शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण : नेता खनाल

शनिबार, २३ कात्तिक २०७६, १८ : २५
शनिबार, २३ कात्तिक २०७६

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । 

नेकपा काठमाडौँ महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताए । 

हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले नेपाली भूमिको अतिक्रमण कुनै पनि नेपालीले सहन नसक्ने उल्लेख गरे ।

 “लिम्पियाधुराबाट शुरु भएको महाकाली नदी नेपालको पश्चिमी सिमाना हो”, उनले भने, “यसलाई एकपक्षीयरूपमा परिवर्तन गर्ने अधिकार भारत सरकारलाई छैन ।”

भारतको एक इन्च भूमि नेपाललाई नचाहिने र नेपालको एक इन्च भूमि पनि नछाडिने उनले प्रष्ट पारे ।

नयाँ सरकार बनेको एक वर्षको अवधिमा संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्दा जनताको आकाङ्क्षाअनुसार काम हुननसकेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे ।

उनले कमीकमजोरीलाई सच्याएर प्रभावकारी ढङ्गबाट सरकारका कामकारवाही अगाडि बढाउन सुझाव दिए । 

    नेपाल संवत् सिङ्गो देशको संवत् भएको उल्लेख गर्दै नेता खनालले नेपाल संवत् नेपाली जनताको साझा सम्पत्तिका रुपमा रहेको बताए । “नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा मानेको छ”, उनले भने, “यसलाई दैनिक जनजीवनमा प्रयोगमा ल्याउने अभियान चलाउनुपर्छ ।”

कार्यक्रममा महानगर कमिटी इन्चार्ज जीवनराम श्रेष्ठले नेपाल संवत्को व्यवहारिक कार्यान्वयनमा वर्तमान सरकार र नेकपाको पूर्ण साथ तथा सहयोग रहेको बताए । 

नेकपाका सचिवालय सदस्य वामदेव गौतम, कामपाका प्रमुख विद्यासुन्दर शाक्यलगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति  थियो । सो अवसरमा नेपाली कला, संस्कृति झल्कने बाजागाजा, नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप