केन्द्रीय संस्करण

कविता : छिमेकी सम्बन्ध

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0

–तोयनाथ भट्टराई

नाताभित्र, त्यसमा पनि सत्तारुढ दलमा लागेको
उन्मादी छिमेकी परेछ भने
ब्वाँसालेझैँ पन्जा छिराएर
आन्द्रा चुडाल्न खोज्छ !
पारिवरिक नातामा झन्
सार्वजनिक बाटो वा जमिन समेत मिचेर
पर्खाल र फलामे ढोका लाउँछ
आपत परेको बुझ्यो भने 
बाटो छेकिने गरी गाडी राखेर अभर पार्छ ।
यसरी अघोषित नाकाबन्दी गर्छ ।
थिचोमिचो गरिरहन्छ
वैकल्पिक उपाय प्रयोग गरेको देख्यो भने
करेँसा र बार्दलीमा निस्केर दारा किट्छ ।।
सदाचार र सदासयतालाई कमजोरी ठाने
पिर्नुसम्म पिर्छ पुरानो नाताको छिमेकीले !
किनकि उस्लाई पीडित छिमेकीको आन्द्राभुँडी
थाहा हुन्छ !
उसलाई लगाएका सारा गुन पचाउन नसकेपछि
एकमुष्ट शत्रुता गर्छ
उसले तिर्नुपर्ने सय भारी गुन खरानी पार्न
लुकेर अगुल्टो झोस्छ
अनि भित्रभित्रै नाता पोली खान्छ ।।

त्यसैले भनिन्छ
बाघको अनुहार हेर्नुपरे बिरालो हेर्नु
शत्रुको अनुहार हेर्नु परे
आफ्नै दाजुभाइको अनुहार हेर्नु
यो उखान बदलिन युगान्तकारी सोच चाहिन्छ
किनकि छिमेकी साटिने बस्तु होइन
यसलाई त चिनेर चिनाएर व्यवस्थित गर्नुपर्छ ।।
यसमा बाँच्ने मूल उपाय
घर मिलेर गाउँ, गाउँ मिलेर देश व्यहोर्नु पर्छ भन्छन्
सायद देश देश मिलेर परदेश पनि ।
आफ्नो थैलीको मुख बलियो बाँध्नु
अरुलाई चोर नलगाउनु 
हेरौँ न के गर्छन् शक्तिशाली छिमेकीले ।
अशामुखी हुने कि आत्मा निर्भर ? मूल प्रश्न छ
केही नचले यिनको शक्ति नघटुन्जेल
वैकल्पिक ऊर्जाको खोजीमा बाँच्दै
दुरस्थ वा निकटस्थ त्यो सुदिन
धैर्य साथ पर्खनुको विकल्प हुँदैन ।।
आग्रही सँधियारले जस्तो तर्क दिए पनि
उसको गर्जोले उसैलाई नपिरेसम्म सुने पनि नसुनेझै गर्छ
जति नै बुद्धि, रगत र पसिना खर्चे पनि
एक वा अर्को साजिस रचेर तनावमा पारिरहन्छ ।
यो भेगमा जन्मिनेले
आत्मनिर्भरताको लागि निरन्तर अभ्यास गर्दै
वैकल्पिक ऊर्जाको खोजीमा बाँच्दै
सदैव न्यायका लागि दीर्घकालीन सङ्घर्ष गर्दै
सत्यको विजय हुने समय र सुदिन
धैर्यसाथ पर्खनुको विकल्प कुनै होला र ?


    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...