइडबडीको केस आयो । त्यो केस माथि छानबिन समिति बन्यो । त्यसलाई सरकारले रोक्यो । त्यो रोक्नु भनेकै उहाँप्रति अन्याय हो । छानबिन गरेर देखाउनु पथ्र्यो नि ! उनले कमसेकम म निर्दोष छु भनेर प्रमाणित हुन्थ्यो नि बिचरा ! त्यो त गरेन सरकारले । हिन्दीमा एउटा भनाई छ नि ‘दाल मे कुछ काला हे’ । त्यो त केही रहेछ भनेर देखियो नि ।

तपाईंले भन्न खोज्नुभएको वाइडबडी काण्डमा स्व. अधिकारीको संग्लनता थियो ?

थियो या थिएन । त्यो त नेपाली जनताले थाहै पाउन सकेनन् । छानबिन समिति भनेर सरकारले त्यो समितिलाई काम गर्न पनि दिएन । फेरि, सरकारले आयोग बनायो । त्यो पनि नाम मात्र बन्यो कामै गरेन । प्रधानमन्त्रीले एकैचोटी भन्नुभयो कि यो निर्दोष छ । उहिले निरङ्कुश शासनकालमा राणाहरुले यो निर्दोष छ भने जस्तो गरि भन्नु भयो । निर्दोष बनाउन छानबिन हुनुप¥यो नि । तर, यही प्रकरणमा विद्याजीलाई म नराम्रो भन्दिन । शिक्षण पेशामा हुनुहुन्थ्यो । त्यो क्षेत्रमा योग्य हुुनुहुन्छ ।

स्व. अधिकारीको उत्तराधिकारीको रुपमा विद्यालाई प्रस्तुत गरिएकोमा तपाईंको भनाइ के छ ?

राजनीतिमा आउने भनेको राजाको छोरा राजा बनेजस्तै उत्तराधिकारी बन्ने होइन । नेपालको संविधानले फलानो मर्यो भने त्यसको उत्तराधिकारी उसको श्रीमति हुनुपर्छ भनेर कहीँ लेखेको पनि छैन ।

नेपाली राजनीतिमा यस्तै चल्दै आएको छ नि ।

चलाउन मान्छेले चलाउँलान् । कठै विचरा भनेर भोट दिने होइन नि । के के छन् योजना भनेर दिने हो । रवीन्द्रजी ले पनि दुुई–दुई पटक चुनाव जितेर के कायापलट गर्नुभएको छ त ? अनि उहाँले के सपना पुरा गर्ने हो ? वाइड बडीको त्यत्रो काण्ड छ । त्यसलाई पनि छोडौँ अहिले । चुनावको समस्या बेग्लै हो । विद्याजी चुनावमा उठ्नुभएको छ, फलानाको यो हुँ, त्यो हुँ भनेर बोलिरहनुभएछ । उहाँलाई मन लागे होला, बोलिरहनुस् । चुनाव जितिहाल्नु भयो भने, मैले पनि उहाँलाई गएर बधाइ दिनुपर्छ । तर, त्यही कारणले मान्छे बलियो हुन्छ भन्ने छैन । हाम्रो पनि राजनीतिक जीवन छ । रवीन्द्रको सपना मात्रै पुरा गर्ने ? हाम्रो पनि त सपना पुरा गर्नु छ, पुरा गर्नै पाइएको छैन ।

जसलाई उठाए पनि चुनाव हारिन्छ, त्यसैले तपाईंलाई उठाइदिऔँ भनेर तपाईंलाई पार्टीले चुनावमा उठाएको हो भन्ने सुनिन्छ  । खास कुरा के हो ?

होइन । हाम्रो पार्टीले व्यक्तिको विचारलाई पनि अलि बढी ग्रहण गर्छ । अलि छुट पनि हुन्छ । त्यसकारण पनि १६ जनाको नाम केन्द्रमा गयो । १६ जनाको नाम पठाउँदा हामीले प्रतिबद्धता ग¥यौँ, पार्टीले जसलाई छाने पनि हामीले मान्छौँ । समय लाग्यो, विश्लेषण भए । विश्लेषण गर्दा म उपयुक्त देखिए । तपाईंले भन्नुभयो नि हार्छ भनेर दियो । हार्छ भनेर होइन, यसलाई उठायो भने पक्कै चुनाव जितिन्छ भनेर पार्टीले मलाई चुनावमा उठाएको हो  ।

भनेपछि, चुनाव जित्नुहुन्छ ?

जितिन्छ । हामीले यो चुनाव जितेरै छाड्छौँ ।

टिकट नपाउनेहरु तपाईंसँग रुष्ट पनि हुनुहुन्छ होला नि । तपाईंलाई पार्टीभित्रैबाट घात हुने त होइन ?

कोही पनि रुष्ट हुनुभएको छैन । मैले टिकट पाएपछि सबै साथीहरु आउनुभयो । काठमाडौँमा मलाई मात्रै बोलाइएको थियो । जाऔं साथी हो भनेका सबै जना जानु पनि भयो । शोभियतजी, विरेन्द्रमान बिजुक्छे, गुरु बराल, कृष्ण कार्की काठमाडौँ भएका साथीहरु पनि जानु भयो । हामीसँगै पोखरा फर्कियौँ ।

हिजै पनि देख्नुभयो । देवराजजी, शोभियत जी प्रस्तावक र समर्थक बस्नु भयो । देवराजजी कै भाषण पनि सुन्नु भयो । हाम्रो पार्टीमा कथनी र करणीमा फरक हुन्न । जे बोल्नुभएको छ,  त्यो कार्यान्वयन हुन्छ । रुष्ट त कम्युनिष्टहरुमा पो रहेछ । त्यहाँ अन्र्तघातको डर तछ रहेछ । तर, हामीकहाँ छैन । हामी एकदम बलियो भएर चुनाव लड्छौं । निर्वाचन जित्ने आधार थुप्रो छ ।

अघिल्लो चुनावमा ८ हजार बढी मतान्तर थियो, त्यो कसरी कम गर्नुहुन्छ ?

त्यस्तो कहिलेकाहीं हुन्छ । त्यसबाट पाठ पनि सिक्ने हो राजनीतिक पार्टीले । जनताले पाठ सिकाइ दिए । हामीले सिक्यौँ ।

भनेपछि, काँग्रेस सुध्रियो ?

सुध्रियो, नसुध्रेर सुखै छैन । संविधानलाई तोडमोड गरेर एकदलीय तानाशाह लाद्न खोज्नुहुन्छ कि भन्ने नै हाम्रो चिन्ता हो । त्यो चिन्तामा नजानको लागि पनि हो यो चुनाव । साथीहरुमा के देखिएको छ भने बढ्ता जनतो पत्याए पनि मात चढ्छ । तर, जनताले त्यो वाच गरिरहेका हुन्छन् । अहिले नेकपा मात्तियो । दुई तिहाई छ, जे गरे पनि हुन्छ भन्ने लाग्या छ । त्यसकारण त्यसरी मात्तिन पाउँदैन भनेर सचेत गराउने पनि हो यो चुनाव ।

चुनाव जितेपछि पहिलो काम के हुन्छ ?

मुखले धेरै गरियो । अब जनताको सामु गएर त्यहाँको आवश्यकता बुझ्ने, स्थानीय प्रदेश र संघ तिनै तहका सरकारसँग मिलेर विकास निर्माण गर्ने नै हुन्छ । जनताको आवश्यकता पुरा गर्नतर्फ लाग्नुपर्छ । मेरो निष्ठाले पनि त्यही भन्छ । जनताको विश्वास पुरा गर्नपर्छ ।  मैले चुनाव जिते भने । लालकिल्ला भन्ने जुन घमण्ड छ नि, त्यो घमण्डलाई तोडेर ‘होइन साच्चिकै राम्रो काम त यिनले गर्दा रहेछन्’ भनेर देखाउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप