शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बैठक : उपनिर्वाचन र भारतसँगको नक्सा विवादबारे यस्तो रणनीति

शनिबार, २३ कात्तिक २०७६, १३ : १०
शनिबार, २३ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनको रणनीति तय गरेको छ ।

शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले एकता र उत्साह साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।

‘उपनिर्वाचनको चुनावी तयारीको रणनीति अनुसार शीर्ष नेताहरू सम्बन्धित निर्वाचन क्षेत्र पुग्ने निर्णय भएको छ । एकता र उत्साहका साथ अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निष्कर्षमा पुगका छौँ,’ उनले भने ।

शर्माका अनुसार केन्द्रीय नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका ठाउँठाउँमा चुनावीसभा गरिने छ। 

‘नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले दुईवर्षमा गरेका विकृति र बेथितिका विषयलाई जोडदार ढंगले उठाएर उपनिर्वाचनमा जान्छौँ,’ उनले भने, ‘जसमा भ्रष्टाचार, कुशासन, महँगी र अधिनायकवादको आकांक्षा मुख्य विषयमा बन्नेछन् । हामी यी नै विषयमा केन्द्रित हुन्छौँ ।’ 

चुनावी तयारीसँगै पार्टीको आन्तरिक गतिविधिबारे पनि छलफल भएको शर्माले जानकारी दिए ।

‘उपनिर्वाचनसँगै पार्टीको आन्तरिक संरचनाको सन्दर्भमा केन्द्रीय समितिले निर्धारण गरेको समयभित्र नै सक्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

शर्माका अनुसार राधेश्याम अधिकारी नेतृत्वको पार्टीको केन्द्रीय निर्वाचन समितिसँग पार्टी विधानको धारा ७२ को  उपधारा ४ बमोजिम पार्टी संरचना समायोजन गर्न बनेको निर्देशिकाको कार्य प्रगतिबारे जानकारी लिइएको थियो ।

निर्वाचन समितिका अधिवक्ता केशव रिजालसहितको बैठक सहभागिता थियो ।

‘उहाँहरुले गाउँ तहको संरचनाबारे ब्रिफिङ गर्नुभएको थियो । जसमा अधिकांश जिल्लामा सकिएको र केही जिल्लामा अन्तिम चरणमा पुगको जानकारी दिनुभयो,’ उनले भने, ‘त्यसलाई पनि कात्तिक मसान्तसम्म टुंग्याउने गरी काम भइरहेको बताउनु भएको छ ।’ 

सर्वपक्षीय बैठकबारे काँग्रेसको धारणा तय
यता शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तय गरिएको शर्माले जानकारी दिए ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् । 

 शर्माले भने, ‘कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतसँग द्वीपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे सर्वपक्षीय बैठकमा हाम्रो राय राख्ने छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप