शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धूमपान निषेध

शनिबार, २३ कात्तिक २०७६, १० : १५
शनिबार, २३ कात्तिक २०७६

सानो छँदा मलाई चुरोटको धुवाँको गन्ध निकै मन पथ्र्यो चुरोट मात्रै होइन बिँडी अथवा बेलौतीका र सुर्तीका पात सुकाएर बनाएको कक्कडको गन्ध पनि मलाई मन पथ्र्यो । अरूले चुरोट, बिँडी या कक्कड तान्दै धुवाँ उडाएको देख्दा मलाई पनि तानूँ तानूँ लाग्थ्यो  । अरूले उडाएको धुवाँको बासना त त्यति मीठो थियो भने आफैले तान्दा झन् कति मीठो हुँदो हो जस्तो लाग्थ्यो  । कसै कसैले त झन् धुवाँलाई भित्र लगेर बाहिर फुक्दा विभिन्न प्रकारका आकारहरू बनाएर हावामा उडाउँथे  । त्यो देख्दा मलाई पनि त्यसरी नै हावामा धुवाँ उडाउन मन लाग्थ्यो तर घरमा त्यसको अनुमति थिएन  ।

बुवाले चुरोट तान्ने भए सायद लुकिछिपी चोरेर तान्ने मौका मिल्थ्यो होला  । तर त्यो सौभाग्य मलाइ थिएन  । हाम्रो घरमा कसैले पनि चुरोट बिँडी पिउँदैनथे  । पहिले बुवाले बिँडी पिउनु हुन्थ्यो रे  । तर क्षयरोग लागेर मरेर बाँचेपछि उहाँले चुरोट, बिँडी, खैनी, सुर्ती सबै चटक्कै छोडिदिनुभएको थियो  । चुरोटले बुवाको त्यो हालत गराएको देखेकी आमालाई चुरोट बिँडीप्रति घृणा थियो  । त्यसैले त्यो कुरामा आमा अलि बढी नै कडा हुनुहुन्थ्यो  ।

त्यत्रो व्यवधान हुँदाहुँदै पनि तर खै किन हो  । मलाई चुरोट बिँडीप्रति निकै आशक्ति थियो  । अगेनामा ठूलो डेक्चीमा भैँसीलाई दाना पकाउन बसेको बेला आगो बाल्न प्रयोग हुने सुकेको मकैको डाँठलाई बाहिरको बोक्रा फालेरभित्रको सेतो कमलो गुदीलाई सिन्काले प्वाल पारेर मैले ‘चुरोट’ बनाउँथेँ  । देख्दा पनि त्यो सेतो गुदी चुरोट जस्तै सुन्दर देखिन्थ्यो  । कति पटक मैले त्यसैलाई चुरोट मानेर तान्ने प्रयत्न पनि गरेको थिएँ  । तर सफल भएको थिएन  । कहिले भाइले देख्यो भने आमालाई भन्दिन्छ भन्ने डर लाग्थ्यो कहिले आमालाई नजिकै देखेपछि आगोमा ‘चुरोट’ मिल्काएर केही नगरेको जस्तो गरेर बस्नु पथ्र्यो  । तर सधैं भाग्यले किन साथ दिन्थ्यो र ?

एकदिन त्यो मकैको डाँठको चुरोट मुखमा हाल्नै आँटेको थिएँ, आमाले देखिहाल्नुभयो  । त्यसपछि त मेरो दसा लागिहाल्यो  । धुरीखाँबोमा बाँधेर लठ्ठीले निकै चुट्नु भयो  । त्यसपछि घरमा मैले मकैको डाँठको चुरोट बनाउने हिम्मत कहिले गरेन  । तर आमाको जति चुटाइ खाए पनि मेरो मनबाट चुरोट तान्ने भूत चाहिँ भागेको थिएन  ।

हाम्रो स्कुलदेखि लगभग २ सय मिटर जति दक्षिण, एउटा चौरमा गाउँ पञ्चायतको दुई कोठे पक्की भवन थियो  । त्यहाँ दिनहुँजसो नै  मान्छेहरू आइराख्थे  । गाउँ पञ्चायतको बैठक पनि भइराख्थ्यो  । भवनभित्र बैठक गर्न ठाउँ नपुग्ने हुनाले अधिकांश बैठक मौसम राम्रो भएको बेला बाहिरको चौरमा नै गर्ने गरिन्थ्यो  । स्कुलको मध्यान्तरको बेला अथवा शिक्षक नआएर कुनै कक्षा नभएको बेला हामीहरू त्यहाँ बैठक चलेको हेर्न जान्थ्यौँ  ।

गजेन्द्र केसी हाम्रो गाउँ पञ्चायतबाट जिल्ला पञ्चायतको सदस्यमा चुनिएका प्रतिनिधि थिए  । गाउँ पञ्चायतको सदस्य नभए पनि हरेक बैठकमा उनको उपस्थिति हुन्थ्यो  । प्रधानपञ्चले समेत बिँडी पिउँदा उनले सधैँ देउराली चुरोट पिउँथे  । उनले तानेको चुरोटको धुवाँको सुगन्ध कहिलेकाहीँ हाम्रो कक्षा कोठासम्म पनि पुग्थ्यो । गाउँ पञ्चायत भवनमा बैठक हेर्न जाँदा अरू विद्यार्थीहरूको ध्याउन्न के हुन्थ्यो, मलाई थाहा छैन तर मेरो ध्याउन्न चाहिँ गजेन्द्र केसीले तानेको चुरोटको सुगन्ध मनभरी सुँघ्ने नै हुन्थ्यो । उनले चुरोट तानेर हावामा फुक्दा मेरो मन निकै प्रफुल्लित हुन्थ्यो । त्यो धुवाँको बासना मसँग आइपुगेपछि लामो स्वास तान्दै मैले त्यसको बासनाको भरपुर मजा लिन्थेँ ।

घोराहीमा भर्खर मात्र नयाँ सिनेमा घर खुलेको समाचारले पूरै गाउँ नै तरङ्गित थियो । स्कुलमा पनि सिनेमा हेर्ने सौभाग्य पाएका विद्यार्थीहरूको गफ सुन्न निकै रमाइलो हुन्थ्यो । तर मेरो पुर्पुरोमा त्यति सजिलै सिनेमा हेर्ने लेखेको थिएन । त्यसैले अरूले सुनाएको गफमा चित्त बझाउनुबाहेक अर्को विकल्प थिएन । मुख्य समस्या पैसाको थियो । मसँग कहिले पनि पैसा हुँदैनथ्यो । दसैँमा मामाघर जाँदा मामाघर बोइले दिएको २ रुपैयाँ, माइजूले दिएको २ रुपैयाँ अनि मामाले दिएको १ रुपैयाँ र मौलिबाको घर बाट पाएको १ रुपैयाँ जोड्दा ६ रुपैयाँ हुन्थ्यो । तर त्यो सबै पैसा माघे संक्रान्तिमा लाग्ने बाह्रकुने दहको मेलामा बदम र सुन्तला किनेर सकिन्थ्यो । आफ्नो निजी पैसा गराउन फेरि अर्को दसैँ कुर्नुपथ्र्यो । दसैँमा पाइने पैसा बाहेक मेरो लागि पैसा भनेको कहिलेकाहीँ बाटोमा या बारीमा भेटिने कसैले आफ्नो हात खुट्टाको मुसा निको गराउन त्यही मुसा काटेर रगत लगाएर फालेको तामाको पाँच पैसा हुन्थ्यो । त्यो पनि आफूलाई मुसा सर्छ कि भनेर सितिमिति टिप्ने आँट गरिदैनथ्यो ।

पैसाको कुरोमा नानीको भने फुर्ति भने अर्कै हुन्थ्यो । सायद बुवा आमाले भनेको सुनेर होला, मेरी दिदीलाई हामी दाजुभाइ सबैले नानी भन्थ्यौं । ऊ म भन्दा छ वर्षले जेठी थिई । दसैँमा जहाँ टिका लगाउन गए पनि धेरै थोरै उसको पैसा पाकिहाल्थ्यो । त्यो बाहेक तिहारमा हामी तिन दाजु भाइले दिने पैसा । अनि साना तिना जे चाड आए पनि टीको लगायो कि पैसा । हाम्रो अगाडि अमिर थिई ऊ । त्यसैले उसले मन नगरे पनि बजार जाँदा प्रायस् म उसकै पछि लागेर जान्थे ।

सहरमा नयाँ खुलेको त्यो एक मात्र सिनेमा घरमा प्रायजसो पुराना हिन्दी सिनेमाहरू लाग्थे । मैले त्यो बेलासम्म पर्दामा देखिने कुनै पनि चिज देखेको थिएन, न त टीभी, न भिडियो न सिनेमा नै । पर्दामा हेर्दा कस्तो हुँदो होला भन्ने कौतुहल मलाई पनि हुने नै भयो । गाउँका तीनजना केटीहरू मिलेर एक दिन शनिबार सिनेमा हेर्न जाँदै थिए । मेरी दिदी पनि थिई त्यो समूहमा । मैले थाहा पाएपछि म पनि जान्छु भनेर जिद्दी गरेँ । उनीहरूले मलाई नलान निकै प्रयत्न गरेका थिए तर मैले मान्दै मानिन । मैले रोएर उफ्रेर उपद्रो नै गर्न थालेपछि आमाले दिक्क मानेर मलाई नानीहरूसँग सिनेमा हेर्न पठाउनु भयो । मेरो खुसीको सिमाना थिएन । तीन जना मभन्दा ठूला केटीहरू अगाडि अगाडि अनि म चाहिँ लुखुरलुखुर उनीहरूको पछाडि पछाडि लाग्दै सवा घण्टाको बाटो छिचोलेर दिउँसो बाह्र बजेको सिनेमा हेर्न हामी घोराही पुग्यौँ । पहिलो पटक सिनेका हेर्न पाउने सोचले मात्रै पनि मेरो मन निकै उत्तेजित थियो ।

घोराही पुग्दा साढे एघार भएको थियो । सिनेमा घर बाहिर बाहिर एउटा देशीले साइकलमा एउटा ढकमा राखेर अङ्गुर बेच्न राखेको थियो । मैले ती पोटिला अङ्गुर हेर्दै घुटुक्क थुक निलेँ । नानीहरू टिकट किन्न लाइनमा बस्दा म चाहिँ त्यही देशीको अगाडि गएर उभिएँ । उसले मैले एक टकले अङ्गुर हेरेको देखेर ‘किन्ने हो ?’ भनेर सोध्यो ।

मसँग अङ्गुर किन्ने पैसा कहाँबाट हुनु ? मैले नबोलेर टाउको हल्लाएँ ।

नानीहरू टिकट किनेर आए । मलाई त्यहाँ उभिएको देखेर उसले मलाई ‘यता आ मोरो’ भनेर तानेर लिएर जान लागेकि थिई । देशीले एउटा अलि कुहिन लागेको अंगुर टिपेर मलाइ, ‘ल एउटा चाखिलिनुस’ भन्दै मतर्फ अङ्गुर बढायो । एकाएक मेरो मुख रसायो । मेरो हात ऊतिर लम्किसकेको थियो तर नानीले मलाई जोडले तानेर लगिहाली ।

म देशीको हातको त्यो अङ्गुर हेर्दै नानीसँग गएँ ।

‘देशीले लगेर बेच्छ अनि थाहा पाउँछ, मुर्काटनो’ नानीले रिसाउँदै भनी । देशीले लगेर बेच्ने कुरा सुनेपछि म पनि अलि तर्सिएँ ।

हामी सिनेमाहाल भित्र पस्यौँ । भित्र जताततै अँध्यारो थियो । एकछिन खोजेपछि मात्रै सिट भेटियो । उनीहरूले तेस्रो श्रेणीको टिकट लिएका थिए । मलाई श्रेणी भन्ने थाहा पनि थिएन तर सबभन्दा पहिलो लहरमा बस्न पाएकोमा मनै गद्गद् थियो ।

एकछिनपछि सिनेमा सुरु भयो । सबभन्दा पहिले ‘श्रीमान गम्भीर’ भन्ने राष्ट्रिय गीत बज्यो । हामी अनि आफ्नो सिटबाट उठ्यौँ । त्यसपछि ‘धूमपान निषेध’ भन्ने ठूलो अक्षर अनि एउटा अलिकति जलेको चुरोटमा गुणनको चिन्ह बनाएको चित्र पर्दामा देखियो ।

त्यसपछि धुन बज्न थाल्यो अनि त्यही धुनसँगै हिन्दीमा, उर्दूमा र अङ्ग्रेजीमा लेखेका अनेक कुराहरू आए । मैले खासै केही बुझिन । मलाई बुझ्नु पनि थिएन, म त सिनेमा कतिबेला सुरु हुन्छ भन्ने व्यग्र प्रतीक्षामा थिएँ ।

सिनेमा सुरु भयो, मेरो खुशीको सिमा थिएन । मलाई सिनेमाको कथा बुझ्नुभन्दा पनि त्यहाँका चित्र, उनीहरूको नाच, उनीहरूको लडाइँ भिडाइ हेर्नु थियो ताकि अर्को दिन स्कुल गएर साथीहरूलाई गफ लगाउन पाइयोस् ।

सिनेमाको पर्दामा यत्रा बडेमानका मान्छे देखेको, बाहिरका मान्छे त लघु मानव जस्ता देखिन्थे । मान्छेहरूलाई सामान्य आकारमा देख्न मलाई केही बेर लाग्यो । मानिसहरूले त्यही अलिकति छेक बार जस्तो बनाएको ठाउँमा पिसाब फेर्दै थिए । म पनि त्यही भिडमा मिसिएर आफ्नो काम पुरा गरें । पिसाब फेर्नेको त्यो भिडबाट बाहिर निस्कँदा एक जनाले भित्तामा अडेस लागेर चुरोट तान्दै थियो । अग्लो, जुँगा पालेको खाइलाग्दो मान्छे थियो, देख्दै पैसावाल लाग्ने । उसले चुरोट तानेको देखेर मेरो मन प्रफुल्ल भयो । त्यसको सुगन्ध लिन म उसको अगाडि गएर उभिएँ र टाउको माथि फर्काएर उसले धुवाँ फाल्ने प्रतीक्षा गर्दै उसले चुरोट तानेको एक टकले हेरेँ ।

मैले उसलाई त्यसरी हेरेको देखेर उसले पनि अचम्म मानेर म तर्फ हेर्दै सोध्यो, ‘ए फुच्चे, के हेरेको ? चुरोट तान्ने हो ?’

म हाँसे मात्रै । ‘अँ’ भाने आँट आएन । म जस्तो सानो बच्चालाई उसले चुरोट तान्न देला भन्ने मैले सोच्न सकेन, उसले जिस्काएको होला भनेर उसलाई हेरेर हाँसे मात्र ।

‘तान्ने हो ? भस्मे मजा आउँछ’ उसले मलाई चुरोट दिँदै भन्यो ।

याक चुरोट थियो, फिल्टर भएको । देउराली भन्दा धेरै राम्रो, सिलिक्क परेको अनि बासना पनि अलि अर्कै थियो, मीठो । मैले पनि याक चुरोट तान्ने त्यो सुनौलो मौका छोड्ने कुरै थिएन ।

त्यहाँ त्यो दिन मलाई चुरोट तान्न रोक्ने न भाइ थियो न आमा नै । नानीले देख्छे कि भनेर मैले यताउता हेरेँ अनि केही खतरा नदेखेपछि खुरुक्क उसको हातबाट चुरोट लिएर हावामा सुन्दर आकार बनाएर धुवाँ बाहिर फुक्छु भन्ने सोच बनाउँदै लामो सर्को तानेँ । अनि पूरैभित्र धुवाँ लगेँ । तर मेरो सोचाइ विपरीत मलाई अचानक तीन लोक चौध भुवन एकै पटक देखे जस्तो भयो । नाक पिरो भयो अनि निधार पनि झनन गर्यो । चिटचिट पसिना छुट्यो । निसासिँदै मैले खोक्न थालेँ । अनि टाउको फटफटाउँदै उसलाई चुरोट फिर्ता दिएँ । मेरो त्यो दशा देखेर ऊ अट्टहास जस्तो गरेर हाँस्यो ।

मलाई निकै कष्ट भएको थियो । त्यहीँ भुइँमा म थचक्क बसेँ । तर त्यो जुँगामुठेले मलाई केही सहयोग गरेन, खालि मेरो त्यो कष्ट देखेर हाँसेर आफूले मजा मात्र लियो । अलि कम भएपछि म खुरुक्कभित्र गएर नानीको छेउमा आफ्नो सिटमा बसें ।

टाउको दुखेको जस्तो रिँगटा लागेको जस्तो अनि वाकवाकी आउला जस्तो भएको थियो तर नानीलाई त्यो कुरा भन्ने आँट थिएन । उसले मलाई सहानुभूति देखाउनुको साटो उसको पिटाइखाइन्छ भन्ने थाहा थियो । त्यति मात्रै हैन आमालाई भन्दिई भने त झन् धुरीखाँबोमा बाँधिनुपर्ने निश्चित थियो त्यसैले चुपचाप बसें । वाकवाकी र टाउको दुखाले मलाई छोडेको थिएन । त्यसैले बाँकी सिनेमामा मलाई दिलचस्पी भएन । तर बिस्तारै मेरो टाउको दुखाइ र वाकवाकी कम हुँदै गयो । सिनेमा सकिँदासम्म लगभग सबै ठीक भइसकेको थियो । तर पनि चुरोटले दिएको त्यो कष्ट मैले बिर्सेको थिएन ।

यस्तै हुँदो रहेछ र त आमाले चुरोट बिँडी नखानु भन्नु भएको रहेछ भन्ने मलाई बल्ल थाहा भयो । बासना जति मीठो भए पनि ठीक कुरो रहेनछ । अब ज्यान जाला त्यसमा हात लगाउने छैन भनेर मैले मन मनै प्रण गरेँ ।

सिनेमा सकियो । घर पुग्ना बित्तिकै आमाले सोध्नु भयो, हेर्यौ त फिलिम ?

नानीले ‘अँ’ भनेर उत्तर दिई ।

के फिलिम लाग्य रै’छ त ? आमाले सोध्नु भयो ।

नानी अक्मकिए जस्तो गरेर टाउको कन्याउँदै सोच्न थाली । उसले बिर्सी या उसलाई के सिनेमा हेरेको भन्ने थाहा नै थिएन मैले अड्कल काट्ने कष्ट गरेन किनभने मलाई सिनेमाको नाम थाहा थियो ।

सबभन्दा पहिले पर्दामा त्यत्रो ठूलो अक्षरले लेखेको नाम पनि नानीले बिर्सिसकिछ भनेर मलाई आफूलाई ऊ भन्दा बुद्धिमान भएकोमा गर्व गरेँ, अनि फूर्तिसाथ भने ‘धूमपान निषेध ।’

मेरो उत्तर सुनेर आमाले हाँसो थाम्न सक्नु भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजु अधिकारी
डा. राजु अधिकारी
लेखकबाट थप