बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाबुरामले आफूलाई मुर्ख भन्दै उपेन्द्र यादवको गरे प्रशंसा

शुक्रबार, २२ कात्तिक २०७६, १८ : ३८
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उन्नत समाजवादी लोकतन्त्र आफूहरुको प्रमुख एजेण्डा भएको बताएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको विमोचन समारोहमा उनले सुसम्पन्न मुलुक निर्माणका लागि उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्ने बताए ।

उनले भने, ‘काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले लोकतान्त्रिक समाजवादी भनरेर कागका प्वाख उखेलेर मयुरका प्वाख राख्दा पुँजीवादको जन्म भयो । हामी उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्छ । हामी नयाँ विचारको प्रतिपादन गर्छौ ।’अहिले राजनीति आफ्नो स्वार्थ समूहको व्यवस्थापन र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित भएको उनको भनाइ छ । 

‘राजनीतिक व्यक्तिमा विचारको प्रतिपादन, अध्यायन, अनुसन्धान र चिन्तन गर्ने बानी हराउँदै गएको छ । अहिले राजनीति भनेको आफ्नो स्वार्थ समूहको व्यवस्थापन गरेर सत्ता प्राप्ति गर्ने र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित हुँदै भएको छ । यो अत्यन्तै डर लाग्दो प्रवृतिका रुपमा स्थापित हुँदै आएको छ । तर उपेन्द्रजीले त्यसलाई चिर्ने प्रायस गर्नु भएको छ ।’

राजनीतिलाई समाज रुपान्तरण र मानव सभ्यताका निम्ती सचेत ढंगले सोच्ने कर्मका रुपमा लिनुपर्नेमा भट्टराईको जोड थियो । उनले भने, ‘यही सोचका साथ मधेश आन्दोलनको कुसल नेतृत्व गर्नु भएका उपेन्द्रजी, जनजातिको नेतृत्व गर्नु भएका अशोक राईजीसँगै म मुर्ख खसआर्यबाट समाजवादी विकासका निम्ती एक ठाउँमा आइपुगेको छु ।’ उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनले समावेशी र समानुपातिक राज्य निर्माणमा मुख्य भूमिका खेलेको उनको भनाइ थियो ।

यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले कोही नहुनेको राज्य नै अभिभावक हुने खालको आफूहरुले समाजवादी लोकतन्त्रको कल्पना गरेको बताए । 

उनले भने, ‘काठमाडौँ दिनभरी कागज–बोतल उठाउने बालबालिका साँझ सडकमै सुतेको भेटिन्छन् । कोही नहुनेको त राज्य हुनुपर्छ नि ? समाजवादी लोकतन्त्रमा कोही नहुनेको राज्य अभिभाव हुन्छ । जसलाई सामाजिक न्याय भनिन्छ ।’

उनले दुई तिहाइ नागरिकलाई राज्यले बहिस्करण गरेकाले मुलुक दरिद्र भएको टिप्पणी गरे । यस्तै समजवादीका वरिष्ठ नेता अशोक राइले काँग्रेस र कम्युनिस्टले सोच्न नचाहेको विषयबाट आफूहरु केही दिन खोजिरहेको बताए । 

समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शासकले तल्लो तहमा अधिकार दिने कुरामा आफ्नो बाऊको  सम्पत्ति दिनु परे जस्तो गरेको आरोप लगाए ।

उनले भने, ‘प्रदेशलाई राज्य भन्न मिल्दैन भन्ने गरिएको छ । नेपालका शासकले तल्लो तहलाई अधिकार दिने कुरामा आफ्नो बाऊको सम्पत्ति दिनपरे जस्तो गर्छन् ।’
कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्माले उपेन्द्र यादवलगायतलाई नेकपामा फर्किन सुझाव दिए । शर्माले यादव माओवादीले थालेको जनयुद्धका बेला पार्टीमा बौद्धिक नेताका रुपमा सक्रिय रहेको स्मरण गरे ।

उनले भने, ‘वैचारिक रुपमा हामी एउटै धरातलमा छौं । समाजवादी लोकतन्त्रको विकास गर्ने धरातलमा हामी उभिएका छौं । हाम्रो सबैको समाजवाद निर्माण गर्ने भन्ने अभियान हो।’ विचार मिल्न गएमा सबै कुनै दिन एक ठाउँमा हुन सक्ने शर्माको भनाइ छ ।

‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’माथि राजनीतिक विश्लेकष डा. सुरेन्द्र केसी, राजनीतिक विज्ञ कृष्ण हाछेथु, डा. मुक्ति रिजाल र डा. हरिवंश झालगायतले टिप्पणी राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप