मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

आइतबार, २४ कात्तिक २०७६, ०८ : ५४
आइतबार, २४ कात्तिक २०७६

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो ।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।  नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

यस्तै काङ्ग्रेसले  सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए । 

उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् । 

यता, नेपाली काङ्ग्रेस बैतडीको जिल्ला पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरेको छ । 

पार्टी सभापति नरेन्द्र सिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको काङ्ग्रेस बैतडीका सचिव विष्टले जानकारी दिए । 

सुर्नया–१ मा सभापति थापा र सचिव वीरबहादुर विष्टको नेतृत्वमा प्रचारप्रसार गर्ने निर्णय भएको छ । दोगडाकेदार ४ मा जिल्ला उपसभापति चतुरबहादुर चन्द र सचिव प्रेम चन्द र पुर्चौडी–४ मा जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र सहसचिव कर्ण बोहराको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप