शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पिपरा गाउँपालिका अध्यक्षमा त्रिपक्षीय भिडन्त : यी हुन् प्रतिस्पर्धी

शनिबार, २३ कात्तिक २०७६, २० : ५०
शनिबार, २३ कात्तिक २०७६

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विक्रम चौधरीलाई उम्मेदवारका रुपमा अघि  सार्ने भएको छ । यता नेपाली काँग्रेस महोत्तरीले विजयकुमार यादवलाई चुनावी मैदानमा उतारेको छ भने राजपा–समाजवादी पार्टीले पूर्वअध्यक्ष स्वर्गीय विनोद चौधरीकी पत्नी रविता चौधरीलाई उम्मेदवारको रुपमा तयारी गरेको छ ।

योसँगै नेकपाले चौधरीलाई नै उम्मेदवार बनाउने निष्कर्षमा पुगको बुझिएको छ । गएको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा लडेका उनी झिनो मतले पराजित भएका थिए । चौधरीले भने, ‘नेकपा महोत्तरीको तर्फबाट म पनि उम्मेदवार हु । विगतमा म नै लडेको थिए । तर झिनो मतले मात्रै हारेको हो ।’

उनले यसपाली तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एकीकृत पार्टीमा परिणत भएकाले आफ्नो जित्ने सुनिश्चित रहेको दाबी गरे ।विक्रम चौधरीले भने, ‘नेकपाको सङ्गठन मजबुत छ । विगतमा भएको मधेशी सेन्टिमेन्टको कारणले राजपा जितेको थियो । अहिले परिवेश फरक छ । राजपाले जिते पनि कुनै अध्यक्षका रुपमा विनोद चौधरीले काम नै गरेन् ।’

उनले भने, ‘आफु जितेमा शिक्षामा सुधार, अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने,  विद्यालयमा प्राविधिक शिक्षाको स्थापना गर्ने, विद्यालयमा थप लगानी थप्ने र खस्केको शैक्षिक अवस्था मजबुत बनाउने, पिपरास्थित निर्माणाधिन अस्पताल संचालनमा ल्याउने, बिगही नदिलाई सिचाईको लागि व्यवस्थित काम गर्ने, पिपरा गाउँपालिकाको कार्यालय व्यवस्थित गर्ने र गाउँलाई समृद्धतर्फ अग्रसर गराउने मेरो लक्ष्य रहेको छ ।’

 गएको स्थानीय निर्वाचनमा तत्कालीन एमालेले करिब २ हजार मत र तत्कालीन  माओवादीले करिब १५ सय, तत्कालीन संघीय समाजवादी फोरमले करिब ८ सय तथा राजपा नेपालले २४ सय मत ल्याएका थिए । नेकपा महोत्तरीले भने पार्टीको वैठकबाट नाम टुंगो लगाएर उम्मेदवारको नाम सार्वजनिक छिट्टै नै गर्ने भएका छन् ।

यता उम्मेदवारको नाम छनोट गर्न बसेको काँग्रेस संसदीय बोर्डको बैठकबाट विजयकुमार यादवको नाम बहुमतले सिफारिस गरिएको छ । त्यस्तै पिपरा गाउँपालिका राजपाले सो सीट जित्न मृतक चौधरीकी पत्नी रबिता कुमारी चौधरीलाई नै पहिलो प्राथमिकता दिने छ । पिपरा गाउँपालिका अध्यक्ष पदका लागि आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

सो  गाउँपालिकामा यस अघि राजपा नेपालका बिनोद चौधरी निर्वाचित भएका थिए । २०७६ वैशाख ४ गते उनको निधन भएपछि गाउँपालिका अध्यक्ष पद रिक्त छ । यता कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप