बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा नेपाल साहित्य उत्सव सुरु, सुधिर शर्मादेखि गगन थापासम्म मोडरेटर

शुक्रबार, २२ कात्तिक २०७६, २० : ३४
शुक्रबार, २२ कात्तिक २०७६

जनकपुर । तीन दिवसीय नेपाल साहित्य उत्सव जनकपुरधाममा सुरु भएको छ । नेपाल साहित्य उत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले जानकी मन्दिरको प्राङ्गणस्थित रामजानकी विवाहमण्डपमा वृक्षारोपण गरेर साहित्य उत्सवको उद्घाटन गरेका हुन् । 

बुक वर्ड फाउण्डेशनको आयोजनामा हुने उत्सवको उद्घाटनपछि स्थानीय कलाकारहरुले सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्तिक २२, २३ र २४ गतेसम्म चल्ने ३ दिवसीय  नेपाल साहित्य उत्सवमा विभिन्न समसामयिक विषयमाथि चर्चा परिचर्चा गर्ने छन् । 

सन् २०११ मा शुरु गरिएको नेपाल साहित्य उत्सव काठमाडौँ र पोखरामा सम्पन्न भसकेको छ भने यसपटक जनकपुरमा साहित्य उत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ ।

साहित्य उत्सवको विभिन्न सत्रका लागि जनकपुरको विभिन्न ४ वटा ऐतिहासिक स्थलको प्रयोग गरिने छ ।
कुल १३ वटा सत्र रहने उक्त उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर, जानकी मन्दिर परिसरसँगै रहेको विवाहमण्डप, रेल्वे स्टेशन,  गंगासागर पोखरीको प्रयोग गरिने छ ।  

उत्सवको दोस्रो दिन शनिबारदेखि विभिन्न समसामयिक विषयमाथि चर्चापरिर्चा हुने आयोजकले जनाएको छ । चुरेको चिन्ता शिर्षकमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसँग पत्रकार चन्द्र किशोर झाले संवाद गर्नेछन् । 

त्यस्तै जानकी मन्दिरको प्रांगणमा नेपाली काँग्रेसका नेता प्रदीप गिरीले सीताबारे प्रवचन दिनेछन् । जनकपुरधामको रेल्वे स्टेशनस्थित अर्थतन्त्र र राजनीतिमाथि चर्चा गर्नुका साथै प्रदेश वा परदेश विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले मोडरेटर गर्ने सत्रमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसँग छलफल गरिने छ ।
 
त्यस्तै मधेशको हिमाल विषयमा डा. रामदयाल राकेश र कनकमणि दिक्षितबीच परिचर्चा हुनेछ । स्वाभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी बिच परिचर्चा गरिने छ । यस सत्रको मोडरेटर नेपाली काँग्रेसका नेता गगन थापाले गर्नेछन् ।  

विकासको खाकामाथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुख बिच सम्वाद हुनेछ यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन ।

यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा, कविता वाचन लगायतका सत्रहरु समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप