केन्द्रीय संस्करण

कविता : प्रियसी शुभकामना

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0

-डा. अच्युतशाली घिमिरे

प्रियसी,
म चाहन्छु तिमी
हरेक प्रहर
सुनको पखेटा लगाएर
हिमालयको चुलीमा पुग,
अनगिन्ती जादुका पुष्पहरू टिप्दै
विश्वका लयहरू पक्र,
सम्भावनाका किनारहरू पछ्याऊ,
समुद्रको गहिराइ भेट्टाउ
तिमीलाई जन्मदिनको शुभकामना ।


तिमीले हेर्दै जानु छ
कति गिज्याउँछ
कति छकाउँछ
दुनियाँले तिमीलाई
तर पनि मिथ्याको
बादलबाट उम्केर
तिमीले भुलभुलैयाको अन्धकारलाई
चिर्नुछ
तिमीले धर्तीका अल्झनहरूलाई फुकाउनुछ ।

तिमी मसँग
रिसाए जस्तै
सधैँभरि दुनियाँसँग 
रिसाइ राख्ने छुट भने हुने छैन
तिमी संग सधै भरि
शृङ्गार पटारका लागि
मात्र ऐना हेर्ने छुट पनि हुने छैन
हरेक त्रास र 
हरेक आत्मजिज्ञासाको
सामना गर्न पनि
तिमीले ऐनामा
आफ्नो अनुहार नियाल्नु पर्नेछ
तिमी अब कुनै पुतली रहिनौँ
तिमी त वीरताको गाथा
बोक्ने महात्मा बन्ने
साहस गर्नु पर्छ ।

प्रियसी
बाह्य कर्महरूले 
इतिहास बन्ने गर्छन्,
तिमी आफैमा एउटा
इतिहास बन्नुपर्छ
आउने जाने पिढीले 
तिम्रो जीवनका भोगाइहरू
पढ्ने बानी बसाल्नु पर्छ,
तिमी आँखाभरि
कृतज्ञता बोकी
हर तरह प्यासी बनी
जीवनको खोजमा निस्किनुपर्छ
म सधैँ
तिम्रो छाया 
बनेर दोसाँधहरूमा चैतन्य
जागृत गर्न
तिमीसँग नहुन पनि सक्छु
पूर्वप्रतीक्षाहरू
हानिकारक छन्,
संसार एक्लो छ
प्रपञ्चलाई प्रशंसा गर्नुपर्छ
चमत्कारहरूलाई तौलिनुपर्छ
र हौसलाले हमेशा रङ्गिनु पर्छ ।

प्रियसी !
प्रेम अलौकिक छ
सपनाहरू तिलस्मी छन्
तिमी जति टाढा 
पुग्छ्यौ
म उति नजिकिन्छु
बाटोमा जतिसुकै काँडा
भए पनि
म सिमलको फूलझैँ
फुलिदिन्छु ।
तिम्रो र मेरो सम्बन्धका 
बारेमा दुनिया
स्वर्ग र नर्क सिर्जना
गरिरहनेछ,
भावहरूमा, विश्वासहरूमा
 खोट देखिरहनेछ ।
यहाँ प्रतिस्पर्धा र लडाइँका
भण्डारहरू छन्
इच्छाका लहराहरू छन्
वर्तमानाका स्पन्दनमा
अतितका कम्पनहरू छन् 
मेरो जीवन
तिमीबिना व्यर्थै छ
तिम्रो जीवन 
मबिना व्यर्थै छ
र पनि हरेक अभिप्रायमा
मुखारित भएर
तिमीले एक्लै पाइला चाल्नु नै पर्छ,
श्रद्धा र कल्पनाका खातिर
संसारका निम्ति तिमी एक्लै बाच्नु नै पर्छ,
मलाई हेर्नु छ
ती नाजवाफ अदालतमार्फत 
स्वयं तिम्रो उपस्थितिमा 
कसरी न्यायका ध्वनिहरू निक्लिने छन् 
मलाई यो पनि हेर्नु छ
तिम्रो स्वयं उपस्थितिमा
कसरी यो नेपाल भूगोलले
समानताको शिखर उक्लिनेछ ।

प्रियसी 
साँच्चै नै यहाँ
देशको छ चिन्ता
न तिमी माया भन्न पाउँछ्यौ
न म पिरती भन्न पाउँछु,
तिम्रो ओठको लाली देख्दा
मलाई लालीगुराँसको याद नआउने होइन
तर फिक्का फिक्का छ
विकट भूगोलका जीवनहरू
जसलाई उकास्न
लालीमा भ्रमित मात्र भएर हँुदैन,
तिम्रा गहिरा आँखा देख्दा
मलाई रारा तालको याद नआउने होइन
तर त्योभन्दा गहिरा दुःखहरू
छल्किरहेछन्
जसलाई पार लगाउन
तिम्रा आँखामा मात्र
डुबुल्की मारेर पुग्दैन
तिम्रा सिल्की लामा कपालहरूले
मलाई रुप्से झरनाको याद
नदिलाउने होइन
तर झरनाभन्दा लामा क्लेशहरूमा
गुजुल्टिरहेछ मेरो देश 
तिम्रो केशमा मात्र अल्झिएर हुँदैन,
प्रियसी
तिमी पुग्नु छ टाढा
जीवित पार्नु छ न्याय
अनि सपार्नु छ देश
जसका निम्ति हरप्रहर
तिमी आफू जन्मिएको आभास गर्नुछ
त्यो हरप्रहर
जन्म उत्सव होस
यही ढाडस सबैमा पुर्याउनुछ
तिमीलाई जन्मदिनको फेरि पनि
मुरी मुरी शुभकामना ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...